चीन भ्रमणमा जाँदै ट्रम्प, केन्द्रमा इरान युद्ध

भ्रमणका क्रममा दुईपक्षीय व्यापार र प्रविधिको विषय प्राथमिकतामा रहनेछ ।

वैशाख ३०, २०८३

एजेन्सी

Trump on China visit, Iran war at center

What you should know

वासिङ्टन — पश्चिम एसिया तनावबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प चीन भ्रमणमा जाँदै छन् । चीनमार्फत दबाब सिर्जना गरेर इरानलाई आफ्ना सर्तहरू मान्न बाध्य बनाउन सकिने योजनाका साथ ट्रम्प बेइजिङ ओर्लन लागेका हुन् । 

चिनियाँ राष्ट्रपति सी चिनफिङले बेइजिङमा ट्रम्पको आतिथ्यता गर्दा यिनै विषयमा बहस हुने आकलन गरिएको छ । शिखर सम्मेलनमा आपसी हित तथा दुईपक्षीय सम्बन्ध सुधारको मुद्दा ओझेलमा नपरोस् भन्नेमा पनि दुवै देशका अधिकारी सचेत देखिन्छन् ।

ह्वाइट हाउसकी सहायक प्रेस सेक्रेटरी अन्ना केलीका अनुसार ट्रम्प बुधबार बेइजिङ पुग्नेछन्, बिहीबार सीसँग भेट्नेछन् र शुक्रबार अमेरिका फर्कनेछन् । भ्रमणका क्रममा दुईपक्षीय व्यापार र प्रविधिको विषय प्राथमिकतामा रहनेछ । त्यसबारे छलफलका लागि ट्रम्पसँगै एलन मस्क र टिम कुकसहित १६ वटा ठूला कम्पनीका कार्यकारी सञ्चालकहरू बेइजिङमा हुनेछन् । 

अमेरिकी उच्च अधिकारीहरूका अनुसार ट्रम्प भ्रमणका क्रममा इरान युद्धको विषय नै केन्द्रमा रहनेछ । चीन इरानी कच्चा तेलको सबैभन्दा ठूलो खरिदकर्ता तथा इरानको रणनीतिक साझेदार हो । अमेरिका–इजरायलले इरानविरुद्ध करिब साढे दुई महिनादेखि जारी राखेको युद्ध तत्कालका लागि रोकिएको भए पनि स्थायी अन्त्य भने भइसकेको छैन । युद्धविरामकै अवधिमा पनि दुई पक्षले एकअर्कामाथि निसाना साधिरहेका छन् । 

दुवै पक्षबीच ११ र १२ अप्रिलमा इस्लामाबादमा प्रत्यक्ष वार्ता भएको थियो । त्यसपछि पनि पाकिस्तानको मध्यस्थतामा अप्रत्यक्ष वार्ताको प्रयास जारी छ । यसैबीच इरानले युद्ध अन्त्यका लागि १४ बुँदे प्रस्ताव अघि सारेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको प्रस्ताव अस्वीकार्य रहेको बताएका छन् । अमेरिकाले चीनमार्फत दबाब दिएर इरानलाई आफ्ना सर्तहरूमा झुकाउन सकिने अपेक्षा गरेको छ । तर, कूटनीतिक संवादमार्फत युद्ध अन्त्यका लागि जोड दिएको चीनले प्रत्यक्ष रूपमा संलग्न हुन भने आनाकानी गर्दै आएको छ । चीनको भूमिकालाई लिएर ट्रम्पको बुझाइ पनि प्रस्ट छैन । गत महिना इस्लामाबादमा वार्ता प्रयास विफल भएपछि इरानलाई फेरि वार्तामा फर्काउन चीनले भूमिका खेलेको ट्रम्पले स्विकारेका छन् । तर, वार्तामा पर्याप्त भूमिका खेल्न नसकेको भन्दै ट्रम्पले आलोचना पनि गर्दै आएका छन् । 

मध्यपूर्वमा चीनको प्रभावबारे जानकार लन्डनस्थित ‘च्याटम हाउज’ थिंक ट्यांकका विशेषज्ञ अहमद अबुदौहले कूटनीतिक संवादका लागि चीनले दुवै पक्षलाई दबाब दिइरहेको बताए । ‘उनीहरूले हर्मुज जलमार्ग बन्द गरेको भन्दै इरानसँग र इरानी जहाजहरूमाथि नाकाबन्दी गरेको भन्दै अमेरिकासँग निरन्तर असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरू धेरै सतर्क छन्, जोखिम मोल्न चाहँदैनन् र आफूलाई समस्या नठान्ने कुनै पनि कुरामा प्रत्यक्ष मुछिन चाहँदैनन्,’ उनले भने । अमेरिका–इरानबीच युद्ध अन्त्यका लागि पाकिस्तानले गरिरहेको मध्यस्थतामा चीन प्रत्यक्ष नदेखिए पनि पर्दा पछाडि बसेर सघाइरहेको विश्लेषणहरूको भनाइ छ । 

