सी–ट्रम्प वार्तामा के भयो ?

सीले अमेरिका–चीन सम्बन्धमा सिर्जनात्मक र स्थिर सम्बन्धको नयाँ युग सुरु भएको बताएका छन् ।

वैशाख ३१, २०८३

एजेन्सी

What happened in the Xi-Trump talks?

बेइजिङ — चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच बेइजिङमा द ग्रेट हल अफ द पिपलमा भेटवार्ता भएको छ ।

दुई नेताहरुबीच आगामी तीन वर्ष र त्यसपछिका लागि ‘सिर्जनात्मक रणनीतिक स्थिर सम्बन्ध’ कायम गर्ने सहमति भएको राष्ट्रपति सीलाई उद्रृत गर्दै  चीनको विदेश मन्त्रालयले जनाएको छ । 

उनले अमेरिका–चीन सम्बन्धमा सिर्जनात्मक र स्थिर सम्बन्धको नयाँ युग सुरु भएको बताएका छन् । 

चिनियाँ समाचार एजेन्सी सिनुवाले ट्रम्पले सीको तारिफ गर्दै उनलाई पटक–पटक ‘महान् नेता’ भनेको उल्लेख गरेको छ ।

ट्रम्पले चीन र यसका नेताप्रति सम्मान प्रकट गर्दै अमेरिकाले आफ्नो प्रतिनिधिमण्डललमा  प्रतिष्ठित व्यवसायीहरुलाई संलग्न गराएको पनि बताएका छन् ।

‘उनीहरु व्यापार गर्नका लागि तत्पर छन्,’ ट्रम्पको भनाई उद्रृत गर्दै सिनुवाले लेखेको छ,‘यहाँ त्यस्ता मानिस पनि छन् । जसले यो सम्मेलन सबैभन्दा ठूलो हुनसक्ने बताएका छन् । चीनको साथी हुन पाउनु सम्मानको विषय हो र चीन–अमेरिका सम्बन्ध पहिलेभन्दा राम्रो हुनेछ ।’

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले विज्ञप्ति जारी गर्दै राष्ट्रपति सीसँग राम्रो संवाद भएको जनाएको छ ।

‘दुई पक्षले आर्थिक सहकार्य बढाउने, चीनमा अमेरिकी व्यापारलाई बिस्तार गर्ने तथा अमेरिकी उद्योगमा चिनियाँ लगानी बढाउने विषयमा छलफल गरेका छन्,’ ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ,‘ हर्मुज जलमार्ग खुला हुनुपर्छ र ऊर्जाको निर्वाध आपुर्ति हुनुपर्छ भन्नेमा दुबै पक्ष सहमत छन् ।’

एजेन्सी

Link copied successfully