टीएमसी महासचिव तथा लोकसभा सांसद अभिषेक बनर्जीमाथि कुटपिट, अस्पतालमा उपचार नगर्न दबाब दिइएको ममताको आरोप

आक्रमण भएको क्षेत्रमा रहेका सीसीटीभी फुटेज र भिडियोका आधारमा रातभर गरिएको छापामा आक्रमणमा संलग्नहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

जेष्ठ १७, २०८३

कान्तिपुर संवाददाता

Mamata alleges that TMC general secretary and Lok Sabha MP Abhishek Banerjee was beaten up, pressured not to seek treatment at the hospital

What you should know

काठमाडौँ — पश्चिम बंगालमा तृणमूल कांग्रेस (टीएमसी)का महासचिव तथा लोकसभाका सांसद अभिषेक बनर्जीमाथि भएको आक्रमणमा प्रहरीले आइतबार पाँच जनालाई पक्राउ गरेको छ । आक्रमण भएको क्षेत्रमा रहेका सीसीटीभी फुटेज र भिडियोका आधारमा रातभर गरिएको छापामा आक्रमणमा संलग्नहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । 

यता ममता बनर्जीले आफ्ना भतीजा अभिषेकमाथि भएको आक्रमणलाई षड्यन्त्र भएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘यदि अभिषेकले हेलमेट नलगाएको भए घटनास्थलमै उसको ज्यान जानसक्थ्यो ।’ आक्रमणमा अभिषेकको शरीर रक्ताम्य बनेको उनको भनाइ छ । 

आक्रमणपछि अभिषेकलाई अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचार नगर्नका लागिसमेत दबाब बढाइएको ममताको आरोप छ । 

पश्चिम बंगालको दक्षिण सोनारपुरमा अभिषेक बनर्जीमाथि शनिबार कुटपिट भएको थियो । चुनावपछि भएको हिंसामा पीडित बनेका टीएमसीका कार्यकर्तासँग भेटका लागि उनी त्यहाँ पुगेका थिए । 

भारतीय जनता पार्टीका कार्यकर्ताले उनलाई घेरेर नाराबाजी गर्दै कुटपिट गरेको टीएमसीको आरोप छ । उनीमाथि ढुंगा, जुत्ता र अन्डा प्रहार गर्नुका साथै उनले लगाएको शर्टसमेत च्यातिएको थियो । हेलमेट लगाएर उनलाई उक्त स्थानबाट बाहिर निकालिएको थियो । 

अस्पतालमा भतीजा अभिषेकसँग भेटपछि ममताले पत्रकार सम्मलेन गरेकी छन् । भाजपाका नेता र दक्षिण कोलकाताका डीसीपीका तर्फबाठ चिकित्सक र अस्पताल प्रशासनलाई उपचार नगर्नका लागि धम्की दिइएको ममताले पत्रकार सम्मेलनमा आरोप लगाएकी छन् । 

यस्तै उनले अभिषेकको अवस्था गम्भीर नभएको भए इन्टेसिभ थेरापी युनिट (आईटीयू)मा किन राखियो? भन्दै प्रश्न उठाएकी छन् । फेरि अस्पतालले अचानक घर जान सल्लाह किन दियो भन्दै अस्पताल प्रशासन भाजपाको दबाबमा आएको आरोप लगाएकी छन् । अब अभिषेकको उपचार घरमै हुने पनि उनले जानकारी दिएकी छन् । 

दक्षिण २४ परगना जिल्लास्थित सोनारपुर निकै संवेदनशील क्षेत्र मानिन्छ । यहाँ टीएमसी र भाजपाबीच चुनावका क्रममा राजनीतिक हिंसा भइरहन्छ । विधानसभा चुनाव २०२६ पछि मे मा भएको हिंसामा सोनारपुरमा एक टीएमसी कार्यकर्ताको मृत्यु भएको थियो । यता सोनारपुरको कामराबाद नस्करपाडा क्षेत्रमा टीएसीका कार्यकर्ताद्वारा भाजपा कार्यकर्ता सोमेन दासकोको घरमा आगो लगाइएको थियो । 

सोनारपुर दक्षिणबाट भाजपाकी रुपा गांगुली विधायक रहेकी छन् । उनले २०२६ को विधानसभा चुनावमा टीएमसीकी उम्मेदवार अरुन्धती मैत्रालाई हराएकी थिइन् ।

कान्तिपुर

Link copied successfully