आइतबार टेड्रोसले ९ सय जनाभन्दा धेरै बिरामीमा इबोला भएको आशंका व्यक्त गरेका थिए ।
जेनेभा — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अदानोम घ्रिबेयसेसले अफ्रिकामा २२० जनाको मृत्यु शंकास्पद इबोलाका कारण भएको हुनसक्ने बताएका छन् । संक्रमितहरूको पहिचानमा ढिलाइ भएकाले यसविरुद्ध खटिएका टोलीहरूलाई महामारी नियन्त्रणमा लिन समेत कठिन परिरहेको उनले बताए ।
'हामी द्रुत गतिमा अपरेसनहरू बढाउँदैछौँ, तर अहिलेको अवस्थामा महामारी हाम्रो नियन्त्रणभन्दा बाहिर गइरहेको छ,' महानिर्देशक टेड्रोसले सोमबार भने, ' कंगो (डीआरसी) सँग सीमा जोडिएका देशहरूले तत्काल कदम चाल्नुपर्छ ।'
यसअघि सोमबार युगान्डामा इबोलाका थप दुई संक्रमित फेला परेको पुष्टि भएको थियो । त्यहाँ कुल संक्रमितको संख्या सात पुगेको छ । यसअघि आइतबार टेड्रोसले ९ सय जनाभन्दा धेरै बिरामीमा इबोला भएको आशंका गरिएको बताएका थिए ।
पछिल्लो समय कंगोको इटुरीबाट यो इबोला फैलिएको हो । संक्रमित व्यक्ति वा मृतकको रगत, र्याल, वान्ता, पसिना वा अन्य शरीरका तरल पदार्थ छुँदा इबोला संक्रमण हुने उच्च जोखिम हुन्छ। यदि यी तरल पदार्थहरू स्वस्थ व्यक्तिको घाउचोट लागेको छाला वा आँखा, नाक र मुखजस्ता अंगमा परेमा रोग सर्न सक्छ। यसैले बिरामीको हेरचाह गर्ने चिकित्सक र परिवारका सदस्यहरूमा संक्रमणको खतरा सबैभन्दा बढी हुन्छ।
डब्ल्युएचओले शुक्रबार जारी गरेको विज्ञप्तिमा कंगोमा जोखिमको स्तर ‘अति उच्च’ रहेको र अफ्रिका क्षेत्रमा ‘उच्च’ रहेको जनाएको छ । विश्वव्यापी रुपमा यो संक्रमण फैलने संभावना भने कम रहेको डब्ल्युएचओले जनाएको छ ।
अहिले फैलिरहेको बुन्डिबिग्यो स्ट्रेनको इबोलाको संक्रमण रोकथामका लागि कुनै पनि प्रमाणित खोप उपलब्ध छैन । गत सातामात्रै डब्ल्युएचओले यस स्ट्रेनलाई 'सार्वजनिक स्वास्थ्य आपतकाल' घोषणा गरेको थियो ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयले नयाँ खोप विकास गर्दैछ । तर यसलाई क्लिनिकल परीक्षणका लागि पठाउन झन्डै दुईदेखि तीन महिना लाग्ने बीबीसीमा उल्लेख छ । यो खोप प्रभावकारी हुनेछ भन्ने कुनै ग्यारेन्टी पनि अहिले छैन । यसलाई पहिले जनावर र त्यसपछि मानिसमा परीक्षण गरिनेछ ।
