के एउटै व्यक्ति बेरोजगार, अल्छी, जतिबेला पनि अनलाइन बसिरहने र गनगने हुन्छ ? यस्तै 'एलिजिबिलिटी' भएका व्यक्तिलाई लक्षित गरी भारतमा 'कक्रोच जनता पार्टी'(सीजेपी) खोलिएको छ ।
What you should know
काठमाडौँ — के एउटै व्यक्ति बेरोजगार, अल्छी, जतिबेला पनि अनलाइन बसिरहने र गनगने हुन्छ ? यस्तै 'एलिजिबिलिटी' भएका व्यक्तिलाई लक्षित गरी भारतमा 'कक्रोच जनता पार्टी'(सीजेपी) खोलिएको छ । यसलाई कतिपयले नयाँ राजनीतिक संगठनका रूपमा टिप्पणी गरिरहेका छन् भने कतिले व्यंग्यात्मक राजनीतिक प्रयोग ।
सीजेपी आफैंले भने यसलाई युवाका लागि 'युवाहरूद्वारा बनाइएको युवाहरूको राजनीतिक मञ्च' का रूपमा दाबी गरेको छ । केही दिनमा यस अभियानमा हजारौँ युवाहरू जोडिएका छन् । यस पार्टीका संस्थापक बोस्टन विश्वविद्यालयमा जनसम्पर्क पढिरहेका ३० वर्षीय विद्यार्थी अभिजीत दिपके हुन् ।
द हिन्दुका अनुसार उनी सन् २०२० देखि २०२३ सम्म आम आदमी पार्टी(आप) को सोसल मिडिया टिममा स्वयंसेवीका रूपमा कार्यरत थिए । एक्समा ४० हजार र इन्स्टाग्राममा ४ लाख २० हजारभन्दा बढी फलोअर जोडिइसकेका छन् । सीजेपीले आफ्नो पार्टीमा १ लाख सदस्य बनिसकेको दाबी गरेको छ । यति मात्र होइन, महुआ मोइत्रा र कीर्ति आजादजस्ता तृणमूल कांग्रेसका सांसदले पनि ठट्यौली शैलीमा पार्टीमा आबद्ध हुने बताएका थिए ।
सीजेपीले आफूलाई 'वर्तमान व्यवस्थाबाट निराश मानिसहरूको आवाज' भएको दाबी गरेको छ । महुआ मोइत्राले सीजेपीको पोस्ट सेयर गर्दै उनी पनि 'एन्टी-नेसनल पार्टी' को सदस्य बन्न चाहेको बताएकी थिइन् । साथै कीर्ति आजादले पनि पार्टीमा सहभागी हुन के-के योग्यता चाहिन्छ भनेर सोधेका थिए । यसमा सीजेपीले पनि जवाफ दिएको छ कि, '१९८३ को विश्वकप जित्नु नै काफी छ ।' भारतले १९८३ को विश्वकप जित्दा कपिलदेवको कप्तानीमा कीर्ति आजाद पनि टिम सदस्य रहेका थिए ।
त्यसो त पार्टीको नामलाई लिएर पनि विभिन्न टीकाटिप्पणी भइरहेका छन् । कतिपयले भारतीय प्रधानन्यायाधीश सूर्यकान्तको कथित अभिव्यक्तिमा आधारित रहेको पनि बताएका छन् । सूर्यकान्तले युवालक्षित यस्तै अभिव्यक्ति दिएका थिए । सूर्यकान्तले भनेका थिए, 'केही युवा कक्रोचजस्तै हुन्छ । जो जागिर पाउँदैनन्, उनीहरू मिडिया, सोसल मिडिया वा आरटीआई अभियन्ता बनेर सिस्टममाथि आक्रमण गर्छन् ।' पछि उनले आफ्नो भनाइ तोडमोड गरेर प्रस्तुत गरिएको समेत दाबी गरे ।
तर सीजेपीका संस्थापक अभिजीत दिपकेले यसलाई रमाइलो पारामै जवाफ फर्काएका छन् । उनले भनेका छन्, 'कक्रोच जनता पार्टीको संस्थापक भएको नाताले म यस स्पष्टीकरणको निन्दा गर्छु ।' सीजेपीले एआई-जेनेरेटेड एन्थम पनि जारी गरेको छ । जहाँ भनिएको छ, 'वि आर कक्रोच पार्टी, वि आर चिल्ड्रेन अफ अ बर्निङ सिटी ।' सीजेपीले भर्चुअल रूपमै पहिलो जेन-जी सम्मेलन गर्ने पनि बताएको छ ।
पछिल्लो समय भारतीय राजनीतिलाई तरंगित बनाइरहेको राष्ट्रिय योग्यता र प्रवेश परीक्षा( नीट) र सीबीएसईजस्ता परीक्षामा भएको पेपरलिक र गडबडीका बारेमा पनि सीजेपीले आवाज उठाएको छ ।
त्यसो त सीजेपीको पाँचबुँदे घोषणापत्र पनि सार्वजनिक भएको छ । सीजेपीको माग छ कि अवकाशपछि कुनै पनि प्रधानन्यायाधीशलाई राज्यसभा सिट दिइने छैन । भारतका ४६औं प्रधानन्यायाधीश रञ्जन गोगोई अवकाशको केही समयमै राज्यसभा सांसद बनेका थिए । १७ नोभेम्बर २०१९ मा प्रधानन्यायाधीशबाट अवकाश पाएका उनी १७ मार्च २०२० मै राज्यसभा सांसद बनेका थिए ।
त्यस्तै सीजेपीको अर्को घोषणा छ- यदि कुनै पनि वैध मतदातालाई मतदाता सूचीबाट हटाइए प्रमुख निर्वाचन आयुक्तमाथि यूएपीएक कानुनअन्तर्गत कारबाही हुनुपर्छ । संसद् र क्याबिनेटमा महिलालाई ५० प्रतिशत आरक्षण र प्रेस स्वतन्त्रताको ग्यारेन्टी पनि सीजेपीको घोषणापत्रमा उल्लेख छ । त्यस्तै दल बदल्ने सांसद र विधायकलाई २० वर्ष चुनाव लड्न नदिने व्यवस्था ल्याउने पनि उसको घोषणा छ ।
सीजेपीका संस्थापक अभिजीतले आफूहरूको आन्दोलन नेपाल र बंगलादेशका जेन-जीहरूको जस्तो नहुने बताएका छन् । आफूलाई नेपाल र बंगलादेशमा जस्तै आन्दोलन हुने हो भनेर पत्रकारहरूले सोधेको उनले बताएका छन् ।
उनले भनेका छन्, 'यसलाई म प्रस्ट पार्न चाहन्छु । यस्तो तुलना गरेर भारतका जेन-जीको अपमान नगर्नुहोला । यो देशका युवा धेरै परिपक्व, सचेत र राजनीतिक चेतना भएका छन् । उनीहरूलाई आफ्नो संवैधानिक अधिकार थाहा छ, लोकतान्त्रिक र शान्तिपूर्ण रूपमा असहमति राख्ने तौरतरिका पनि राम्रोसँग थाहा छ ।'
Many journalists have been asking me whether this GenZ movement will turn into what happened in Nepal or Bangladesh.
Let me make this absolutely clear. Do not insult or underestimate the GenZ of India by making such comparisons. The youth of this country are far more mature,…
