तृणमूल कांग्रेसका सांसदद्वय महुआ मोइत्रा र कीर्ति आजादले पनि लिए पार्टी सदस्यता
What you should know
(काठमाडौं)-कक्रोच जनता पार्टी (सीजेपी) लाई इन्स्टाग्राममा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) लाई भन्दा दोब्बर धेरैले फलो गरेका छन् । शुक्रबारसम्म सीजेपीलाई करिब २ करोड ९ लाखले फलो गरेका छन् । भाजपाको एकाउन्टमा भने ८८ लाख फलोअर छन् । कक्रोच जनता पार्टीका नाममा वेबसाइट पनि खोलिएको छ । पार्टी खोलिएको ६ दिन मात्र भएको छ ।
वेबसाइटमा दिइएको जानकारीअनुसार ७२ घण्टामै पार्टीका १ लाखभन्दा बढीले सदस्यता लिएका छन् । त्यस्तै दुई जना लोकसभा सदस्य पनि पार्टीको बोर्डमा रहेको जानकारी दिइएको छ । तृणमूल कांग्रेसका सांसदद्वय महुआ मोइत्रा र कीर्ति आजादले पार्टीलाई समर्थन गरेको बताएका थिए । सीजेपीको वेबसाइटमा पनि सांसदद्वयले सीजेपीको सदस्यता सार्वजनिक रूपमै स्वीकार गरेको उल्लेख छ ।
महुआ मोइत्राले सीजेपीको पोस्ट सेयर गर्दै उनी पनि ‘एन्टी–नेसनल पार्टी’ को सदस्य बन्न चाहेको बताएकी थिइन् । साथै कीर्ति आजादले पनि पार्टीमा सहभागी हुन के–के योग्यता चाहिन्छ भनेर सोधेका थिए । यसमा सीजेपीले पनि जवाफ दिएको छ कि, ‘१९८३ को विश्वकप जित्नु नै काफी छ ।’
भारतले १९८३ को विश्वकप जित्दा कपिलदेवको कप्तानीमा कीर्ति आजाद पनि टिम सदस्य थिए ।
यतिबेला भारतमा ‘मैं भी ककरोच’ अर्थात् ‘म पनि कक्रोच’ अभियान चलाइएको छ । सीजेपीले आफूलाई अल्छी र बेरोजगारहरूको आवाजका रूपमा प्रस्तुत गरेको छ । भारतीय प्रधानन्यायाधीश सूर्यकान्तले युवाहरूलाई अल्छी र कक्रोच भनेपछि प्रतीकात्मक रूपमा अभियानको नाम राखिएको हो ।
सीजेपीले यसलाई युवाका लागि युवाद्वारा बनाइएको युवाको राजनीतिक मञ्चका रूपमा दाबी गरेको छ । केही दिनमा यस अभियानमा लाखौं युवा जोडिएका छन् । पार्टीका संस्थापक बोस्टन विश्वविद्यालयमा जनसम्पर्क पढिरहेका ३० वर्षीय विद्यार्थी अभिजित दिपके हुन् । उनी सन् २०२० देखि २०२३ सम्म आम आदमी पार्टी (आप) को सोसल मिडिया टिममा स्वयंसेवीका रूपमा कार्यरत थिए । सीजेपीले आफूलाई ‘वर्तमान व्यवस्थाबाट निराश मानिसहरूको आवाज’ भएको दाबी गरेको छ ।
त्यसो त पार्टीको नामलाई लिएर पनि विभिन्न टीकाटिप्पणी भइरहेका छन् । कतिपयले भारतीय प्रधानन्यायाधीश सूर्यकान्तको कथित अभिव्यक्तिमा आधारित रहेको पनि बताएका छन् । सूर्यकान्तले युवालक्षित यस्तै अभिव्यक्ति दिएका थिए । सूर्यकान्तले भनेका थिए, ‘केही युवा कक्रोचजस्तै हुन्छन् । जो
जागिर पाउँदैनन्, उनीहरू मिडिया, सोसल मिडिया वा आरटीआई अभियन्ता बनेर सिस्टममाथि आक्रमण गर्छन् ।’ पछि उनले आफ्नो भनाइ तोडमोड गरेर प्रस्तुत गरिएको समेत दाबी गरे ।
तर सीजेपीका संस्थापक अभिजित दिपकेले यसलाई रमाइलो पारामै जवाफ फर्काएका छन् । उनले भनेका छन्, ‘कक्रोच जनता पार्टीको संस्थापक भएको नाताले म यस स्पष्टीकरणको निन्दा गर्छु ।’ सीजेपीले एआई–जेनेरेटेड एन्थम् पनि जारी गरेको छ । जहाँ भनिएको छ, ‘वि आर कक्रोच पार्टी, वि आर चिल्ड्रेन अफ अ बर्निङ सिटी ।’ सीजेपीले भर्चुअल रूपमै पहिलो जेन–जी सम्मेलन गर्ने पनि बताएको छ ।
पछिल्लो समय भारतीय राजनीतिलाई तरंगित बनाइरहेको राष्ट्रिय योग्यता र प्रवेश परीक्षा (निट) तथा सीबीएसईजस्ता परीक्षामा भएको पेपरलिक र गडबडीका बारेमा पनि सीजेपीले आवाज उठाएको छ । सीजेपीको पाँचबुँदे घोषणापत्र पनि सार्वजनिक भएको छ । सीजेपीको माग छ कि अवकाशपछि कुनै पनि प्रधानन्यायाधीशलाई राज्यसभा सिट दिइने छैन । भारतका ४६औं प्रधानन्यायाधीश रञ्जन गोगोई अवकाशको केही समयमै राज्यसभा सांसद बनेका थिए । १७ नोभेम्बर २०१९ मा प्रधानन्यायाधीशबाट अवकाश पाएका उनी १७ मार्च २०२० मै राज्यसभा सांसद बनेका थिए ।
त्यस्तै सीजेपीको अर्को घोषणा छ, कुनै पनि वैध मतदातालाई मतदाता सूचीबाट हटाइए प्रमुख निर्वाचन आयुक्तमाथि यूएपीए कानुनअन्तर्गत कारबाही हुनुपर्छ । संसद् र क्याबिनेटमा महिलालाई ५० प्रतिशत आरक्षण र प्रेस स्वतन्त्रताको ग्यारेन्टी पनि सीजेपीको घोषणापत्रमा उल्लेख छ । त्यस्तै दल बदल्ने सांसद र विधायकलाई २० वर्ष चुनाव लड्न नदिने व्यवस्था ल्याउने पनि उसको घोषणा छ ।
सीजेपीका संस्थापक अभिजितले आफूहरूको आन्दोलन नेपाल र बंगलादेशका जेन–जीहरूको जस्तो नहुने बताएका छन् । आफूलाई नेपाल र बंगलादेशमा जस्तै आन्दोलन हुने हो भनेर पत्रकारहरूले सोधेको उनले बताएका छन् । उनले भनेका छन्, ‘यसलाई म प्रस्ट पार्न चाहन्छु ।
यस्तो तुलना गरेर भारतका जेन–जीको अपमान नगर्नुहोला । यो देशका युवा धेरै परिपक्व, सचेत र राजनीतिक चेतना भएका छन् । उनीहरूलाई आफ्नो संवैधानिक अधिकार थाहा छ, लोकतान्त्रिक र शान्तिपूर्ण रूपमा असहमति राख्ने तौरतरिका पनि राम्रोसँग थाहा छ ।’
(एजेन्सीको सहयोगमा)
