सरकारले २ सय १ जना कामदारलाई सफलतापूर्वक उद्धार गरेको छ ।
काठमाडौँ — चीनको कोइला खानीमा बिस्फोट हुँदा कम्तिमा ९० जनाको मृत्यु भएको सीसीटीभी न्युजले जनाएको छ । उत्तरी चीनको सान्छी प्रान्तस्थित चाङझी सहरको लिउसेन्यू कोइला खानीमा शुक्रबार स्थानीय समयअनुसार ७ बजेर २९ मिनेट जाँदा बिस्फोट भएको थियो ।
सरकारी सञ्चारमाध्यम चाइना डेलीका अनुसार उक्त समय २ सय ४७ जना कामदार खानीमा काम गरिरहेका थिए ।
सरकारले २ सय १ जना कामदारलाई सफलतापूर्वक उद्धार गरेको छ । सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार कोइला खानीभित्र कार्बन मोनोअक्साइडको मात्रा "निश्चित सीमाभन्दा बढी" देखिएको थियो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले बेपत्ता भएकाहरूको 'हरसम्भव उद्धार' का लागि निर्देशन दिएका थिए । उनले 'घटनाको कारणबारे गहन अनुसन्धान गर्न र कानुन बमोजिम दोषीलाई कारबाहीको दायरामा ल्याउन' समेत निर्देशन दिएका छन् ।
चीनको उद्धार एजेन्सीका अनुसार विष्फोटमा संलग्न कम्पनीका जिम्मेवार व्यक्तिहरूलाई सुरक्षा निकायले नियन्त्रणमा लिएको छ। बिस्फोटको कारणबारे अनुसन्धान भइरहेको छ ।
