रुसी आक्रमणमा युक्रेनमा कम्तीमा १० को मृत्यु

मे महिनामा अल्पकालीन युद्धविरामको अवधि सकिएपछि रुसले किभमाथि मिसाइल र ड्रोन आक्रमणको शृंखला नै चलाएको छ

जेष्ठ १९, २०८३

एजेन्सी

At least 10 killed in Russian attack in Ukraine

किभ — रुसले युक्रेनभर गरेका आक्रमणहरूमा कम्तीमा १० जनाको मृत्यु भएको छ । ६ जनाको डिनिप्रो र ४ जनाको राजधानी किभमा ज्यान गएको हो । 

पछिल्ला महिनाहरूमा मस्कोले गरेको सबैभन्दा ठूला आक्रमणहरूमध्ये यो एक हो । रातभर आवासीय भवनहरूमा भएका हवाई आक्रमणपछि ठूलो संख्यामा बालबालिकासहित दर्जनौँ मानिस घाइते भएका छन् । किभमा भग्नावशेषमुनि मानिसहरू फसिरहेको आशंकामा आपतकालीन टोलीहरूले तीव्र रूपमा खोजी कार्य अघि बढाएका छन् ।

मंगलबार बिहानै युक्रेनको अधिकांश भागमा हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो । मस्कोले गत हप्ता नै युक्रेनमाथि आक्रमण गर्ने चेतावनी दिएको थियो । यो चेतावनी गत महिना रुसी कब्जामा रहेको लुहान्स्क क्षेत्रको एक छात्रावासमा भएको ड्रोन आक्रमणको प्रतिक्रियास्वरूप आएको हो । उक्त आक्रमणमा २१ जनाको मृत्यु भएको थियो ।

किभ शहरका मेयर विटाली क्लिट्स्कोले मानिसहरूलाई सुरक्षित आश्रयस्थलमा बस्न आग्रह गरेका छन् । यस शहरको केन्द्रमा रहेका भवनहरुबाट धुवाँको मुस्लो उडिरहेको देख्न सकिन्छ ।  किभको सैन्य प्रशासनका प्रमुख तैमुर त्काचेन्कोले भने, ‘शत्रुले ब्यालिस्टिक मिसाइल प्रहार गरिरहेको छ ।’ मेयर क्लिट्स्कोले क्षतिग्रस्त भवनहरूको भग्नावशेषमुनि मानिसहरू फसिरहेको हुनसक्ने चिन्ता व्यक्त गरेका छन् ।

बिहानैदेखि किभमा रुसी आक्रमणहरू सुरु भएपछि, दर्जनभन्दा बढी ठूला विस्फोटका आवाजहरूसँगै ड्रोनहरूको आवाज पनि सुनिएको थियो ।

मेयर क्लिट्स्कोका अनुसार आक्रमणका कारण एउटा ग्यास स्टेशन, एउटा निर्माण स्थल, र कैयौँ आवासीय भवनहरूसहित दुईवटा घरहरूमा आगलागी भएको छ । सहरभरि बिजुली बत्ती जाने (ब्ल्याकआउट) समस्या पनि रिपोर्ट गरिएको छ । 

यसैबीच, जापोरिज्जियामा रहेको एउटा औद्योगिक कारखानालाई पनि रुसले निशाना बनाएको छ । यसअघि युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले सोमबार सम्भावित रुसले ठूलो आक्रमण गर्नसक्ने चेतावनी दिएका थिए । उनले नागरिकहरूलाई सतर्कता अपनाउन आग्रह गरेका थिए । 

‘रुसी आक्रमणका बारेमा गुप्तचर निकायले दिएका चेतावनीहरू अझै कायम छन्। उनीहरूले ठूलो आक्रमणको तयारी गरेका छन् र त्यो सम्भव छ । तसर्थ सबैलाई सतर्क रहन आग्रह गर्दछु,’ जेलेन्स्कीले आफ्नो रात्रिकालीन भिडियो सम्बोधनमा भनेका थिए ।

गत हप्ता रुसले किभमा रहेका सैन्य केन्द्रहरूलाई लक्षित गरिने बताएको थियो । र विदेशी नागरिकहरूलाई सहर छोड्न आग्रह गरेको थियो । रुसले यसलाई युक्रेनले स्टारोबिल्स्कस्थित एक छात्रावासमा जानाजानी गरेको आक्रमणको जवाफ भएको दाबी गरेको छ ।

त्यस समयमा जारी गरिएको एक विज्ञप्तिमा युक्रेनी सशस्त्र बलको जनरल स्टाफले मे २१–२२ को राति स्टारोबिल्स्कनजिकै आक्रमण गरिएको स्विकार गरेको छ । तर आफूहरूले छात्राबास नभएर रुसी सैन्य इकाइमाथि मात्र प्रहार गरेको अडान उक्त विज्ञप्तिमा उल्लेख छ । 

किभले रुसको यस्तो धम्कीलाई ‘निर्लज्ज्तापूर्ण ब्ल्याकमेल’ को संज्ञा दिँदै आफ्ना सहयोगी राष्ट्रहरूलाई मस्कोमाथि दबाब बढाउन आग्रह गरेको छ ।

मे महिनामा अल्पकालीन युद्धविरामको अवधि सकिएपछि रुसले किभमाथि मिसाइल र ड्रोन आक्रमणको शृंखला नै चलाएको छ । जसमध्ये एउटा आवासीय भवनमा भएको प्रहारमा तीन बालबालिकासहित २४ जनाको ज्यान गएको थियो ।

अर्कोतर्फ, मस्को क्षेत्रमा युक्रेनले गरेको ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको छ । जसलाई राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रमणको जवाफमा गरिएको ‘न्यायसंगत’ कदम भएको दाबी गरेका छन् ।   

एजेन्सी

Link copied successfully