ब्रिक्स बैठकमा यूएई र इरानका विदेशमन्त्रीबीच नोकझोँक

युद्धमा यूएई पनि सहभागी भएको भन्दै त्यसको चर्को मूल्य चुकाउनुपर्ने इरानले चेतावनी दिएकाे छ।

जेष्ठ १, २०८३

कान्तिपुर संवाददाता

UAE and Iranian foreign ministers clash at BRICS meeting

What you should know

नयाँ दिल्ली — इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले बिहीबार नयाँ दिल्लीमा आयोजित ब्रिक्स देशहरुका विदेशमन्त्रीहरुको बैठकमा यूएईलाई आफ्नो देशविरुद्ध सैन्य अभियानमा सिधा सहभागी भएको आरोप लगाएका छन् ।

एक दिनअघि बुधबार मात्र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानसँग युद्ध चलिरहेकै बेला गोप्य रुपममा यूएईको भ्रमण गरेको इजरायलले दाबी गरेको थियो । 

यूएईले भने इजरायलको यो दाबीलाई खारेज गरिसकेको छ । इजरायल–यूएईबीच गोप्य भ्रमणलाई लिएर दाबी अस्वीकारको स्पष्टीकरण चलिरहेका बेला इरानका विदेशमन्त्री अराघची ब्रिक्स बैठकका लागि दिल्लीमा थिए । बैठकमा अराघचीले इजरायलसँगको यो मिलेमतोको जवाफ यूएईले पाउने चेतावनीसमेत दिए । 

यूएई र इरान दुवै देश ब्रिक्सका सदस्य हुन् । दुवै देशका प्रतिनिधिबीच नयाँ दिल्लीमा भएको बैठकमा भनाभन भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । यता इरानको सरकारी मिडियाका अनुसार अराघचीले बिहीबार यूएईका प्रतिनधिको टिप्पणीको जवाफमा भनेका छन्, ‘मैले ब्रिक्समा एकता बनाइराख्नका लागि आफ्नो बयानमा यूएईको नाम लिइनँ । तर वास्तविकता यो हो कि इरानविरुद्धको युद्धमा यूएई सहभागी थियो । जब इरानमा आक्रमण सुरु भयो, त्यसबेला यूएईले निन्दासमेत गरेन ।’

भारतस्थित इरानी दूतावासले आधिकारिक एक्स अकाउन्टमा बैठकमा भएको नोकझोँकबारे जानकारी दिएको छ । दूतावासले भनेको छ, ‘ब्रिक्स देशका विदेशमन्त्रीको बैठकको दोस्रो सत्रमा इरानका कानुन तथा अन्तर्राष्ट्रिय मामलाका उप–विदेशमन्त्री डा. काजेम गरीबाबादीले यूएईका विदेशराज्यमन्त्रीको आरोपमा कडा जवाफ दिनुभयो ।’

काजेम गरीबाबादीले यूएईले इरानविरुद्धको सैन्य आक्रमणको समर्थन र सुविधा दिने कार्यमा महत्त्वपूर्ण भूमिका निभाएको आरोप लगाए । सोही कारण पनि तनाव तनाव बढेको उनको भनाइ थियो । उनले अघि भनेका छन्, ‘इरानविरुरुद्ध यूएईलाई राजनीतिक आरोप लगाउने वा दाबी गर्ने कुनै नैतिक तथा कानुनी अधिकार छैन । हामी एक शक्तिशाली र महान देश हौं । हामी आक्रमणकारीहरुले हाम्रा जनताहरुलाई निशाना बनाइरहेको हेरेर बस्न सक्दैनौं । अझ विशेषगरी हाम्रो छिमेकीमध्ये एक यूएई नै यसमा सहभागी हुँदा सहन सक्दैनौं ।’

उनले आफूहरुसँग यूएईमा अमेरिकी सैन्य क्षेत्रमा आक्रमण गर्नुको विकल्प नभएको पनि बताएका छन् । उनले अघि भनेका छन्, ‘यो एक युद्ध थियो, त्यहाँ हामीले आफ्नो देशको रक्षा गर्‍यौं । यूएई पनि एक आक्रमणकारी हो । तपाईं झुटो र आधारहीन आरोप लगाएर लुक्न सक्नुहुन्न । अन्तर्राष्ट्रिय कानुनअन्तर्गत जवाफदेहीता निभाउने जिम्मेवारी यूएईको हो ।’

गत २८ फेब्रुअरीमा अमेरिका–इजरायलले इरानमा आक्रमण सुरु गरेका थिए । कैयौं सातासम्म युद्ध चल्यो । त्यसको जवाफमा इरानले पनि खाडीमा रहेका अमेरिकी सैन्य क्षेत्रहरुमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो । अमेरिकाको अखबार वाल स्ट्रीट जर्नलमा सोमबार प्रकाशित एक रिपोर्टमा यूएईले अप्रिलको सुरुवातमा इरानविरुद्ध सैन्य अभियान चलाएको दाबी गरिएको छ । 

पश्चिमी र इरानी अधिकारीहरुका अनुसार साउदी अरेबियाले पनि इरानविरुद्ध कैयौं आक्रमण गरेको थियो । जो सार्वजनिक गरिएको छैन । इरानी मिडियाका अनुसार भारतमा आयोजित ब्रिक्स देशका विदेशमन्त्रीहरुको बैठकमा इरान–यूएईका प्रतिनिधबीच भएको नोकझोँकका कारण कुनै साझा वक्तव्य जारी हुने सम्भावना न्यून रहेको आशंका गरेका छन् । 

इरान–यूएईबीचको तनावकै बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार यूएई पुग्नेछन् । शुक्रबार अबुधाबीमा प्रधानमन्त्री मोदी संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । गत जनवरीमा भारतले यूएईसँग एक सम्झौता गरेको थियो ।

३ अर्ब अमेरिकी डलरको यस सम्झौताअन्तर्गत यूएईको एडीनओसी ग्यास २०२८ देखि १० वर्षसम्म हरेक वर्ष ०.५ मिलियन टनका दरले एजएनजी भारतको सरकारी कम्पनी हिन्दुस्तान पेट्रोलियम कर्पोरेशनलाई आपूर्ति गर्नेछ । 

अर्कोतर्फ बिहीबार ओमानको खाडीमा भारतीय जहाजमा आक्रमण भएको छ । भारतले यस घटनालाई अस्वीकार्य बताएको छ । शिपिङ मन्त्रालयका अतिरिक्त सचिव मुकेश मंगलले नयाँ दिल्लीमा पत्रकारहरुसँग कुरा गर्दै म्याकेनाइज्ड सेलिङ भेसल हाजी अली सोमालियाबाट शारजाह जाँदै गरेकाबेला आक्रमण भएको बताएका छन् । १४ चालक दलका सदस्यलाई ओमान कोस्ट गार्डले सुरक्षित बताएको थियाे । यो आक्रमण कसले र कहाँबाट गरेको हो भन्ने जानकारी भन्ने खुलेकाे छैन।

आफ्ना प्रधानमन्त्रीले यूएईमा गोप्य भ्रमण गरेको इजरायली दाबीपछि इरान आक्रमक बनेको छ । पहिलेदेखि नै इजरायलसँग यूएई पनि सहभागी भएको दाबी इरानले झन् जोडतोडका साथ उठाउन थालेको छ ।

राजनीतिक विश्लेषकहरुले अनुसार यूएईले स्पष्ट रुपमा उक्त भ्रमण स्वीकार गर्न नचाहेका बेला इजरायलको दाबीले यूएईलाई थप तनावमा पार्नसक्ने बताएका छन् ।

कान्तिपुर

Link copied successfully