सरकारका प्रतिनिधि मात्रै नभएर व्यावसायिक घरानाका व्यक्तिहरूको बढ्दो उपस्थितिले बेइजिङसँग लगानी र व्यापार सहकार्यमा बढ्दो बाँकी विश्वको इच्छाशक्ति दर्शाएको छ
What you should know
काठमाडौँ — मे (१३–१५) मा बेइजिङमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो मन्त्रिमण्डलका वरिष्ठ सदस्य तथा ठूला व्यावसायिक प्रतिष्ठानका सीईओहरूको टोलीसहित चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेटे । त्यसलगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङ भ्रमणमा आए । सोमबार पाकिस्तानका प्रधानमन्त्री सहवाज सरिफ र सेनापति असिम मुनिरले सीसँग भेटेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरान युद्ध अन्त्यका लागि सरिफ र पाकिस्तानी सेनापति फिल्ड मार्शल असिम मुनिरले खेल्दै आएको मध्यस्थताको भूमिकाको प्रशंसा गर्दै आएका छन् । बेइजिङमा चिनियाँ राष्ट्रपति सीले सरिफको मध्यस्थता प्रयासमा चीनले समन्वय गर्ने बताए ।
पछिल्ला भेटघाटमा राजनीति, प्रविधि, आपसी व्यापार र लगानीले प्राथमिकता पाएको देखिन्छ । सरकारका प्रतिनिधि मात्रै नभएर व्यावसायिक घरानाका मानिसहरूको बढ्दो उपस्थितिले बेइजिङसँग लगानी र व्यापार सहकार्यमा बढ्दो बाँकी विश्वको इच्छाशक्ति दर्शाउँछ ।
अप्रिल महिनामा केवल १० दिनको अवधिमा थाइल्यान्डकी राजकुमारी महाचक्री सिरिन्धोर्न, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज, आबुधाबीका युवराज शेख खालिद बिन मोहम्मद बिन जायेद अल नह्यान, भियतनामका राष्ट्रपति तो लाम, रुसी विदेशमन्त्री सर्गेई लाभरोभ लगायतका विदेशी पाहुनाले चीन भ्रमण गरेका थिए । ‘विश्वले चीनप्रति आफ्नो ठूलो विश्वास प्रकट गरेको उदाहरण पछिल्ला भ्रमण लहरहरू हुन्,’ चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले त्यसबेला लेखेको थियो । चीनका स्थानीय सञ्चारमाध्यमहरूले यी भ्रमणहरूको व्याख्या गर्ने क्रममा ‘बैठक कोठा’, ‘बेइजिङको समय’ जस्ता शब्द प्रयोग गरेका छन् ।
‘भविष्यमा चीनले विश्वमा महत्त्वपूर्ण भूमिका खेल्ने निश्चित छ,’ स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले गत अप्रिलमा चीन भ्रमणका क्रममा सिङहुआ विश्वविद्यालयमा आयोजित कार्यक्रममा भनेका थिए । उनले बहुध्रुवीकृत विश्व आजको आवश्यकता भएकाले यसलाई नजरअन्दाज गरेर अघि बढ्न नसकिने बताएका थिए । पछिल्लो समय पश्चिमा गठबन्धनका क्यानडा र स्पेनजस्ता देशहरू नै चीनसँग सहकार्य गहिरो बनाउने प्रयासमा छन् । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले गत जनवरीमा बेइजिङ भ्रमण गरेर चिनियाँ राष्ट्रपतिसँग भेटेका थिए । सन् २०१७ पछि क्यानडाका कार्यकारी प्रमुखले गरेको यो नै पहिलो भ्रमण थियो । दुई देशबीच नवीकरणीय ऊर्जा, कृषि, अपराध नियन्त्रणलगायत विषयमा छलफल भएको थियो । जनवरीमै कोरियाका राष्ट्रपति ली जे म्योङ, आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिन, फिनल्यान्डका प्रधानमन्त्री पिट्टेरी ओर्पो, बेलायतका प्रधानमन्त्री केर स्टार्मर लगायतले सीसँग भेटेका थिए । त्यस्तै, फेब्रुअरीमा उरुग्वेका राष्ट्रपति यामान्डु ओर्सी र जर्मन चान्सेलर फ्रेडरिच मर्ज बेइजिङ आए ।
