'कक्रोच अवामी लिग'को एउटा पेजमा 'हरेक परिस्थितिमा जीवित छौं' भन्ने नारा प्रयोग गरिएको छ ।
काठमाडौँ — भारतमा 'कक्रोच जनता पार्टी' भाइरल भएपछि पाकिस्तानमा पनि 'कक्रोच अभियान' चलेको छ । पाकिस्तानमा 'ककरोच अवामी पार्टी' (सीएपी) र 'कक्रोच अवामी लीग' (सीएएल) जस्ता पेजहरू देखा परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारतमा प्रधानन्यायाधीश सूर्यकान्तले युवाहरूलाई "साङ्ला" (ककरोच) र "परजीवी" को संज्ञा दिएपछि मे महिनाको मध्यतिर युवाहरुले सामाजिक सञ्जालमा असन्तुष्टी व्यक्त गरेका थिए । त्यसलगत्तै, अमेरिकामा बसोबास गर्ने जनसम्पर्क स्नातक तथा आम आदमी पार्टीका पूर्व सहयोगी अभिजीत दिप्केले मे १६ मा 'गुगल फर्म' मार्फत सदस्यता अभियान चलाउँदै सामाजिक सञ्जालमा आधारित 'कक्रोच जनता पार्टी' सुरु गरे ।
झन्डै एक साताभित्रै यो अभियान सामाजिक सञ्जालमा भाइरल भएको छ । केही दिनभित्रै उक्त पार्टीको इन्स्टाग्राम अकाउन्टमा १ करोड ५० लाखभन्दा बढी फलोअर्स पुगेका छन्, जसले भारतीय जनता पार्टी (भाजपा) र भारतीय राष्ट्रिय कांग्रेस दुवैका आधिकारिक ह्यान्डलहरूलाई पछि पारेको छ। यसपछि सूर्यकान्तले आफ्नो अभिव्यक्ति सबै बेरोजगार युवाहरुप्रति लक्षित नरहेको प्रस्टोक्ति दिएका थिए । उनले आफ्नो अभिव्यक्तिलाई तोडमोड गरिएको पनि बताए ।
यो समूहले आफूलाई "आल्छि र बेरोजगार" युवाहरूको आवाजको रूपमा प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य सेवा, रोजगारीका अवसर, परीक्षा सुधार र जवाफदेहितासँग सम्बन्धित मुद्दाहरू उठाएको छ। बिहीबार भारतमा उक्त पार्टीको 'एक्स' अकाउन्ट बन्द गरिएको भएपनि अर्को ह्यान्डलमार्फत पुनः यो पार्टी देखा पर्यो । 'तिमीलाई लागेको थियो कि तिमीले हामीबाट छुटकारा पाउँछौ? हाहाहा...,' नयाँ ह्यान्डलमा लेखिएको थियो ।
भारतमा यसको चर्चा चुलिएलगत्तै पाकिस्तानमा पनि यस्तै खालका पेजहरू देखिन थाले। इन्स्टाग्राममा 'कक्रोच अवामी पार्टी' नामको एउटा पेजले आफ्नो बायोमा लेखेको छ: 'यो नक्कल गरिएको हो, तर हामीलाई के मतलब ? हाम्रो नारा एउटै हो।'
हरियो र सेतो रङको ब्रान्डिङ प्रयोग गरेको यो अकाउन्टले पाकिस्तानमा 'हरेक जेन-जीको वास्तविक आवाज बन्ने लक्ष्य राखिएको जनाएको छ ।' त्यस्तै आफूलाई मूलधारका राजनीतिक दलहरूको विकल्पको रूपमा उभ्याएको जनाएको छ ।
सामाजिक सञ्जाल 'एक्स' मा पनि यस्तै धेरै अकाउन्टहरू देखा परेका छन्।
एउटा पेजले "जसलाई प्रणालीले साङ्ला (कक्रोच) सम्झियो, हामी ती जनताको आवाज हौं" भनेर आफूलाई चिनाएको छ । त्यस्तै, 'कक्रोच अवामी लिग'को अर्को पेजमा 'हरेक परिस्थितिमा जीवित छौं' भन्ने नारा प्रयोग गरिएको छ ।
