ट्रम्पको गाली र इरानको धम्कीपछि इजरायलले स्थगित गर्‍यो बेरुत आक्रमणको योजना

स्रोतका अनुसार टेलिफोन कुराकानीका क्रममा ट्रम्पले नेतान्याहुलाई पागल र गुन नदेख्ने मानिसको आरोप लगाएका थिए

जेष्ठ १९, २०८३

कान्तिपुर संवाददाता

Israel postpones Beirut attack plans after Trump's insults and Iran threats

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा जारी लडाइँबाट पछि हट्न इजरायल र हिजबुल्लाह सहमत भएको दाबी गरेका छन् । ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन वार्ता र लेबनानी  सशस्त्र समुह हिजबुल्लाहसँग मध्यस्थकर्ताहरूमार्फत अप्रत्यक्ष कुराकानी गरेका थिए । 

यसअघि लेबनान र गाजापट्टीमा इजरायलले आक्रमण जारी राखेमा अमेरिकासँगको वार्ता प्रक्रिया भंग हुनसक्ने चेतावनी इरानले दिएको थियो । लेबनानी संसद्का सभामुख नाबिह बेरीसँगको कुराकानीमा इरानी सभामुख मोहम्मद बगेर गालिबाफले लेबनानमाथि आक्रमण नरोके इजरायलमाथि इरानले प्रत्याक्रमण गर्ने बताएका थिए ।

‘हामीले पछिल्ला दुई दिन इजरायलको आक्रमणलाई बन्द गर्नका लागि गम्भिर प्रयास गरिरहेका छौं । यस्तो अपराध कायमै रहेमा हामी वार्ता प्रक्रिया स्थगनमात्रै होइन । यहूदी सत्ताविरुद्ध आक्रमण समेत गर्नेछौं,’ गालिबाफले भनेका थिए,‘यदी इरान र अमेरिकाबीच युद्ध समाप्त गर्ने सहमति बन्यो भने त्यो लेबनानसहित सबै मोर्चामा लागु हुनेछ ।' 

इरानले लेबनानमाथिको इजरायली आक्रमणको विरोधस्वरुप मंगलबारका लागि अमेरिकासँग तय भएको उच्चस्तरीय भेट बहिस्कार गरेको इरानी सरकारी मिडियाहरुले जनाएका थिए । ‘इरानी मध्यस्थकर्ता टोलीले संवादलाई स्थगित गर्नेछ र मध्यस्थतामार्फत पत्रहरु आदनप्रदान पनि रोकिनेछ,’ इरानको अर्धसरकारी तास्निम न्युज एजेन्सीले जनाएको थियो ।

तर, यी सबै घटनाक्रमलाई बेवास्ता गर्दै इजरायल सरकारले बेरुतको दक्षिणी क्षेत्रमा आक्रमणको तयारी गरेको थियो । सोमबार ट्रम्पले टेलिफोन गरेर नेतान्याहुलाई आक्रमण रोक्न दबाब दिएका हुन् । फोनवार्ताका दौरान ट्रम्पले नेतान्याहूलाई अपशब्द र गालीगलौज गरेको अमेरिकी सञ्चारमाध्यमहरुले बताएका छन् । दुई अमेरिकी अधिकारी र उक्त फोन वार्ताबारे जानकारी पाएका तेस्रो स्रोतले यस विषय पुष्टि गरेको अमेरिकी सञ्चारमाध्यम ‘एक्सियोस’ मा उल्लेख छ । 

‘लेबनानमा लगातार आक्रमण गरेर नेतान्याहुले इरानसँग भइरहेको आफ्नो वार्तालाई नै असफल बनाउन खोजेको आरोप ट्रम्पले लगाएका थिए । यस टेलिफोन कुराकानीपछि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमा इरानसँगको वार्तामा द्रूत प्रगति भइरहेको उल्लेख गरेका छन्,’ एक्सियोसमा उल्लेख छ, ‘स्रोतका अनुसार टेलिफोन कुराकानीका क्रममा ट्रम्पले नेतान्याहुलाई पागल र गुन नदेख्ने मानिसको आरोप लगाएका थिए ।'

'बेरुतमा आक्रमण गर्ने इजरायलको योजनामा पनि उनले ब्रेक लगाइदिए । नेतन्याहुको भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइका क्रममा आफूले पुर्‍याएको समर्थन स्मरण गराउँदै ट्रम्पले नेतन्याहुलाई जेल जानबाट जोगाउन सहयोग गरेको  दाबी समेत गरेको दुई स्रोतले एक्सियोसँग बताएका छन् ।’ 

एक अर्का अमेरिकी अधिकारीका अनुसार इजरायलले लेबनानमा ठूलो संख्यामा सर्वसाधारण मारेको विषयलाई लिएर पनि ट्रम्प चिन्तित थिए । हिजबुल्लाहको एउटा कमाण्डरलाई सिध्याउने नाममा  इजरायलीहरूले सिङ्गो भवनहरू नै ढाल्ने गरेको कुरामा उहाँले आपत्ति जनाए । ट्रम्प र नेतन्याहुबीच विगतमा पनि धेरै पटक तनावपूर्ण फोन कुराकानीहरू भएका छन ।  तर, पनि उनीहरूले इरान र अन्य मुद्दाहरूमा सँगै मिलेर काम गरिरहेका छन् । एक अमेरिकी अधिकारीका अनुसार ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिएयता नेतान्याहूसँग यति तिक्ततापूर्ण फोन वार्ता भएको थिएन । 

