'युद्ध सुरु भएयता कम्तीमा २० वटा अमेरिकी सैन्य पूर्वाधार इरानको आक्रमणले क्षतिग्रस्त'

फेब्रुअरीको अन्त्यदेखि इरानले पश्चिम एसियाका आठ देशहरूमा रहेका अमेरिकी पूर्वाधारहरुमा आक्रमण गरिरहेको छ

जेष्ठ १८, २०८३

कान्तिपुर संवाददाता

'At least 20 US military facilities damaged by Iranian attacks since war began'

काठमाडौँ — इरानले युद्ध सुरु भएयता कम्तीमा २० वटा अमेरिकी सैन्य अखडाहरूमा क्षति पुर्‍याएको बीबीसीले जनाएको छ । बीबीसीले स्याटेलाइट तस्बिर र भिडियोहरु विश्लेषण गरेर यस्तो निष्कर्ष निकालेको हो । क्षतिग्रस्त पूर्वाधारको संख्या २८ वटासम्म हुनसक्ने विज्ञहरुले जनाएका छन् । 

फेब्रुअरीको अन्त्यदेखि इरानले पश्चिम एसियाका आठ देशहरूमा रहेका अमेरिकी पूर्वाधारहरुमा आक्रमण गरिरहेको छ । अत्याधुनिक हवाई प्रतिरक्षा प्रणाली, इन्धन भर्ने विमान र राडारहरूमा इरानको आक्रमणले करोडौंको क्षति पुर्या‍एको बीबीसीले जनाएको छ । यस्तो क्षतिलाई परिपूर्ति कठिन हुने बेलायतको आइरिस डिफेन्स फोर्सेसका पूर्व प्रमुख भाइस–एडमिरल मार्क मेलेटले बताए । 

अमेरिकाले भने यस अवधिमा १३ हजारभन्दा धेरैपटक इरानमा हवाई आक्रमण गरेको छ । इरानका सर्वोच्च नेता मोज्ताबा खोमेनेइले इरानको आक्रमण सफल भएको बताएका छन् । उनले अब पश्चिम एशिया क्षेत्र अमेरिकी आधारहरूका लागि ’सुरक्षित स्थान’ नरहेको दाबी गरेका छन् ।

अमेरिकी सरकारले इरानको सैन्य क्षमता लगभग समाप्त भएको दाबी गरिरहेको भएपनि विश्लेषकहरू त्यसलाई मान्न तयार छैनन् । उनीहरुले इरानको प्रत्याक्रमण निकै सटिक र व्यापक देखिएको बताए । अमेरिकाले इरान र पश्चिम एसिया र इरानका नयाँ तस्बिरहरूमा ‘अनिश्चितकालीन’ प्रतिबन्ध लगाउन स्याटेलाइट प्रदायक प्लानेट’ लाई अनुरोध गरेर द्वन्द्वको स्याटेलाइट विश्लेषणलाई सीमित गर्ने प्रयास गरेको पनि बीबीसीले जनाएको छ । बीबीसीसँग प्लानेट कम्पनीले यो कदमको बचाउ गर्दै भनेको छ,‘तस्बिरहरू सहयोगी वा नेटो साझेदारहरूलाई लक्षित गर्नका लागि प्रयोग नहोस् भनेर हामीले यस्तो गरेका हौं ।’

बीबीसी भेरिफाईले अन्य अन्तर्राष्ट्रिय प्रदायकहरूको स्याटेलाइट तस्बिरहरू प्रयोग गरी इरानका हमलाहरूबाट भएको क्षति ट्रयाक गरिएको जनाएको छ । 

साउदी अरेबिया, युएई, कतार, कुवे‍त, इराक, जोर्डन, बहराइन र ओमानमा रहेका अमेरिकी सैन्य पूर्वाधारमा इरानले आक्रमण गरेको हो । विज्ञहरुले इरानले गरेको आक्रमणले ठूलो क्षति पुगेको बताएका छन् । 

कान्तिपुर

Link copied successfully