हर्मुज बन्दका कारण खाद्यसंकट गहिरिने चेतावनी, सहमतिका लागि इरानले पठाएका प्रस्ताव के–के हुन्?

खेतीको सिजनमा मलको सप्लाई बन्द हुँदा एसियाका कृषक मारमा

वैशाख २०, २०८३

गोविन्द देवकोटा

Warning that the Hormuz blockade will worsen the food crisis, what are the proposals sent by Iran for agreement?

What you should know

काठमाडौँ — संयुक्त राष्ट्र संघको संस्था एफएओका मुख्य अर्थशास्त्री म्याक्सिमो टोरेरोले विश्व एक ठूलो खाद्य संकटतर्फ अघि बढिरहेको चेतावनी दिएका छन् । 

हर्मुज बन्द भएका कारण मलखाद (फर्टिलाइजर)को सप्लाई पूरै तरिकाले प्रभावित बनेको उनको भनाइ छ । युद्ध सुरु भएयता खादको सप्लाई पूर्ण रुपमा बन्द भएकाले मूल्य वृद्धि र उपलब्धतामा कमीसमेत भएको उनी बताउँछन् । 

जसकारण खेतीमा गम्भीर असर पर्ने र अन्नबालीको उत्पादनमा ३० प्रतिशतसम्म गिरावट आउने एफएओको भनाइ छ । टोरेरोले अलजजीरासँग कुरा गर्दै अवस्था एसियामा खेती गर्ने समय आएको र यस समयमा मलखादको सप्लाई बन्द हुँदा यसको ठूलो असर देखिने बताएका छन् । 

उनले अमेरिका र ब्राजीलजस्ता ठूला देशसँग आफ्नो बाली बदल्न सक्ने, जस्तै गहुँ र मकैको ठाउँमा भटमासको खेती गर्ने विकल्प रहेकाले बजारमा अझ बढी असर देखिने चेतावनी दिएका छन् । 

पटक–पटक वार्ताका प्रयासहरु भए पनि युद्ध रोकिने स्पष्ट संकेत अझै देखिएको छैन । इरानका अधिकारी मोहम्मद जाफर असदीले अमेरिकासँग फेरि युद्ध हुनसक्ने र त्यसका लागि इरानी सेना तयार भएको चेतावनी दिएका छन् । 

पछिल्लो २० दिनमा ४८ वटा जहाजले इरानी बन्दरगाहबाट आफ्नो बाटो बदलेको अमेरिकाको दाबी छ । 

लामो समयसम्म हर्मुज बन्द भए विश्व नै आर्थिक र खाद्यान्न संकटमा जाने चेतावनी आइरहेका बेला अमेरिकाले गरेको हर्मुज खोल्ने प्रस्तावमा अमेरिकी नाकाबन्दी खोल्नुपर्ने शर्त अघि सारिएको छ । 

एक इरानी वरिष्ठ अधिकारीका अनुसार हर्मुज खोल्नका लागि इरानले पहिले अमेरिकाद्वारा लगाइएको नाकाबन्दी खोल्नुपर्ने शर्त राखेको छ । तर अमेरिकाले मुख्य रुपमा उठाउँदै आएको परमाणु मुद्दामा भने नाकाबन्दी हटेपछि मात्र कुरा हुने अडान इरानले राखिरहेको छ । जसकारण, वार्तामा सहमति हुन सकेको छैन । 

सीएनएनको जाँच रिपोर्ट अनुसार युद्धका क्रममा पश्चिम एसियामा ८ देशमा अमेरिकाका १६ वटा सैन्य संरचनामा क्षति पुगेको छ । यीमध्ये केही पुन: प्रयोग गर्न लायकका नरहेको रिपोर्टमा उल्लेख गरिएको छ । 

यसैबीच ट्रम्पले इरान युद्धपछि क्यूबामा कब्जा गर्ने संकेतसमेत गरेका छन् । शुक्रबार उनले अमेरिका तत्काल क्यूबामा कब्जा गर्नसक्ने र त्यो काम इरानसँग जारी युद्धपछि हुनसक्ने बताएका छन् । 

यूएस डिपार्टमेन्टले पश्चिम एसियामा सहयोगी देशलाई करिब ८.६ अर्ब डलरको हतियार र सैन्य सेवा बिक्रीका लागि अनुमति दिएको छ । यस सम्झौतामा इजरायल, कुवेत, कतार र यूएई रहेका छन् । 

