भारतका विभिन्न राज्यमा तातो हावा, तेलंगानामा १६ को मृत्यु

तेलंगानाका राजस्व, आवास र सुचना तथा जनसम्पर्कमन्त्री पोन्गुलेटी श्रीनिवासा रेड्डीका अनुसार राज्यका ७ जिल्लामा यस वर्षको गर्मीले १६ व्यक्तिको निधन भइसकेको छ ।

जेष्ठ १०, २०८३

कान्तिपुर संवाददाता

Heatwave in various states of India, 16 dead in Telangana

काठमाडौँ — भारतका विभिन्न क्षेत्रमा तातो हावा (लु) चल्दा जनजीवन अस्तव्यस्त भएको छ । द हिन्दूमा प्रकाशित समाचारअनुसार धेरै क्षेत्रमा तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुगिसकेको छ । 

तातो हावाको कहरपछि पञ्जाबका अस्पतालहरुले हिट स्ट्रोक व्यवस्थापन युनिट नै सञ्चालन गरेका छन् । त्यसैगरी झारखण्डका तीनवटा जिल्लाहरुमा सोमबारका लागि ‘लु’ आउनसक्ने चेतावनी जारी गरिएको छ । 

तापक्रम वृद्धिले जनावर र पन्छीहरु पनि समस्यामा परेका छन् । शनिबार दिल्लीमा अति गर्मी थियो । तर, आइतबार बिहान आँधी र हल्का वर्षा भएपछि जनताले थोरै राहत महसुस गरेका छन् ।

दिल्लीका पशु उद्धारकर्मीहरुका अनुसार शनिबार परेवाहरु आकाशमै थकित भएर जमिनमा बेहोस भएर ढलेका थिए । केही सडक क्षेत्रमा पानीको कमीले छट्पटाइरहेका चिलहरुलाई उद्धार गरिएको छ । त्यस्तै लगातारको लुका कारण सडकका जनावरहरु पनि समस्यामा छन् । 

तेलग‌ांनाका राजस्व, आवास र सुचना तथा जनसम्पर्कमन्त्री पोन्गुलेटी श्रीनिवासा रेड्डीका अनुसार राज्यका ७ जिल्लामा यस वर्षको गर्मीले १६ व्यक्तिको निधन भइसकेको छ । उनले अति उच्च तापक्रम रेकर्ड भएका गाउँहरुको पहिचान गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् । त्यस्तै कार्यस्थल र सार्वजनिक क्षेत्रमा खानेपानी र दूधको प्रबन्ध सुनिश्चित गर्न आग्रह गरेका छन् । 

राजस्तानको चित्तौरगढमा शनिबार तापक्रम ४४.२ डिग्री सेल्सियस रेकर्ड भएको थियो । मौसम विभागले तापक्रम आइतबार थप बढ्नसक्ने चेतावनी दिएको छ ।  

बिहारका राज्यका जिल्लाहरुमा तापक्रम ४० डिग्री नाघेपछि विद्यालयको घण्टा घटाइएको छ । कतिपय विद्यालय बन्द भएका छन् ।

मौसम विभागले आइतबार दिउँसोदेखि दिल्ली, पञ्जाब, हरियाणा र चन्द्रिगढमा फेरि तापक्रम बढ्ने जनाएको छ ।  

कान्तिपुर

Link copied successfully