भारतको पश्चिम बंगाल र आसाम राज्यमा भाजपालाई बहुमत

हिन्दूस्तान टाइम्सका अनुसार पश्चिम बंगालमा मतगणना जारी रहदाँ भाजपा १ सय ६० सिटमा विजयी भएको छ ।

वैशाख २१, २०८३

कान्तिपुर संवाददाता

BJP wins majority in West Bengal and Assam

काठमाडौँ — भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतको पश्चिम बंगाल र आसाम राज्यमा विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले बहुमत सिट जितेको छ । पश्चिम बंगालमा २ सय ९४ निर्वाचन क्षेत्रमध्ये २३ र २९ अप्रिलमा दुई चरणमा गरेर २ सय ९३ क्षेत्रमा निर्वाचन सम्पन्न भएको थियो । 

हिन्दूस्तान टाइम्सका अनुसार पश्चिम बंगालमा मतगणना जारी रहदाँ भाजपा १ सय ६० सिटमा विजयी भएको छ । थप ४८ स्थानमा अग्रता बनाएको छ । यस राज्यमा सन् २०२१ मा भाजपाले ७७ सिट जितेको थियो । 

त्यसबेला २ सय १५ सिट जितेको त्रिणमुल कंग्रेस (टिएमसी) ले यसपटकको निर्वाचनमा राम्रो धक्का व्यहोरेको छ । अहिलेसम्मको मतगणनाअनुसार टिएमसी ५३ सिटमा विजयी भएको छ । थप, २६ सिटमा अग्रता बनाएको छ । 

कंग्रेस आई २ स्थानमा विजयी भएको छ भने बाममोर्चाले १ स्थान जितेको छ । आसाममा भाजपाले कुल १ सय २६ सिटमध्ये ८२ सिट जितेको छ । अन्य सहयात्री दलहरुको सिट संख्या समेत जोड्दा भाजपा नेतृत्वको एनडिए गठबन्धनका पक्षमा १ सय २ सिट पुगेको छ । कंग्रेस आईले १९ सिट जितेको छ भने थप २ सिटमा अग्रता बनाएको छ । 

पुडुचेरी प्रदेशमा पनि एनडिए गठबन्धनको बहुमत आएको छ । भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार कुल ३० सिटमध्ये १७ सिटमा एनडिए गठबन्धन विजयी भएको हो । यहाँ भाजपाले अधिकांश सिटमा अल इन्डिया एनआर कंग्रेस (एआईएनआरसी) लाई सघाएको थियो । क्षेत्रीय दल एआईएनआरसीले ११ सिट जितेको छ भने थप १ सिटमा अग्रता बनाएको छ । भाजपाले ४ सिट जितेको छ भने एनडिएकै अन्य घटकहरुले २ सिट जितेका छन् । 

केरलामा कंग्रेस आई नेतृत्वको नेशनल डेमोक्रेटिक फ्रन्ट (एनडिएफ) ले १ सय ४० सिटमध्ये १ सय सिट जितेको हिन्दूस्तान टाइम्सले जनाएको छ । थप १ सिटमा एनडिएफको अग्रता छ । बाममोर्चाले ३५ सिट जितेको छ । 

तामिलनाडुमा विजय थलपति नेतृत्वको तमिलागा भेत्री कजंगम (टिभिके) ले ८८ सिट जितेको छ भने २० सिटमा अग्रता बनाएको छ । दुई परम्परागत शक्ति द्रविड्म मुनेत्र कडंगम (डिएमके) र अल इन्डिया अन्न द्रविड्म मुनेत्र कडंगम (एआईएडिएमके) क्रमशः दोस्रो र तेस्रो स्थानमा देखिएका छन् । डिएमकेले ४४ सिटमा विजय हासिल गरेको छ भने १० सिटमा अग्रता बनाएको छ ।  ३४ सिटमा विजयी भएको एआईएडिएमके थप १६ सिटमा अघि छ ।  तामिलनाडुका मुख्यमन्त्री तथा डिएमकेका नेता एमके स्टालिन कोलाथुर निर्वाचन क्षेत्रमा टिभिकेका उम्मेदवार भीएस बाबुसँग पराजित भएका छन् । 

कान्तिपुर

Link copied successfully