मे १० मा मोदीले प्राकृतिक खेती अपनाउने र रासायनिक मलको प्रयोग ५०% ले घटाउने एउटा ‘राष्ट्रिय मिसन’ को घोषणा गरेका थिए ।
डाकार, सेनेगल — जब सेनेगलका किसान अबु सोले पहिलो पटक सामाजिक सञ्जालमा अमेरिकाले इरानमा मिसाइल प्रहार गरेको दृश्य देखे । उनलाई यसले चाँडै नै पश्चिम अफ्रिकी राष्ट्रको कृषि क्षेत्रलाई असर गर्नेछ भन्ने लाग्यो । फेब्रुअरी २८ मा युद्ध सुरु भएयता सेनेगलमा मलको मूल्य ४० प्रतिशतले बढेको छ ।
सो विगत आठ वर्षदेखि नै रासायनिक मल छोडेर जैविक कम्पोस्ट तथा अन्य प्राकृतिक मलको प्रवद्र्धनमा सक्रिय छन् । उनले सेनेगलका किसानहरूलाई स्थानीय गोठालाहरूबाट मल किन्न प्रेरित गर्छन् र कसरी राम्रो कम्पोस्ट बनाउने भनेर सल्लाह दिन्छन् ।
'हामी युद्धविरामको पर्खाइमा बस्न सक्दैनौँ,' सोले भने,‘रासायनिक मलमा भर पर्नु जोखिमपूर्ण छ ।’ इरानले हर्मुज जलमार्गमा गरेको अवरोधले रासायनिक मल बनाउन आवश्यक पर्ने प्राकृतिक ग्यासको विश्वव्यापी आपूर्ति प्रभावित छ ।
इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्स्टिच्युटका अनुसार खाडी क्षेत्रले विश्वमा खपत हुने ३०% रासायनिक मल उत्पादन गर्छ । त्यस्तै, विश्व बैंकको मल मूल्य सूचकांकका अनुसार युद्ध सुरु भएयता विश्वव्यापी रूपमा मूल्य झन्डै ५०% ले बढेको छ ।
'समय धेरै छोटो छ,' संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले खाद्य सुरक्षाको चिन्ता बढ्दै गएको बताए । विशेषज्ञहरूका अनुसार रासायनिक मलको साटो जैविक मल प्रयोग गर्दा वातावरणमा व्यापक फाइदा हुन सक्छ । किनकि, रासायनिक मलको उत्पादन र प्रयोगले हरितगृह ग्यास उत्सर्जन गर्छ, जुन जलवायु परिवर्तनको मुख्य कारक हो । यसविपरीत, प्राकृतिक मलले माटोमा कार्बन सञ्चय गर्न सक्छ । यसले निम्त्याउने प्रदूषण कम छ ।
'धर्तीका लागि यो राम्रो छ । किनकि, यसले खाद्य उत्पादनलाई जीवाश्म इन्धनबाट मुक्त गर्छ,' इन्टरनेशनल प्यानल अफ इक्स्पर्ट अन सस्टेनेबल फुड सिस्टम्सकी सदस्य सुसान चोम्बाले भनिन् ।
सेनेगलले वार्षिक १ लाख २५ हजार टन मल आयात गर्छ । कृषि मन्त्री माउबा डियाग्नेले राज्यले हालको सिजनका लागि पर्याप्त रासायनिक मल जोहो गरेको बताएका छन्, तर किसानहरूले यसलाई पाउन झन् गाह्रो भइरहेको गुनासो गरेका छन् ।
यसबाहेक, केही किसानहरु भेडाको मल प्रयोग गर्छन् । किसान अलिउ फलले मलको मूल्य आकासिनुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष दिए । ‘उनले विश्वमा युद्ध निम्त्याउँछन् र यस पार्ने प्रभाव बारेमा सोच्दा पनि सोच्दैनन् । अहिले किसानहरू पीडित छन्,’ फलले भने ।
वार्षिक रूपमा, सोले ६ टन कम्पोस्ट प्रयोग गर्छन् । उनले बस्ने शहरनजिक भेडा पालिने भएकाले जैविक मल प्रशस्त पाइन्छ । ग्रामीण र दुर्गम क्षेत्रहरूमा भने ठूलो मात्रामा मलको स्रोत जुटाउन र ढुवानी गर्न चुनौतीपूर्ण छ । यो कठिन समयमा केही मानिसहरूले खेती लगाउन छाड्नेसक्ने सो बताउँछन् ।
यसको एउटा विकल्प 'वायोफर्टिलाइजर'उद्योग हो, जसमा ब्याक्टेरिया र अन्य सूक्ष्मजीवहरूले बिरुवाहरूलाई हावा र माटोबाट नाइट्रोजन (बिरुवाको वृद्धिका लागि आवश्यक पोषक तत्व) सोस्न मद्दत गर्छन् । अफ्रिकामा नगरपालिकाबाट निस्कने फोहोरबाट ठूलो मात्रामा कम्पोस्ट बनाउने कम्छपनीहरुको संख्या बढ्दो छ ।
सेनेगल सरकारले अप्रिल महिनामा किसानहरूलाई मद्दत गर्न ३०,००० टन जैविक मल उत्पादनमा अनुदान दिने र वितरण गर्ने घोषणा गरेको थियो । तर सोका अनुसार यो पर्याप्त छैन ।