केही दिनअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अर्थमन्त्री स्कट बेसेन्टले हर्मुज पुनः खोल्नका लागि इरानमाथि दबाब सिर्जना गर्न चीनसँग आग्रह गरेका थिए । युद्धअघि हर्मुज हुँदै विश्वको २० प्रतिशत कच्चा तेल आपूर्ति भइरहेको थियो । युद्धका कारण आपूर्ति अवरुद्ध हुँदा विश्वव्यापी रूपमै ऊर्जा संकट निम्त्याएको छ । ट्रम्पको भ्रमणले इरान युद्धलाई हेर्ने चीनको अडान परिवर्तन हुनेमा ह्वाइटहाउस ढुक्क भने छैन । बरु, ट्रम्प प्रशासनले फेन्टानलको निर्यात रोक्नका लागि चिनियाँ सहयोग, आर्थिक सम्बन्ध सुधारलगायत विषयलाई प्राथमिकतामा राखेको छ । इरान युद्धले यी प्राथमिकताहरू ओझेलमा नपरोस् भन्नेमा पनि ट्रम्प प्रशासन सतर्क छ । 

‘हामी चाहँदैनौं कि युद्धले हाम्रो बृहत्तर सम्बन्ध वा बेइजिङसँगको सहमतिबाट निस्कन सक्ने सम्झौताहरूलाई बिथोलोस्,’ अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले गत साता ब्लुमबर्ग टीभीमा भनेका थिए । 

अमेरिकी प्रशासनले ट्रम्पको भ्रमणअघि चीनमाथि प्रतिबन्धहरूसमेत लगाएको छ । अमेरिकी विदेश मन्त्रालयले इरानलाई स्याटेलाइट इमेजरी उपलब्ध गराएको भन्दै चार वटा कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो । जसमा तीन वटा चिनियाँ कम्पनी छन् । यसअघि, अमेरिकी अर्थ मन्त्रालयले तेहरानबाट तेल खरिद गरेको आरोपमा चिनियाँ तेल प्रशोधन केन्द्रहरू र तेल ढुवानी गर्नेहरूलाई प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धले कम्पनीहरूलाई अमेरिकी वित्तीय प्रणालीबाट अलग गर्छन् र उनीहरूसँग व्यापार गर्ने जो कोहीलाई दण्डित गर्छन् । ‘इरान विश्वको आतंकवादको सबैभन्दा ठूलो प्रायोजक हो र चीनले उनीहरूको ९० प्रतिशत ऊर्जा खरिद गरिरहेको छ । यसरी उनीहरूले आतंकवादको सबैभन्दा ठूलो प्रायोजक राज्यलाई लगानी गरिरहेका छन्,’ गत साता अमेरिकी अर्थतन्त्र स्कट बेस्सेन्टले फक्स न्युजसँग भनेका थिए । बेइजिङले यी प्रतिबन्धहरूलाई ‘अवैध एकतर्फी दबाब’ भनेको छ । 

ट्रम्पको आगमनअघि चिनियाँ विदेशमन्त्री वाङ यीले गत साता बेइजिङमा इरानी समकक्षी अब्बास अराग्चीलाई स्वागत गरेका थिए । यीले भेटमा ऊर्जा प्रयोजनका लागि आणविक कार्यक्रम सञ्चालन गर्न पाउने इरानको अधिकार सुनिश्चित हुनुपर्ने बताएका थिए । सीले युद्धलाई लिएर अमेरिकाको आलोचना पनि गरेका छन् । उनले अन्तर्राष्ट्रिय रूपमै स्थापित विधिको अवमूल्यन गर्न वा छनोट गरेर लागू गर्न नमिल्ने उनको भनाइ थियो । ‘संसारलाई फेरि जंगली कानुनतर्फ फर्कन दिन हुँदैन,’ उनले भनेका थिए । 