इजरायली सेनाले पछिल्ला दिनहरुमा लेबनानभित्र छिर्दै ठूलो संख्यामा भूभाग कब्जा गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एपीका अनुसार पछिल्लो २५ वर्षभित्र इजरायलले लेबनानका यति धेरै भूभाग कब्जा गरेको यो पहिलोपटक हो । आइतबार रणनीतिक रुपले महत्वपूर्ण मानिएको ब्युफोर्ट क्यासल कब्जा गरेपछि इजरायली सेनाले लेबनानको राजधानी बेरुतलाई लक्षित गरेर आक्रमणको योजना बनाएको थियो । तर, टेलिफोन वार्तालगत्तै ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत अब कोही पनि इजरायली सैनिक बेरुत नजाने घोषणा गरेका छन् । उनले बेरुत जाने बाटोमा रहेका सैनिकहरु पनि फिर्ता हुन थालिसकेको बताए ।

‘नेतान्याहूसँग मेरो निकै राम्रो र परिणाममुखी फोन सम्पर्क भएको छ । कोही पनि सैनिक बेरुत जाने छैनन् र  बाटोमा रहेकाहरु पनि फर्कन थालिसकेका छन्,’ ट्रम्पले लेखे । 

नेतान्याहुले ट्रम्पसँग यस विषयमा संवाद भएको पुष्टि गरेका छन् । तर, हिजबुल्लाहले आक्रमण नरोकेमा इजरायलले बेरुतमाथि अझै कडा आक्रमण गर्ने चेतावनी ट्रम्पसँगको टेलिफोन वार्तामा  दिएको उनले बताए । इजरायली सेनाले दक्षिणी लेबनानमा योजना अनुसार नै आफ्नो कारबाही जारी राख्ने पनि नेतान्याहुले बताए । हिजबुल्लाहले भने यस विषयमा तत्कालै कुनै प्रतिक्रिया दिएको छैन । 

इजरायल र हिजबुल्लाहबीच तनाव कम गर्ने लक्ष्यले १६ अप्रिलदेखि युद्धविराम भएको थियो । तर दुबै पक्षले युद्धविराम पालना गरेका छैनन् ।  ट्रम्पले इजरायल–हिजबुल्लाह दुबै युद्ध रोक्नका लागि तयार रहेको दाबी गरेपनि दक्षिण लेबनानमा त्रास कायमै छ । सोमबार मध्यराति दक्षिण लेबनानमा इजरायलको हवाई आक्रमणमा ६ जना मारिएका थिए ।

सोमबार दिउँसो बन्दरगाह शहर टायरमा भएको हवाई आक्रमणका क्रममा जबेल अमिल अस्पताल क्षतिग्रस्त बन्यो । लेबनानको स्वास्थ्य मन्त्रालयले यस घटनाको भिडियो पनि सार्वजनिक गरेको छ, जहाँ अस्पतालभित्र रहेका महिला र बालबालिका काँपिरहेको देखिन्छ । त्यस्तै, अस्पतालका झ्यालहरुमा आगो लागिरहेको छ । 

मंगलबार दक्षिण बेरुतबाट ठूलो संख्यामा मानिसहरु एकैपटक बाहिरिदाँ सडक लामो समय जाम भयो । २३ वर्षका मोहम्मद फार्हतले आफ्ना दाजु र आमा–बुबासँगै हरेत ह्रिकबाट उत्तरतरर्फको छिमेकी गाउँमा बसाईँ  सरेको बताए । 

इजरायली सेनाले लेबनानतर्फबाट आफ्नो क्षेत्रमा दुईवटा प्रोजेक्टाइल प्रहार भएको जनाएको छ । तर, यस आक्रमणबाट कोही पनि घाइते नभएको दाबी गरेको छ । 

हिजबुल्लाहले सोमबार बिहानै इजरायली सेनामाथि लिटानी नदीदेखि उत्तरतर्फ रहेको  जतर अल साक्र्येहमा आक्रमण गरिएको जनाएको छ । त्यस्तै, टिबरिअसस्थित इजरायली सैनिकका पूर्वाधारमा पनि क्षति पुर्या‍इएको जनाएको छ । 

इजरायलले लेबनानमा घुसेर गरेको आक्रमणमा ३३ सयभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । दक्षिण लेबनानबाट १२ लाखभन्दा धेरै मानिसहरु बिस्थापित भइसकेका छन् । विश्वभर यस अतिक्रमण तथा आक्रमणको  विरोध भएको छ । इजरायलको बढ्दो आक्रमणले लेबनानमा मानवीय आपत्काल बढ्नसक्ने चेतावनी सोमबार विश्व खाद्य कार्यक्रमले दिएको थियो । संयुक्त राष्ट्रसंघले अवस्था निकै खतरापूर्ण रहेको जनाएको छ । 

‘दक्षिण लेबनान र आसपासका क्षेत्रमा बढिरहेको सैन्य गतिविधिले हामीलाई चिन्नित बनाएको छ,’ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसका प्रवक्ता स्टेफाने डुजार्रिकले सोमबार भने,‘ हामी सबै पक्षलाई  थप लडाँइ हुन नदिनका लागि  शत्रुता त्याग्न आग्रह गर्दछौं ।’

सोमबार फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोले दक्षिणी लेबनानमा भइरहेको ठूलो तनावलाई कुनै पनि कुराले न्यायोचित ठहर गर्न नसक्ने बताएका थिए । उनले तत्कालै युद्ध अन्त्य गर्न माग गरे । त्यस्तै, बेलायत र जर्मनीका विदेशमन्त्रीले पनि लेबनानमा भइरहेको इजरायली आक्रमणको निन्दा गरेका थिए । 

साउदी अरेबियाको विदेश मन्त्रालयले इजरायललाई लेबनानका भित्री भूभागमा अघि बढ्नबाट रोक्न अन्तर्राष्ट्रिय समुदायसमक्ष आह्वान गरेको छ ।

कान्तिपुर

Link copied successfully