आर्थिक सहयोग तथा विकास संगठन (ओइसीडी) का अनुसार विश्वभरका सरकारहरूले कृषि अनुदानमा वार्षिक ७०० अर्ब डलर खर्च गर्छन्, जसको ठूलो हिस्सा रासायनिक मल उपलब्ध गराउन खर्च हुन्छ । चोम्बाका अनुसार यसले गर्दा जैविक मलजस्ता विकल्पहरू महँगो र कम प्रतिस्पर्धी बन्न पुगेका छन्।
‘तपाईंहरू गलत प्रकारका उत्पादनहरूलाई प्रोत्साहन गरिरहनुभएको छ, उनले भनिन् । सोयाबिन, कफी, उखु, र मासुको प्रमुख निर्यातक ब्राजिलले आफ्नो देशमा प्रयोग हुने मलको ८० प्रतिशतभन्दा धेरै हिस्सा आयात गर्दै आएको छ ।
अहिले मलको मूल्यवृद्धि र अभावसँगै ब्राजिलमा बायोफर्टिलाइजर (जैविक मल) क्षेत्रको विकासले गति लिएको छ । ‘जब–जब युद्ध हुन्छ । किसानहरूले बायोफर्टिलाइजरको प्रयोगलाई तीव्रता दिन्छन्, ब्राजिलका किसान, वैज्ञानिक र अनुसन्धानकर्ताहरूलाई जोड्ने संस्था ‘फोलियो इन्स्टिच्युट’का संस्थापक लुइस बार्बिएरीले भने । उनले इरान युद्धपछि मलको मूल्य ५० प्रतिशतले बढेको बताए । १९७० को दशकमा रासायनिक मलको व्यापक प्रयोग भएपनि ब्राजिलको जलवायुमा त्यस्तो मल कम प्रभावकारी हुने गरेको बार्बिएरीले बताए । किनकि, यहा उच्च वर्षा र उच्च तापक्रमले गर्दा मल बगेर जाने समस्या हुन्छ ।
ब्राजिलको सरकारी निकाय 'एम्ब्रापा’ का अनुसार सन् २०२३ देखि २०२४ सम्म ब्राजिलमा बायोफर्टिलाइजर क्षेत्र १५% ले वृद्धि भएको छ । साथै, किसानहरूलाई धेरै कम लागतमा आफ्नै बायोफर्टिलाइजर बनाउन सक्ने सुविधा छ ।
यद्यपि, मेक्सिकोमा भने सरकारी अनुदानले अझै पनि रासायनिक मलको प्रयोगलाई नै प्रवद्र्धन गरिरहेको छ । यो जानकारी अटोनोमस युनिभर्सिटी अफ चापिङ्गो’का अनुसन्धान प्राध्यापक तथा मेक्सिकोमा जैविक मलको प्रयोगलाई प्रवर्द्धन गरिरहेका गेर्रार्डो नोरिएगाले दिएका हुन् ।
तर, वर्तमान संकटले ‘किसानहरूलाई उनीहरूले सोचेभन्दा छिटो जैविक मल अपनाउन बाध्य पार्न सक्ने’ संकेत उनले गरेका छन् । भारतमा पनि प्रधानमन्त्री नरेन्द्र मोदीले प्राकृतिक खेतीलाई प्रोत्साहन गरिरहेका छन् ।मे १० मा मोदीले प्राकृतिक खेती अपनाउने र रासायनिक मलको प्रयोग ५०% ले घटाउने एउटा ‘राष्ट्रिय मिसन’ को घोषणा गरेका थिए ।
भारतको दक्षिणी राज्य तेलङ्गानामा मनोहर चारीले रासायनिक मल प्रयोग गर्दै आएका थिए । तर, अहिले उनी ‘जीवामृत’ बनाइरहेका छन् । यसमा गाईको गोबर, गहुँत, पिठो, माटो र गुड मिसाइएको हुन्छ ।
‘हामी कम्पनीहरूमा निर्भर छैनौँ,’ चारीले भने । उनी तेलङ्गाना र आन्ध्र प्रदेश राज्यका ती १७ लाख किसानहरूमध्ये एक हुन्, जो वर्तमान संकटपछि प्राकृतिक खेतितर्फ आकर्षित छन् ।
भारतले आफ्नो ६०% मल खाडी मुलुकबाट आयात गर्छ । अहिलेको संकटमा आपूर्ति सुनिश्चित गर्न र मूल्यवद्धि रोक्न सरकारले मलमा ठूलो अनुदान दिनुपरेको छ । जसले गर्दा राज्यकोषमा ठूलो भार परेको छ । ‘विशेष गरी मध्यपूर्वको द्वन्द्व सुरु भएपछि यस वर्ष प्राकृतिक खेतीमा पक्कै पनि चासो बढेको छ,’ सेन्टर फर सस्टेनेबल एग्रिकल्चरका कृषि वैज्ञानिक जी.भी. रामन्जेनेयुलुले भने ।
प्राकृतिक खेतीमा लाग्न थप श्रम आवश्यक पर्छ र किसानहरूले एक संक्रमणकालीन अवधि (परिवर्तनको समय) को सामना गर्नुपर्छ । चारीका अनुसार सरकारले रासायनिक मलमा अनुदान दिनुको सट्टा प्राकृतिक खेती गर्ने किसानहरुलाई सहयोग गर्न आवश्यक छ । ‘यदि त्यस सहयोगको एक सानो अंश मात्र प्राकृतिक किसानहरूलाई दिइयो भने, धेरै मानिसहरू यसतर्फ आकर्षित हुनेछन्,’ उनले भने ।
