इजरायल र लेबनानबीच अप्रिल –१७ मा युद्धविराम भएको भए पनि इजरायलले दक्षिण लेबनानमा आफ्नो आक्रमण जारी राखेको छ ।
काठमाडौँ — युद्धविराम सम्झौताको बाबजुद दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा ६ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको त्यहाँको सरकारी मिडियाले जनाएको छ ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) का अनुसार सोमबार राति इजरायली सेनाले राजधानी बेरुतबाट ९५ किलोमिटर टाढाको सहर कफर डोनिनस्थित घरमा आक्रमण गर्दा ६ जनाको मृत्यु भएको हो ।
घाइतेहरूलाई उपचारको लागि तटीय सहर टायरको अस्पतालमा लगिएको एनएनएले जनाएको छ । इजरायल र लेबनानबीच अप्रिल –१७ मा युद्धविराम भएको भए पनि इजरायलले दक्षिण लेबनानमा आफ्नो आक्रमण जारी राखेको छ ।
स्वास्थ्य अधिकारीहरूका अनुसार लेबनान गत मार्च –२ मा मध्यपूर्व युद्धमा तानिएपछि दुइ हजार ८०० भन्दा बढी मानिस मारिएका छन् ।
लेबनानी नेताहरूले अमेरिकामार्फत इजरायललाई युद्धविरामको समयमा आक्रमण रोक्नका लागि दबाब दिइरहेका छन् । तर इजरायलले आक्रमण बन्द गरेको छैन ।
लेबनानसँगको सीमा नजिकैको लडाइँमा आफ्नो एक जना सैनिक मारिएको उल्लेख गर्दै युद्ध सुरु भए देखि १८ जना सैनिक र एक जना नागरिकको मृत्यु भएको बताएको छ ।
यसैबीच मङ्गलबार एनएनएले अन्य दक्षिणी लेबनानी सहरहरूमा पनि नजिकै इजरायली आक्रमण भएको रिपोर्ट गरेको छ, भने इजरायली सेनाले पूर्वी लेबनानको बेका उपत्यकाको सोहमोर सहर खाली गर्न आदेश दिएको छ ।
