ट्रम्पले आफूहरूले ‘अरू कसैले समाधान गर्न नसक्ने धेरै फरक समस्या समाधान गरेको’ बताए।
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षीसँगको दुवै भेटमा व्यापार, इरान र ‘धेरै अन्य विषय’ मा छलफल भएको बताएका छन्।
दुई दिने भ्रमणका लागि चीनको बेइजिङ पुगेका उनले शुक्रबार बिहान दोस्रो पटक चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरेका थिए। उक्त भेटपछि झोङनानहाइस्थित एक कक्षमा दुवै नेताले सञ्चारकर्मीहरूसँग कुराकानी गरेका छन्।
कुराकानीका क्रममा ट्रम्पले आफूहरूले ‘अरू कसैले समाधान गर्न नसक्ने धेरै फरक समस्या समाधान गरेको’ बताए।
इरानबारे बोल्दै उनले ‘हामी उनीहरूसँग आणविक हतियार नहोस् भन्ने चाहन्छौं’ र ‘हामी हर्मुज जलमार्ग खुला रहोस् भन्ने चाहन्छौं’ भनेका थिए।
त्यसपछि उनले सीलाई धन्यवाद दिँदै बेइजिङमा उपस्थित हुन पाउँदा सम्मानित महसुस भएको बताए।
उनले आगामी २४ सेप्टेम्बरमा सीले अमेरिका भ्रमण गर्दा पुनः भेट हुने जानकारी दिँदै आफू चीनबाट प्रभावित भएजस्तै सी पनि अमेरिकाबाट प्रभावित हुने आशा व्यक्त गरे।
ट्रम्पले आफ्नो दुई दिने भ्रमण पूरा गरेर आजै अमेरिका फर्किनेछन्।
