जनचासो बढ्दै गएकाले सरकारी अधिकारीहरुले अन्तिम अवस्थामा यसलाई काट्नबाट रोके । उनीहरुले यसलाई किनेर ढाकास्थित राष्ट्रिय चिडियाघरमा राख्ने निर्णय गरे ।
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको तुलनाले भाइरल बनेको भैंसीलाई बंगलादेशको राष्ट्रिय चिडियाघरमा राखिने भएको छ । रोयटर्सका अनुसार ३८ वर्षीय मालिक जिया उद्दीन मृदाले बेचेपछि नयाँ मालिकले यसलाई इदमा काट्ने तर्खर गरेका थिए ।
तर, जनचासो बढ्दै गएकाले सरकारी अधिकारीहरुले अन्तिम अवस्थामा यसलाई काट्नबाट रोके । उनीहरुले यसलाई किनेर जीवनदान दिए । अब, ढाकास्थित राष्ट्रिय चिडियाघरमा यो भैंसी बस्नेछ ।
झन्डै ७ सय केजी तौल रहेको यो भैंसीका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल छन् । दशौं लाखले यस भैंसीका तस्विर हेरेका छन् । धेरैले यसलाई ‘डोनाल्ड ट्रम्प’ नाम दिएका छन् ।
एक मन्त्रालयका अधिकारीले सुरक्षा कारणले यस भैंसीको ज्यान जोगाइएको बताए । ‘सुरक्षा चासोलाई आधार मानेर भैंसीलाई जोगाइएको हो । यसप्रति ठूलो रुपमा जनचासो छ ,’ ती अधिकारीले भने ।
अवलोकनकर्ताहरुलाई सुरक्षित साथ यस भैंसी देखाउन लक्ष्यले यसलाई संरक्षण गरिएको चिढियाघरका अधिकारीहरुले जनाएका छन् । यस भैंसीसँग फोटो खिच्न ठूलो संख्यामा मानिसहरु आउने अधिकारीहरुले अपेक्षा गरेका छन् ।
अघिल्लो महिना यसका पूर्व मालिक मृदाले बिजनेश स्ट्यान्डर्डसाग भनेका थिए, ‘मेरो भाईले यसको कपाल र टाउको हेरेपछि जिस्किएर डोनाल्ड ट्रम्प नाम दिएका थिए ।’
उनले थपेका थिए, ‘यो निकै शान्त छ । अल्बिनो भैंसीहरु प्रायः शान्त हुन्छन् र नचिढ्याएसम्म आक्रामक हुँदैनन् ।’
मृदाका अनुसार अल्बिनो भैंसीहरु दक्षिण एशियामा दुर्लभ हुन् । यसलाई मकै, सोयाबिन र गहुँ–जौ खुवाउने गरिएको थियो । जसकारण यो भैंसी निकै स्वस्थय छ । अर्को एउटा ७ सय ५० किलो वजन भएको भैंसी पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो भैंसी पनि बंगलादेशकै हो । यसलाई सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले ‘बेन्जामिन नेतान्याहू’ नाम दिएका छन् ।
