२४ घण्टा प्रसारण हुने टेलिभिजन समाचारको युग सुरु गर्ने प्रभावशाली मिडिया उद्यमी टर्नरको ८७ वर्षको उमेरमा निधन भएको छ ।
काठमाडौँ — अमेरिकी सञ्चारमाध्यम सीएनएनका संस्थापक टेड टर्नरको ८७ वर्षको उमेरमा निधन भएको छ । टर्नर इन्टरप्राइजले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै सीएनएनले उनको निधनको पुष्टि गरेको छ । तर, मृत्युको कारण खुलाइएको छैन ।
सन् २०१८ मा टर्नरले आफूलाई ‘लेबी बडी डिमेन्सिया’ भएको बताएका थिए । यो एक ‘डिजेनेरेटिभ नर्भ डिजिज’ हो । १९८० मा उनको लगानीमा केबल न्युज नेटवर्क (सीएनएन) खुलेपछि टेलिभिजनमा २४ घण्टे समाचार संस्कृतिको विकास भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्नरप्रति श्रद्धाञ्जली प्रकट गर्दै उनी प्रसारण इतिहासका एक महान् व्यक्ति रहेको बताएका छन् ।
सीएनएनका अध्यक्ष तथा सीईओ मार्क थम्प्सनले टर्नर एक प्रतिबद्ध र निर्भीक अगुवा रहेको बताएका छन् । सुरुवातमा सीएनएन सफल नहुने भविष्यवाणी धेरैले गरेका थिए । तर, १९८१ मा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको हत्या प्रयासको अपटेड र समाचार निरन्तर र तीव्र प्रसारण गरेपछि यो सञ्चार संस्था लोकप्रिय भयो । १९८६ मा च्यालेन्जर स्पेस सटल विध्वंशको समाचार पनि यसले निकै चाँडो सर्वसाधारणसमक्ष ल्याएको थियो ।
१९९०–९१ को खाडी युद्धमा इराकबाट गरेको प्रत्यक्ष प्रसारणपछि यो संस्था लोकप्रियताको शिखरमा पुग्यो । तत्कालीन राष्ट्रपति जर्ज बुसले एकपटक भनेका थिए, ‘मैले सीआईएभन्दा सीएनएनबाट धेरै जानें ।’ सीएनएनको सफलताले अमेरिकामा अन्य न्युज च्यानल खुल्न प्रेरित गर्यो । १९९६ मा टर्नरले सीएनएनसहितका कम्पनीहरू सञ्चालन गर्ने आफ्नो कम्पनी टर्नर ब्रोकास्टिङ सिस्टम टाइम वार्नरलाई बेचेका थिए । त्यसको केही वर्ष उनी उपाध्यक्षका रूपमा कम्पनीमा बसे । त्यसपछि २००३ मा राजिनामा दिए ।
सिन्सिनाटीमा १९३८ मा जन्मिएका टर्नरले १९७० मा आफ्ना बाबुको बिलबोर्डको व्यापार विरासतमा प्राप्त गरेका थिए । त्यसपछि उनले मनोरञ्जन, समाचार, खेलकुदलगायत क्षेत्रमा लगानी गरेर सम्पत्तिलाई बढाए । टर्नर एक विश्वस्तरीय डुंगाचालक खेलाडी पनि थिए । उनले १९७७ मा अमेरिका कप जितेका थिए । उनी ठूला परोपकारी व्यक्तित्व पनि हुन् । उनले संयुक्त राष्ट्रसंघलाई १ अर्ब अमेरिकी डलर दान दिएका थिए । त्यस्तै, विश्वभर महिला, बालबालिका र विपन्नको स्वास्थ्य, मानवीय संकट, शिक्षा, युवा सशक्तीकरणलगायत क्षेत्रमा ठूलो धनराशी खर्च गरे । विश्वका अग्रणी वातावरण अभियन्तामध्ये एक टर्नर अमेरिकामा सबैभन्दा धेरै जमिन भएका व्यक्तिमध्ये एक हुन् ।
