वार्ता प्रयासबीच आक्रमण–प्रत्याक्रमणमा अमेरिका-इरान

२८ फेब्रुअरीमा युद्ध सुरु भएदेखि विश्वको २० प्रतिशतभन्दा धेरै कच्चा तेल र प्राकृतिक ग्याँस निस्कने क्षेत्र हर्मुज जलमार्गमा अवरोध छ । जसकारण, विश्वमा इन्धन संकट र मूल्यवृद्धि निम्तिएको छ ।

जेष्ठ १८, २०८३

एजेन्सी

US-Iran in attack-counterattack amid talks efforts

काठमाडौँ — वार्ता प्रयास चलिरहेकै बेला इरान–अमेरिका आक्रमण–प्रत्याक्रमणमा उत्रिएका छन् । अमेरिकी सेनाले इरानी सैन्य ठेगानाहरूमा आक्रमण गरिएको सोमबार जनाएको छ ।

त्यस्तै, इरानको इस्लामिक रेभोलुसनरी गार्ड कोर्प्स (आइआरजीसी) ले यसको जवाफमा अमेरिकी बेसलाई निशाना बनाइएको बताएको छ । 

अमेरिकाले गोरुक शहर र हर्मुज जलमार्गस्थित क्वेशम टापुमा निशाना बनाइएको बताएको हो । इरानले आक्रमण गरिएको स्थानको नाम खुलाएको छैन । तर, कुवेतले आफ्नो देशमा मिसाइल र ड्रोन आक्रमण भएको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरान सम्झौताका लागि उत्सुक रहेको बताएका छन् ।  ‘इरान वास्तममै सम्झौता गर्न चाहन्छ, र यो अमेरिका तथा हाम्रा सहयोगीहरुका लागि राम्रो हुनेछ,’ उनले सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेखेका छन् । 

इरानका विदेशमन्त्री अब्बास अराग्चीले पनि युद्ध अन्त्यका लागि अमेरिकासँग छलफल चलिरहेको बताएका छन् । ८ अप्रिलमा दुई पक्षबीच युद्धविराम भएयता ट्रम्पले बारम्बार युद्धको स्थायी हल निकाल्नेगरी वार्ता हुन लागेको दाबी गर्दै आएका छन् ।

तर, अहिलेसम्म दुबै पक्षबीच कुनै औपचारिक सहमति हुन सकेको छैन । शुक्रबार युद्धविराम लम्ब्याउने र इरानका विषयमा अन्तिम निर्णय लिने लक्ष्यसहित ट्रम्पले आफ्ना सहयोगीहरुसँग लामो छलफल गरेका थिए ।

तर, यसले पनि कुनै स्पष्ट निष्कर्ष निकाल्न सकेन । सीबीएस न्युजका अनुसार दुई पक्षबीच पछिल्लोपटक ६० दिनसम्म युद्धविराम गर्ने, हर्मुजको जलमार्ग खोल्ने र इरानको आणविक कार्यक्रमबारे सहमति बनाउनका लागि नयाँ फ्रेमवर्क तयार गर्ने वार्ता भइरहेको छ ।

२८ फेब्रुअरीमा युद्ध सुरु भएदेखि विश्वको २० प्रतिशतभन्दा धेरै कच्चा तेल र प्राकृतिक ग्याँस निस्कने क्षेत्र हर्मुज जलमार्गमा अवरोध छ । जसकारण, विश्वमा इन्धन संकट र मूल्यवृद्धि निम्तिएको छ । 

एजेन्सी

Link copied successfully