हर्मुजमा इरानको सुरक्षा निगरानी कडा

जहाजहरूको आवागमन इरानी निकायहरूको समन्वय र स्वीकृतिमा आधारित रहनेछ ।

वैशाख २०, २०८३

रासस/सिन्ह्वा

Iran tightens security surveillance in Hormuz

तेहरान —  

इरानका सेना प्रवक्ता मोहम्मद अक्रमिनियाले देशका सशस्त्र बलहरूले हर्मुज जलमार्गमा सुरक्षा तथा निगरानी गरिरहेको जानकारी दिएका छन्। उनका अनुसार उक्त महत्वपूर्ण समुद्री मार्गबाट जहाजहरूको आवागमन इरानी निकायहरूको समन्वय र स्वीकृतिमा आधारित रहनेछ ।

उनले हर्मुजको व्यवस्थापन इरानको अधिकार क्षेत्रभित्र पर्ने विषय भएको उल्लेख गर्दै वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा उपायहरू अपनाइएको बताए। साथै, इरानको इस्लामिक रिभोलुसन गार्ड कोप्र्स (आइआरजीसी) र राष्ट्रिय सेनाले संयुक्त रूपमा उक्त क्षेत्रमा निगरानी तथा सुरक्षा व्यवस्थापन गरिरहेको पनि उनले जानकारी दिए।

यसै क्रममा, इरानका उपविदेशमन्त्री हमिद घानबारीलाई उद्धृत गर्दै फार्स समाचार एजेन्सीले विभिन्न देशहरूले आफ्ना जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न इरानसँग कूटनीतिक माध्यममार्फत अनुरोध गरिरहेको जनाएको छ ।

इरानले फेब्रुअरी २८ देखि केही विशेष परिस्थितिका कारण उक्त क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाएको हो । यस निर्णयलाई क्षेत्रीय घटनाक्रमसँग सम्बन्धित रूपमा हेरिएको छ ।

हर्मुज जलमार्गमध्य विश्वव्यापी ऊर्जा आपूर्ति तथा अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त महत्वपूर्ण मार्ग मानिन्छ । त्यसैले यस क्षेत्रमा भइरहेका गतिविधिहरूलाई अन्तर्राष्ट्रिय समुदायले ध्यानपूर्वक नियालिरहेको छ ।

रासस/सिन्ह्वा

Link copied successfully