चीनको स्थिर नीति र हाई–टेक उद्योगमा बढ्दो प्रभावले अन्य देशहरू आर्थिक सहकार्यका लागि इच्छुक देखिएको अर्थशास्त्री पोषराज पाण्डेले कान्तिपुरसँग बताए । ‘फाइटर जेटदेखि स्मार्टफोन र कम्प्युटरको निर्माणमा आवश्यक पर्ने दुर्लभ खनिज धातुको ९० प्रतिशत प्रशोधित हिस्सा चीनसँग छ । ट्रम्पकै शब्दमा कार्ड अब चीनसँग छ । गत वर्ष अमेरिकाले सुरु गरेको भन्सार युद्ध असफल बनाउन चीनले यही कार्ड खेलेको थियो,’ पाण्डेले भने । ‘अमेरिकासँग आफ्नो उपभोक्ता बजार छ । जसले धेरैलाई आकर्षित गर्छ । तर, यसका बाबजुद अहिले अमेरिकी बजार अनिश्चित भएकाले मानिसहरू त्यहाँ लगानी गर्ने जोखिम लिइरहेका छैनन् । साना–ठूला शक्तिहरूले आफ्नो अर्थतन्त्रलाई जोगाउन चीनसँग व्यापार र लगानी वृद्धि गर्न चाहेका छन् । जहाँ स्थिरता हुन्छ, लगानीकर्ता त्यतै आकर्षित हुन्छन् ।’ उनले थपे, ‘अमेरिकामा कृषि प्रवर्द्धन गर्ने ट्रम्पको योजना छ । त्यसलाई ध्यानमा राखेर चीनले बिफ, सोयाबिन र मकैजस्ता अमेरिकी उत्पादनमा यसअघि लगाइएको प्रतिबन्ध खुकुलो गरिदिने भएको छ । अमेरिकाले पनि एआईका लागि चीनलाई चिप्सहरू दिने सहमति गरेको छ । यसले विश्व व्यापारमा केही स्थिरता देखिन सक्छ ।’
विशेषगरी डोनल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएयता अमेरिकाको विदेश सम्बन्ध र नीति अस्थिर देखिँदै आएको छ । ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ नीतिले घरेलु मुद्दाहरूलाई प्राथमिकतामा राख्ने दाबी गरे पनि विश्वव्यापी सहकार्यलाई निरुत्साहित गर्दै राखेको छ । यसले उसका पश्चिमा सहयोगीहरूमा आशंका बढाएको छ । ठीक विपरीत, चीनले नीतिगत निरन्तरता, बहुपक्षीयताप्रतिको प्रतिबद्धता र वैश्विक सहकार्यका पक्षमा जोड दिइरहेको छ ।
‘चीनले नयाँ अवधारणा र नयाँ अभ्यासहरूको प्रतिनिधित्व गर्दै विश्वलाई शान्ति, समृद्धि र स्थिरताको रूपान्तरणतर्फ डोर्याउन सक्छ भनेर विश्वले स्वीकारिसकेको छ । यसविरुद्ध गुटबन्दी र एकपक्षीयताको पुरानो मानसिकता उभिएको छ,’ चाइना फरेन अफेयर्स युनिभर्सिटीका प्राध्यापक ली हाइडोङले चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्ससँग भनेका छन् ।
चीनसँग विश्वका विभिन्न देशले आफ्नो सन्दर्भअनुरूप सहकार्य खोजिरहेको देखिन्छ । भियतनामजस्ता छिमेकी देशले साझा भविष्यसहितको बलियो जग बनाउन चाहेका छन् । स्पेनजस्ता युरोपेली देशहरूले हरित ऊर्जा र प्रविधिको नवप्रवर्तनमा सहकार्य खोजिरहेका छन् । पश्चिम एसियाका देशहरूले क्षेत्रीय शान्तिमा चीनको मध्यस्थता र साथ खोजेका छन् । रुस रणनीतिक साझेदारी चाहन्छ भने अमेरिकाले व्यापार र प्रविधिमा ध्यान केन्द्रित गरेको छ । केही समयअघि सम्पन्न चीनको राष्ट्रिय जनकंग्रेसले १५ औं पञ्चवर्षीय योजना पारित गरेको थियो । विकास र समृद्धिका लागि बाँकी विश्वसँग हातेमालो गरेर अघि बढ्ने नीति योजनामा उल्लेख छ ।
सन् २०१३ मा वान बेल्ट वान रोड (अहिलेको बेल्ट एन्ड रोड इनिसिएटिभ–बीआरआई) परियोजना सार्वजनिक गरेदेखि नै चीनले आफ्नो विश्वव्यापी उपस्थिति बलियो बनाउँदै गएको छ । सन् २०२६ सम्म आइपुग्दा १ सय ५० भन्दा धेरै देशले यस परियोजनामा हस्ताक्षर गरिसकेका छन् । तर, लगानी र ऋणमा सहमति जुट्न बाँकी रहेकाले धेरै देशमा यो योजना कार्यान्वयन भइसकेको छैन । राष्ट्रपति सी चीनफिङको महत्त्वाकांक्षी लक्ष्य ‘चिनियाँ सपना’ अनुसार चीनले सन् २०४९ भित्र आफूलाई विश्वको नम्बर एक शक्तिका रूपमा उभ्याउन चाहेको छ ।
