अमेरिकामा गोलीकाण्ड : २०२४ मा ४४ हजारले ज्यान गुमाए 

पछिल्लो पटक तीन साताअघि लुइजियाना राज्यको श्रीभपोर्ट सहरमा एक बुबाले आफ्ना सात जना छोराछोरीको गोली प्रहार गरेर हत्या गरेका थिए ।

वैशाख २७, २०८३

सुदीप शिवाकोटी

Shootings in America: 44,000 people lost their lives in 2024

अमेरिका — अमेरिकाको ५० वटै राज्यमा व्यक्तिगत सुरक्षाको नियमानुसार प्रत्येक व्यक्तिले सामान्य कानुनी प्रक्रिया पूरा गरेर आफ्नो साथमा बन्दुक राख्न पाउँछन् । यसैकारण पनि अमेरिकामा प्रायः दैनिक कुनै न कुनै स्थानमा गोलीकाण्डको घटना बाहिरिने गरेको छ ।  

बन्दुक साथमा राख्नुलाई सामान्य मानिने अमेरिकामा घर झगडा, आपसी विवाद, रिसराग, आत्महत्या, व्यक्तिगत भीडन्त, सुरक्षाकर्मीसँग भीडन्त, दुर्घटनावश, प्रहरी कारबाही र सामूहिक गोलीकाण्ड हुने गरेको विभिन्न अध्ययनले बताएको छ । अमेरिकी अध्ययन संस्था पिउ रिसर्च सेन्टरको अध्ययनअनुसार सन् २०२४ मा मात्र विभिन्न स्थानमा भएको गोलीकाण्डमा ४४ हजार ४ चार ४७ ले ज्यान गुमाएका थिए । 

अमेरिकी सरकारी निकाय यूएस सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)को तथ्यांकलाई आधार मान्दै पिउले तयार पारेको अध्ययनले २०२४ मा गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या सन् १९६८ पछिकै सबैभन्दा बढी रहेको देखाएको छ । तथ्यांकअनुसार सन् २०२३ मा ४६ हजार ७ सय २८, २०२२ मा ४८ हजार २ सय ४ र २०२१ मा ४८ हजार ८ सय ३० जनाले गोलीकाण्डका कारण ज्यान गुमाएका थिए । हालसम्म २०२५ को आधिकारिक तथ्यांक सार्वजनिक गरिएको छैन । 

Shootings in America: 44,000 people lost their lives in 2024

२०२४ मा भएका गोलीकाण्डमा मृत्यु भएका ४४ हजार ४ सय ४७ मध्ये सबैभन्दा बढी ६२ प्रतिशत (२७ हजार ५ सय ९३) आत्महत्या, ३५ प्रतिशत (१५ हजार ३ सय ६४) हत्या, कानुन प्रवर्तनसँग सम्बन्धित ६ सय ३६, दुर्घटनावश ४ सय ५० र अन्जान परिस्थितिमा ४ सय ४ जना रहेको पीयूको तथ्यांक छ । सन् २०२४ मा गरिएको अध्ययनअनुसार वासिङ्टन डीसी, मिसिसिपी, लुइजियाना, अलाबामा, न्युमेक्सिकोमा सबैभन्दा बढी र न्युह्याम्सायर, मेइन, आरहोड आइल्यान्ड, आइडाहो र नर्थ डकोटा सबैभन्दा कम गोलीकाण्ड हुने राज्यमा समावेश छन् ।

पछिल्लो पटक तीन साताअघि लुइजियाना राज्यको श्रीभपोर्ट सहरमा एक बुबाले आफ्ना सात जना छोराछोरीको गोली प्रहार गरेर हत्या गरेका थिए । समार एल्किन्स्ले आफ्ना सात जना छोराछोरीको हत्या गरेको प्रहरीले जनाएको थियो । हत्या आरोपी समार प्रहरी कारबाहीमा मारिएका थिए । घटनामा १० जनालाई गोली लागेको थियो । तीमध्ये सात बालबालिकासहित उनीहरूकी आमाको समेत मृत्यु भएको थियो । यो घटनालाई २०२४ पछि भएको सबैभन्दा बढी क्षति भएको सामूहिक गोलीकाण्डका रूपमा लिइएको छ । 

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully