मोदी–रुबियो भेटमा पश्चिम एशियामा जारी युद्धबारे पनि छलफल भएको अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नयाँ दिल्ली — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग शनिबार नयाँ दिल्लीमा व्यापार, सुरक्षा र प्रविधिबारे छलफल गरेका छन् । विदेशमन्त्री बनेयता रुबियोको यो पहिलो भारत भ्रमण हो ।
भेटपछि सामाजिक सञ्जाल एक्समा लेख्दै मोदीले भारत–अमेरिका बिस्तृत रणनीतिक साझेदारी र क्षेत्रीय तथा विश्व शान्ति र सुरक्षाका विषयमा छलफल भएको बताए ।
बैठकमा भारतका विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल, भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर र अमेरिकाका सहायक विदेशमन्त्री एलिस्सन हुकर उपस्थित थिए ।
बैठकपछि बोल्दै गोरले भारत र अमेरिकाले स्वतन्त्र र खुला इन्डो–प्यासेफिक अवधारणालाई प्राथमिकतामा राखेको बताए । भारत र अमेरिकाले सुरक्षा, प्रविधि, व्यापार, आपुर्ति चक्र र इन्धनबारे सहकार्य अभिवृद्धि गर्न खोजिरहेका बेला यो भेटघाट भएको हो ।
गोरले एक्समा लेखेका छन्, ‘हामीबीच अमेरिका–भारत सहकार्यलाई गहिरो बनाउने विषयमा रचनात्मक छलफल भएको छ । स्वतन्त्र र खुला इन्डो–प्यासेफिक तथा दुबै देशलाई सुदृढ बनाउने सुरक्षा, व्यापार र प्रविधि क्षेत्रबारे छलफल भयो । भारत अमेरिकाको महत्वपूर्ण साझेदार हो ।’ रुबियोले मोदीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट निकट भविष्यमै ह्वाइट हाउस भ्रमण गर्नका लागि निमन्त्रणा दिएको पनि गोरले बताए ।
मोदी–रुबियो भेटमा अमेरिका–इजरायल र इरानबीच जारी युद्धबारे पनि छलफल भएको अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘ विश्व ऊर्जा बजारलाई इरानको नियन्त्रणमा अमेरिकाले छाड्ने छैन र भारतको ऊर्जा आपुर्तिलाई विविधिकरण गर्ने संभावना अमेरिकी ऊर्जा उत्पादनहरुमा छ,’ रुबियोको भनाई उद्रृत गर्दै विज्ञप्तिमा भनिएको छ ।
मोदीले शान्ति प्रयासमा भारतको सहयोग रहने बताएका थिए । त्यस्तै, संवाद र कुटनीतिमार्फत द्वन्द्व अन्त्य गर्नुपर्नेमा जोड दिए । चीन–अमेरिका शिखर सम्मेलनको एक हप्तापछि रुबियो भारत आएका हुन् । शनिबार कोलकाताबाट आफ्नो भ्रमण सुरु गरेका रुबियो भारतमा चार दिन रहनेछन् ।
शनिबारै उनले कोलकातामा स्वर्गीय मदर टेरेसाको मिसनरीज अफ च्यारिटीको मुख्यालयको भ्रमण गरेका छन् । २६ मेइमा हुने क्वाडका सदस्य राष्ट्र अष्ट्रेलिया, भारत, जापान र अमेरिकाको विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुनेछन् । इरानमा युद्ध सुरू भएयता हर्मुज जलमार्गमा अवरोध छ । आफ्नो आवश्यकताको झन्डै ८० प्रतिशत कच्चा तेल तथा ठूलो परिमाणमा प्राकृतिक ग्याँस भारतले विदेशबाट आयात गर्छ । युद्धअघि झन्डै ५५ प्रतिशत कच्चा तेल पश्चिम एसियाबाट भारतमा आउने गरेको थियो ।
तर यु्द्ध सुरु भएसँगै यो जलमार्गमा अवरोध उत्पन्न हुँदा रूसी तेलप्रतिको भारतीय निर्भरता बढेर गएको छ । त्यस्तै भारतमा कच्चा तेल र अन्य उपभोग्य वस्तुको भाउ बढेको छ । १ अर्ब ४० करोड हाराहारीमा जनसंख्या रहेको भारतमा दैनिक जीवनमै इरान युद्धको प्रभाव देखिएको छ । अमेरिकाले भारतलाई इन्धन बिक्री गर्न चाहिरहेको छ । ’उनीहरुले जति धेरै किन्छन् । हामी त्यति नै इन्धन बिक्री गर्न चाहन्छौं र अर्कोतर्फ अहिले हाम्रो उत्पादन र निर्यात ऐतिहासिक रूपमै बढेको छ.’ रूबियोले भारत आउनुअघि भनेका थिए ।
भारतले अमेरिकी तेल किन्दा दुई देशीय व्यापार असन्तुलन पनि कम गएर जानेछ । सन् २०२५ मा अमेरिकाले भारतसँगको व्यापारमा ५८.२ अर्ब अमेरिकी डलर घाटा व्यहोरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटक–पटक यस व्यापार घाटालाई कम गर्नुपर्ने तर्क गर्दै आएका छन् । तर अमेरिकाबाट भारतमा तेल ल्याउनु सहज भने छैन । दुई देशबीचको दूरी निकै लामो छ । ’भारतले ऊर्जा सुरक्षालाई प्राथमिकतामा राखेको छ । किनकि, इरानको अवस्था अहिल्यै समाधान हुनेजस्तो देखिदैंन,’ दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयमा अमेरिकी अध्ययनबारेका उपप्रधाध्यापक विनित प्रकाशले बीबीसीसँग भने,’ अमेरिकाले अहिल्यै पनि भारतलाई रुसी तेल किन्न छुट दिएको छ । तर दिल्ली थप सहुलियत चाहन्छ ।’
गत वर्ष भारतमाथि अमेरिकाले भन्सार शुल्क बढाउने नीति लिएपछि दिल्ली– वासिङटन सम्बन्धमा केही समय तनाव देखिएको थियो । झन्डै १० महिनासम्म भारतीय सामाग्रीमाथि ५० प्रतिशत भन्सार शुल्क लगाएको ट्रम्प प्रशासनले यसै वर्षको सुरुवातमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको कुराकानीपछि भन्सार शुल्क घटाएर १८ प्रतिशतमा झारेको थियो ।
भारत–पाकिस्तान द्वन्द्वको विषयमा अमेरिकाले गरेको मध्यस्थताको दाबीलाई पनि अझैसम्म भारतले स्विकारेको छैन । जबकि, पाकिस्तानका राष्ट्रपति सहबाज सरिर्फले यस कामका लागि अमेरिकालाई धन्यवाद् दिएका थिए । ट्रम्पले आफ्नो मध्यस्थतामा भारत–पाकिस्तानले युद्धविराम गरेको दाबी पटक–पटक गर्दै आएका छन् । ट्रम्पले सार्वजनिक रुपमा पाकिस्तानी सेनाका सेनापति असिम मुनिरको प्रशंसा गर्दै आएका छन् । भारतलाई यो मन परेको छैन ।
पाकिस्तानले अहिले इरान र अमेरिकाबीच वार्ताको मध्यस्थता प्रयास गरिररहेको छ । पाकिस्तानसँग बढ्दो अमेरिकी निकटताले भारत सतर्क बनेका बेला दुई देशबीच अर्थपूर्ण संवाद भएको हो ।
