युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा कम्तीमा १८ जनाको मृत्यु

निप्रोमा एउटा अपार्टमेन्ट ब्लकको भग्नावशेषबाट आठ वर्षीय बालक र एक महिलासहित १२ जनाको शव निकालिएको छ ।

जेष्ठ १९, २०८३

एजेन्सी

At least 18 killed in Russian missile and drone attacks in Ukraine

काठमाडौँ — युक्रेनमा रातभर भएको रुसी मिसाइल र ड्रोन हमलामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका पनि छन् । 

पछिल्ला केही महिनायता रुसले युक्रेनमा गरेका ठूला आक्रमणमध्ये यो एक हो । क्षेत्रीय अधिकारीहरूका अनुसार, निप्रोमा एउटा अपार्टमेन्ट ब्लकको भग्नावशेषबाट आठ वर्षीय बालक र एक महिलासहित १२ जनाको शव निकालिएको छ ।

राजधानी किभमा ६ जनाको ज्यान गएको छ । युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले देशभरि नै सार्वजनिक पूर्वाधार, निजी सम्पत्ति र ऊर्जा केन्द्रहरूलाई लक्षित गरी आक्रमण गरिएको र यसक्रममा १०० भन्दा बढी मानिस घाइते भएको बताएका छन् ।

मंगलबार बिहानै युक्रेनको अधिकांश भागमा हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो । मस्कोले गत हप्ता नै युक्रेनमाथि आक्रमण गर्ने चेतावनी दिएको थियो ।

दुई साताअघि लुहान्स्क क्षेत्रको एक छात्रावासमा २१ जनाको ज्यान जानेगरी युक्रेनले गरेको ड्रोन आक्रमणको प्रतिक्रियास्वरूप यो आक्रमण गरिएको रुसले जनाएको छ । रुसले जारी गरेको विज्ञप्तिमा 'आक्रमणका सबै उद्देश्यहरू' पूरा भएको दाबी गरिएको छ ।

युक्रेनले मे २१–२२ को राति लुहान्स्कको स्टारोबिल्स्कनजिकै आक्रमण गरिएको स्विकारे पनि उक्त आक्रमणका दौरान छात्राबास नभएर रुसी सैन्य पूर्वाधारमा मात्रै प्रहार गरिएको दाबी गर्दै आएको छ । 

मे महिनामा अल्पकालीन युद्धविरामको अवधि सकिएपछि रुस र युक्रेन दुबैले एकअर्कामाथि निरन्तर आक्रमण गरिरहेका छन् । 

एजेन्सी

Link copied successfully