‘जनगणतन्त्र चीन स्थापनाको शतवार्षिकीसम्म आर्थिक, राजनीतिक, कूटनीतिक क्षेत्रमा एउटा अब्बल समाजवादी राष्ट्रका रूपमा चीनलाई उभ्याउने योजना सीले बनाएका छन् । यसलाई ‘चिनियाँ सपना’ वा चिनियाँ पुनरुदय भनिएको छ,’ कूटनीतिक मामिलाका जानकार रूपक सापकोटाले भने, ‘ट्रम्पको भ्रमणका दौरान भएको सम्झौतामा मेक अमेरिका ग्रेट अगेनसँगै चिनियाँ पुनरुदयको विषय पनि समेटिएको छ । अमेरिकाले चीनलाई आफू वा सोसरहको मान्यता दिएको यसले देखाउँछ । शीतयुद्धपछि लामो समय एकल ध्रुवीय विश्वको नेतृत्व अमेरिकाले गरिरहेको थियो । तर बहुध्रुवीय विश्वमा अहिले चीनको भूमिका बढेर गएको छ । त्यहीकारण चीनसँग सम्बन्ध बनाउनका लागि अन्य देशहरू पनि आकर्षित छन् ।’
चीनको बढ्दो कूटनीतिक सञ्जाल, हाई–टेक उद्योगमा बढ्दो उपस्थिति र शान्तिप्रतिको प्रतिबद्धताले पनि यसमा ठूलो भूमिका खेलेको उनले बताए । ‘इरानदेखि भेनेजुएलासम्म चलेको भूराजनीतिक द्वन्द्व र विशेषगरी इरानमा लक्ष्य हासिल गर्न असफल हुँदाको अवस्थाले अमेरिका अस्थिर भएको सन्देश विश्वलाई दिएको छ । अमेरिकाले युद्ध टुंग्याउनका लागि चीनको साथ खोजेको देखिन्छ । अर्कोतर्फ, चीनले झन्डै ५० वर्षदेखि कुनै पनि देशसँग ठूला युद्ध लडेको छैन । राजनीतिक शक्ति सन्तुलनको कोणबाट होस् वा व्यापार सम्बन्धमा, उसले सहअस्तित्वको सिद्धान्तअनुसार सम्बन्ध बिस्तार गरिरहेको छ,’ सापकोटाले भने, ‘अन्तर्राष्ट्रिय मञ्चहरू कमजोर भइरहेका छन् । धेरैजसो शक्तिराष्ट्रहरू अन्तर्राष्ट्रिय नियमअनुसार संसार चलिरहेका छैनन् । यस्तोमा चीनको उदय र विधि–प्रक्रियामाथिको उसको प्रतिबद्धताले पनि राजनीतिक शक्ति सन्तुलनमा उसको भूमिकालाई बढावा दिएको छ ।’
उनले थपे, ‘सन् २०१० अघिसम्म गार्मेन्ट र घरायसी सामग्रीको उत्पादनमा केन्द्रित चिनियाँहरू अहिले स्मार्टफोन, एरोस्पेस, पानीजहाज, हतियार तथा खरखजाना, ड्रोन, एआई, रोबेटिक, विद्युतीय सवारी, टेली कम्युनिकेसन्सलगायत हाई टेक उद्योगमा अग्रणी भूमिकामा छन् । विश्वका धेरै देशका अर्थतन्त्रहरू दबाबबाट गुज्रिएको अवस्थामा चीनले आधुनिक प्रविधिमा आधारित उद्योगहरूमा सहकार्यका लागि अवसर प्रदान गरेको छ । दुर्लभ खनिजमाथिको नियन्त्रण, विशाल आपूर्ति चक्र, आर्थिक वृद्धिदरलगायत कारणले विश्वका अन्य अर्थतन्त्र चीनसँग सहकार्यका लागि इच्छुक देखिन्छन् ।’
यी सबैका बाबजुद चीनको अन्तर्राष्ट्रिय सम्बन्ध चुनौतीरहित छैन । अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयका राजनीतिशास्त्र तथा विदेश सम्बन्धका वरिष्ठ लेक्चरर सिजल टुबिलविकले द कन्भर्सेसनमा लेखेका छन्, ‘चीनका आफ्नै जटिलता छन् । जस्तो, उद्योगहरूलाई बन्द हुनबाट रोक्न तथा आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न बेइजिङले केही उत्पादनशील क्षेत्रमा ठूलो परिमाणमा अनुदान उपलब्ध गराउँदै आएको छ । यसबाट सिर्जना हुने अतिरिक्त उत्पादनलाई युरोपेली युनियन (ईयू) सहित विश्वभर सस्तो मूल्यमा निर्यात गरिन्छ । जसले त्यहाँका घरेलु उद्योगहरूलाई समस्यामा पारेको भए पनि निर्यात रोक्न सक्ने अवस्थामा चीन छैन । अर्कोतर्फ, चीनको आर्थिक विकासका लागि पश्चिमा बजार महत्त्वपूर्ण हुँदाहुँदै पनि रुस र इरानलार्ई उसले समर्थन दिइरहेको छ । त्यसैले बेइजिङमा हाइप्रोफाइल बैठक ठूलो उत्सव भए पनि यसबाट आउने परिणाम सीमित छ ।’ (एजेन्सीको सहयोगमा)
