मतपरिणामपछि पश्चिम बंगालमा हिंसा : भाजपा नेता सुवेन्दु अधिकारीका पीएको गोली हानी हत्या

भारतीय सञ्चार माध्यमका अनुसार आक्रमणमा अस्ट्रेलियन ग्लोक पेस्तोल प्रयोग गरिएको छ । कूल १० राउन्ड फायरिङ भएको र रथको छातीमा दुई गोली लागेको प्रहरीले बताएको छ ।

वैशाख २४, २०८३

कान्तिपुर संवाददाता

Violence in West Bengal after election results: BJP leader Subendu Adhikari's PA shot dead

काठमाडौँ — पश्चिम बंगालको उत्तर २४ परगनामा भाजपा नेता सुवेन्दु अधिकारीका पीए चन्द्रनाथ रथको बुधबार राति साढे १० बजेतिर गोली हानेर हत्या गरिएको छ । घटना हुँदा रथ स्कर्पियो गाडीमा आफ्नो घर जाँदै थिए । गाडी उनका चालकले चलाइरहेको र एक अर्का व्यक्ति पनि सवार रहेको प्रहरीले बताएको छ । 

भारतीय सञ्चार माध्यमका अनुसार आक्रमणमा अस्ट्रेलियन ग्लोक पेस्तोल प्रयोग गरिएको छ । कूल १० राउन्ड फायरिङ भएको र रथको छातीमा दुई गोली लागेको प्रहरीले बताएको छ । एक गोली पेटमा लागेको थियो । आक्रमणमा गाडी चालक र अर्का व्यक्तिको पनि दाहिने हात, पेट र छातीमा गोली लागेको छ । 

भारतीय जनता पार्टीले तृणमूल कांग्रेसले हत्या गराएको आरोप लगाएको छ । यता तृणमूलले आरोपको खण्डन गर्दै घटनाबारे सीबीआईद्वारा जाँच हुनुपर्ने माग गरेको छ । घटनाको करिब एक घण्टापछि बशीरहाट जिल्लामा रोहित राय नाम गरेका एक अर्का भाजपाका कार्यकर्ताको पनि गोली प्रहार गरिएको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ । दुई दिनको अवधिमा रथबाहेक भाजपाका दुई जना अन्य कार्यकर्ता र तृणमूल कांग्रेसका पनि एक कार्यकर्ताको हत्या भएको छ । 

रायको हत्या पनि टीएमसीद्वारा गरिएको भाजपाको आरोप छ । उनको पेटमा गोली लागेको छ ।

४ मे मा पश्चिम बंगालको विधानसभा चुनावको परिणाम आएयता हिंसात्मक घटना सुरु भएका छन् । पछिल्लो २४ घण्टामा ४ जनाको हत्या भएको छ । जसमा भाजपाका दुई र टीएमसीका २ कार्यकर्ता रहेका छन् । यता कोलकाताको न्यू मार्केटमा मंगलबार राति एक भीडले तृणमूल कांग्रेस (टीएमसी)को पार्टी कार्यालय डोजर लगाएर भत्काइएको छ ।

अनियन्त्रित भीडले आसपासका पसलहरुमा पनि क्षति पुर्‍याएका छन् । यस्तै उत्तर २४ परगना जिल्लाको सन्देशखालीस्थित बामनघेरी क्षेत्रमा मंगलबार राति गश्ती गरिरहेका प्रहरी र केन्द्रीय सुरक्षा बलमाथि आक्रमण भएको छ । आक्रमणमा पाँच सुरक्षाकर्मी घाइते भएका छन् । 

कान्तिपुर

Link copied successfully