अमेरिकी राष्ट्रपति ट्रम्पले चीन भ्रमणका क्रममा दुई मुलुकबीचको सम्बन्ध सुधारका विषयमा सकारात्मक छलफल भएको र धेरै समस्याहरु समाधान भएको बताए पनि कुनै पनि सम्झौताको औपचारिक घोषणा भने भएन।
What you should know
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको तीनदिने भ्रमण सकेर शुक्रबार अमेरिका फर्किएका छन् । उनले आफ्नो भ्रमणका दौरान निकै राम्रो व्यापार सहमति भएको बताए । अमेरिकी कम्पनीका सीईओहरूसहितको टोली ट्रम्पसँगै बेइजिङ पुगेका थिए ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले दुई देशीय सम्बन्धमा यो भ्रमण ऐतिहासिक रहेको बताएका छन् । दुवै देशका राष्ट्रपतिले सम्बन्ध सुधारका विषयमा सकारात्मक छलफल भएको र धेरै समस्याहरू समाधान भएको बताए पनि औपचारिक रूपमा कुनै पनि सम्झौताबारे घोषणा भएन । दुई देशका राष्ट्रपतिबीचको भेटमा इरान युद्ध, ताइवानको सवाल, आपसी व्यापार, कृषि, एआई प्रविधिलगायत विषयमा छलफल भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ट्रम्पले चिनियाँ राष्ट्रपति सीलाई सेप्टेम्बरमा अमेरिका भ्रमणमा आउन निम्तो दिएका छन् । ट्रम्पले अमेरिकासँग चीनले २ सय वटा बोइङ जेट किन्ने सहमति भएको बताए । त्यस्तै, चीनले अर्बौं डलर बराबरको सोयाबिन किन्ने भएकाले अमेरिकी किसानहरू खुसी हुने उनले बताए ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ट्रम्प र सीबीच आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सुरक्षित र जिम्मेवार प्रयोगका लागि साझा ‘गार्डरेल’ (नियन्त्रण संयन्त्र) निर्माणबारे छलफल भएको जानकारी दिए । उनले विश्वका ‘दुई एआई महाशक्ति’ बीच संवाद सुरु हुनु महत्त्वपूर्ण भएको बताए ।
भेटवार्ताका क्रममा मध्यपूर्वको अवस्थाबारे पनि छलफल भएको अमेरिकी पक्षले जनाएको छ । ट्रम्पका अनुसार सीले इरानलाई सैन्य सहयोग उपलब्ध गराउने चीनको कुनै योजना नरहेको स्पष्ट पारेका थिए । साथै विश्व व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलमार्ग खुला राख्नुपर्ने पक्षमा चीन रहेको उनले उल्लेख गरे ।
चिनियाँ विदेश मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यमा ‘व्यापक र दिगो युद्धविराम’ को आवश्यकता आौंल्याउँदै अन्तर्राष्ट्रिय ढुवानी मार्गहरू यथाशीघ्र सामान्य अवस्थामा फर्काइनुपर्ने उल्लेख छ । यसअघि बिहीबार सी र ट्रम्पबीच द ग्रेट हल अफ द पिपुलमा भएको भेटवार्ताका दौरान सीले ताइवानको सवाल दुईपक्षीय सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण रहेको बताएका थिए ।
ट्रम्पले बेइजिङ छाड्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ताइवानबारे विस्तृतमा छलफल भए पनि आफूले कुनै अन्तिम निर्णय नगरेको बताए । उनले नयाँ अमेरिकी हतियार प्याकेजबारे निर्णय पछि गर्ने बताए । उनले भने, ‘हामी ९ हजार ५ सय माइल टाढा गएर युद्ध लड्न चाहँदैनौं । म तनाव कम होस् भन्ने चाहन्छु । चीन पनि शान्त रहोस् भन्ने चाहन्छु ।’
ट्रम्पका अनुसार सी चिनफिङ ताइवानको विषयमा ‘धेरै संवेदनशील’ छन् र ‘स्वतन्त्रताको आन्दोलन देख्न चाहँदैनन्’ । ताइवानका कारण चीनसँग युद्ध हुने सम्भावना देख्नुहुन्छ भन्ने प्रश्नमा ट्रम्पले भने, ‘म त्यस्तो सोच्दिनँ । सबै ठीक हुनेछ । सी युद्ध चाहँदैनन् ।’
चीनका राष्ट्रपति सी चिनफिङले ताइवानलाई ‘चीन–अमेरिका सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण मुद्दा’ भएको बताएका थिए । उनले ताइवानको विषय गलत ढंगले सम्हालिए दुई देशबीच टकराव हुन सक्ने चेतावनीसमेत दिएका थिए । त्यसको केही समयमा ट्रम्पका तर्फबाट त्यस्तो धारणा आएको हो । ‘ताइवानको विषय चीन–अमेरिका सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण छ । यसलाई राम्रोसँग लैजान सकियो भने दुईपक्षीय सम्बन्ध स्थिर हुनेछ । अन्यथा, दुई देशबीच टकराव र द्वन्द्व पनि निम्तिन सक्छ, जसले समग्र सम्बन्धमै जोखिम उत्पन्न गराउनेछ,’ सीको भनाइ उद्धृत गर्दै चिनियाँ विदेश मन्त्रालयले भनेको थियो ।
दुई राष्ट्रपतिबीचको भेटमा कम्तीमा तीन वर्षका लागि रचनात्मक रणनीतिक स्थिरताको फ्रेमवर्कमा अघि बढ्ने सहमति भए पनि त्यसको औपचारिक घोषणा भने भएन ।
अर्थशास्त्री पोषराज पाण्डेले यस भ्रमणमा अमेरिकासँग चीन निकै आत्मविश्वासका साथ प्रस्तुत भएको देखिएको बताए । ‘सन् २०१७ मा ट्रम्प चीन जाँदा उनी निकै बलियो परिस्थितिमा थिए । अहिले त्यसविपरीत सी बलियो तरिकाले प्रस्तुत भएजस्तो देखिन्छ । ताइवानको सवालमा उनले निकै बलियोसँग आफ्ना कुरा राखे,’ पाण्डेले भने, ‘विश्वको दृष्टिकोण निर्माण गर्दा बेइजिङको पक्षबाट पनि हेरिनुपर्छ भन्ने सन्देश उनको प्रस्तुतिले दिएको छ । इन्डो प्यासिफिक क्षेत्रमा चीन हाबी हुने संकेत यसले गर्छ । यसले भूराजनीतिक अवस्था बदल्न सक्छ र विश्वभर त्यसको प्रभाव रहनेछ । छिमेकी देश भएकाले नेपालमा पनि प्रभाव पर्न सक्छ । ट्रम्पले लिएर गएको व्यवसायीहरूको जुन टिम छ । त्यसलाई हेर्दा व्यापारिक सम्बन्ध र लगानीलाई दुवै देशले प्राथमिकतामा राखेको देखिन्छ ।’
परराष्ट्र मामिलाका जानकार रूपक सापकोटाले दुई देशबीचको स्थिर सम्बन्ध बाँकी विश्व र नेपालका लागि महत्त्वपूर्ण रहेको बताए । ‘दुई देशबीच प्रतिद्वन्द्विता प्रकट हुँदा विश्वका धेरै देशको परराष्ट्र सम्बन्धमा दबाब पैदा भएको देखिन्छ,’ उनले भने, ‘हामी भूराजनीतिक अवस्थितिमा छौं । कुनै एक शक्तिलाई छनोट गरेर त्यसलाई मात्रै साझेदार बनाएर अघि बढ्न सक्ने अवस्था छैन । छिमेकी चीन, अर्को निकटतम् छिमेकी भारत र शक्ति राष्ट्र अमेरिकासँग प्राथमिकताका आधारमा सन्तुलित र पारस्परिक हितमा आधारित सम्बन्ध बनाउनुपर्ने हाम्रो परराष्ट्र नीतिको अभिभारा छ । तसर्थ, विश्वका दुई ठूला शक्तिबीचको सहकार्य र सम्बन्ध सुधारले कुनै न कुनै रूपमा हाम्रो परराष्ट्र मामिलामा पनि सकारात्मक प्रभाव पार्छ ।’
साझेदारी र रणनीतिक सहयोग सुदृढ बनाउन छलफल गरिने
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि चीन भ्रमणमा जाने भएका छन् । पुटिनले १९–२० मेमा चीन भ्रमण गर्ने क्रेमलिनले जनाएको छ ।
भ्रमणका क्रममा पुटिनले चिनियाँ समकक्षी सी चिनफिङसँग भेट्ने र त्यसक्रममा मस्को र बेइजिङबीचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्ने विषयमा छलफल हुने क्रेमलिनले विज्ञप्तिमार्फत जनाएको छ । पुटिनले चिनियाँ प्रधानमन्त्री ली चियाङसँग आर्थिक तथा व्यापारिक सहयोगबारे छलफल गर्ने कार्यक्रम भएको जनाइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणबाट शुक्रबार फर्केलगत्तै पुटिनको भ्रमणको घोषणा भएको हो ।
भ्रमणले युक्रेन–रुस द्वन्द्वलगायत व्यापार र भूराजनीतिक तनाव कम गर्न भूमिका खेल्ने अपेक्षा गरिएको छ । चीनले युद्ध अन्त्य गर्न नियमित रूपमा वार्ताको आह्वान गर्दै आफूलाई तटस्थ पक्षका रूपमा प्रस्तुत गरेको जनाएको छ ।
बेइजिङले मस्कोलाई रक्षा उद्योगका लागि हतियार र सैन्य सामग्रीहरू प्रदान गरेको कुरा अस्वीकार गर्दै पश्चिमी देशहरूलाई युक्रेनलाई हतियार दिएर द्वन्द्व लामो बनाएको आरोप लगाएको छ ।
द्वन्द्वको विषयलाई लिएर रुसमाथि लगाएको आर्थिक प्रतिबन्धका बीच जीवाश्म इन्धनको प्रमुख खरिदकर्ताका रूपमा चीन मस्कोको मुख्य आर्थिक साझेदार बनेको जनाइएको छ ।