ट्रम्पले सोमबार इरानलाई लिएर चीनसँग कायम रहेका मतभेदलाई बेवास्ता गरेका छन् । ‘सी हर्मुज जलमार्ग पुनः खुलेको हेर्न चाहन्छन्,’ ट्रम्पले भने । विश्लेषकहरूका अनुसार ट्रम्पजस्तै सी पनि इरानबारेको मतभेदले अमेरिकासँगको सम्बन्धका आयामहरू बिथोल्न नहुने पक्षमा छन् । अमेरिकासँगको सम्बन्ध बिग्रँदा चिनियाँ अर्थतन्त्रमा धेरै चुनौतीहरू देखिन सक्छन् । ‘अमेरिकासँग नझुकी निरन्तरको स्थिरता कायम राख्नु नै सीका लागि जित हो,’ फाउन्डेसन फर डिफेन्स अफ डेमोक्रेसिजअन्तर्गत चीन कार्यक्रमका वरिष्ठ निर्देशक क्रेग सिंगल्टनले भने, ‘उनी यो शिखर सम्मेलनले चीनको महाशक्ति स्थितिलाई मान्यता देओस् भन्ने चाहन्छन् । त्यस्तै अमेरिकाले बेइजिङलाई उसकै नजरले हेरोस् भन्ने पनि चाहन्छन् ।’

चीनले लामो समयदेखि इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रमलाई समर्थन गर्दै आएको अमेरिकी सरकारको आरोप छ । गत महिना बेइजिङले इरानलाई नयाँ हवाई रक्षा प्रणाली आपूर्ति गर्ने तयारी गरिरहेका रिपोर्टहरू सार्वजनिक भएपछि ट्रम्पले चीनमाथि ५० प्रतिशत भन्सार महसुल लगाउने धम्की दिएका थिए । तर, पछि आफ्नो धम्कीबाट ट्रम्प पछाडि हटे । यो निर्णयलार्ई पुष्टि गर्न ट्रम्पले सीबाट इरानलाई हतियार उपलब्ध नगराउने लिखित आश्वासन प्राप्त भएको दाबी गरेका थिए । 

पछि ट्रम्पले अमेरिकी जलसेनाले इरानका लागि चिनियाँ उपहार बोकेको जहाजलाई गल्फ अफ ओमानबाटै फर्काइएको खुलासा गरेका थिए । जहाज इरानको बन्दर अब्बास बन्दरगाहतर्फ जाँदै थियो । तर, ट्रम्पले यसबारे थप स्पष्टीकरण दिएका छैनन् । ‘केही त्यस्ता क्षणहरू आएका थिए । जब विवाद थप चर्किने देखिएको थियो,’ ब्रुकिङ्स इन्स्टिच्युटको चीन परियोजनाकी सहप्रमुख पेट्रिसिया किमले भनिन्, ‘तर, मलाई लाग्छ, दुवै पक्ष बृहत्तर सम्बन्धलाई अस्थिर हुन नदिन निकै सचेत देखिन्छन् ।’ 

ट्रम्प र अमेरिकी अधिकारीहरूले इरान द्वन्द्व र हर्मुजको अवरोधले अमेरिकाको दाँजोमा चीन र एसिया–प्रशान्त क्षेत्रका देशहरू बढी प्रभावित भएको बताउँदै आएका छन् । ‘चीन निर्यातमा आधारित अर्थतन्त्र हो । यसको अर्थ उनीहरू अन्य देशले आफूसँग सामान खरिद गरून् भन्ने चाहन्छन्,’ अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गत साता पत्रकारहरूसँग भनेका थिए, ‘इरानले जलमार्गको आवागमन सुचारु गर्न दिनु नै चीनको हितमा छ । यदि तपाईं सामान पठाउनै सक्नु हुन्न भने कसैले तपाईंसँग किन्न सक्दैन ।’ 

चीनले भने जारी द्वन्द्वमा संलग्न हुन खासै रुचि देखाएको छैन । ‘चिनियाँहरूलाई संलग्न गराउन गाह्रो हुनेछ,’ बाइडेन प्रशासनका पूर्वउपविदेशमन्त्री तथा ‘द एसिया ग्रुप’ का अध्यक्ष कर्ट क्याम्पबेलले भने, ‘उनीहरू सतर्क रहन चाहन्छन् किन भने अरूले जस्तै उनीहरूले पनि यसमा राजनीतिक जोखिम देखेका छन् ।’ गत वर्ष अक्टोबरमा व्यापार युद्ध चलिरहेका बेला सी र ट्रम्पबीच दक्षिण कोरियामा भेट भएको थियो । त्यतिबेला अमेरिकाले चिनियाँ सामग्रीहरूमाथि १४५ प्रतिशत भन्सार लगाएको थियो । जवाफमा चीनले पनि दुर्लभ खनिज धातुको निर्यातमा लगाइएको नियन्त्रण थप कडा बनाएको थियो । कोरियामा भएको भेटले व्यापार युद्धमा विराम लगाएको थियो ।

एजेन्सी

Link copied successfully