अल जजीराका अनुसार कतारलाई ४.०१ अर्ब डलरको पेट्रियट एयर र मिसाइल डिफेन्स सिस्टमसँग सम्बन्धित सेवा र उपकरण उपलब्ध गराइनेछ । यस्तै सोही बराबरको कतारलाई र कुवेतलाई २.५ अर्ब डलर बराबरको इन्टिग्रेटेड ब्याटल कमान्ड सिस्टम दिइने बताइएको छ । 

इजरायल र यूएईलाई एडभान्स्ड प्रिसिजन किल वेपन सिस्टम्सको अनुमति दिइएको छ । जसको मूल्य ९९२ मिलियन डलर र १५७ मिलियन डलर रहेको छ । 

यता इरानको नेशनल इरानियन ट्यांकर कम्पनीको एक भीएलसीसी सुपर ट्यांकर अमेरिकी नाकाबन्दीलाई छक्याउँदै एसिया प्रशान्त क्षेत्रसम्म पुगेको छ । अलजजीराका अनुसार ‘ह्यूज’ नामक उक्त जहाज १.९ मिलियन ब्यारेल कच्चा तेल लिएर गइरहेको छ । जसको मूल्य करिब २२० मिलियन डलर बराबरको रहेको बताइएको छ । यस ट्यांकरलाई अन्तिमपटक श्रीलंका नजिक देखिएको थियो । हाल इन्डोनेशियाको लोम्बोक स्ट्रेट हुँदै रिउाउ द्वीपसमूहतर्फ बढिरहेको छ । 

केही रिपोर्ट अनुसार यो जहाजले मार्चदेखि आफ्नो अटोमेटिक आइडेन्टिफिकेशन सिस्टम बन्द गरेको थियो । जसकारण यसलाई ट्र्याकिङ गर्न अमेरिका असक्षम रह्यो । इरानले यो एउटा मात्रै होइन, आफ्ना दर्जनौं जहाजले अमेरिकी नाकाबन्दीलाई छक्याउँदै पार गरिसकेको दाबी गरेको छ । अमेरिकाले भने कैयौं जहाजलाई फिर्ता जानका लागि बाध्य पारेको र यस कारबाहीले इरानलाई ठूलो क्षति भएको दाबी गरेको छ । 

इरानले हर्मुज स्ट्रेटलाई लिएर नयाँ कानुन ल्याउने तयारी गरिरहेको छ । इरानी संसद्का उपाध्यक्ष हमीदरेजा हाजी–बाबाईले यस कानुनअन्तर्गत इजरायलका जहाजलाई यस समुद्री मार्गबाट जाने अनुमति नदिइने बताएका छन् । प्रस्तावित कानुनमा दुश्मन देशले युद्धमा भएको क्षतिको मुआब्जा दिए मात्र उनीहरुका जहाजलाई प्रवेश अनुमति दिइने उनको भनाइ छ । यसबाहेक अन्य देशका जहाजलाई पनि इरानसँग अनुमति लिनुपर्नेछ ।

यता इरानी सञ्चार माध्यमहरुका अनुसार वार्ताका लागि अमेरिकाले पठाएको प्रस्तावमा इरानले आफ्ना मागहरुसहितको जवाफ पठाएको छ । पाकिस्तानको मध्यस्थतामा इरानले आफ्ना १४ बुँदामा मागहरु पठाएको हो । उक्त बुँदाहरुमा ३० दिनभित्र सबै समस्या समाधानको माग गरिएको छ । 

भविष्यमा आक्रमणविरुद्धको ग्यारेन्टी, पश्चिम एसिया क्षेत्रबाट अमेरिकी सैनिक फिर्ता, फ्रीज गरिएका इरानी एसेट्सलाई रिहा गर्नुपर्ने, प्रतिबन्ध हटाउने र युद्धमा भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने माग छन् । 

यसबाहेक हर्मुज स्ट्रेटलाई लिएर नयाँ संयन्त्र बनाउने, अमेरिकी जलसेनाको नाकाबन्दी अन्त्य गर्नुपर्ने र क्षेत्रीय संघर्षलाई समाप्त गर्नुपर्ने लगायतका बुँदाहरु रहेका छन् । यी सम्झौता भएपछि मात्र परमाणु कार्यक्रमबारे भिन्न तरिकाले कुरा हुने प्रस्तावसमेत इरानले पाकिस्तानमार्फत् अमेरिकालाई पठाएको छ ।

एजेन्सीहरुको सहयोगमा

गोविन्द

Link copied successfully