द्वन्द्व अन्त्यका लागि इरानले राख्‍यो अमेरिकासँग यस्ता माग

अमेरिकी जलसेनाले लगाएको अवरोध खुल्ला, इरानको रोक्का भएको सम्पत्ति खुल्ला, युद्धको क्षतिपुर्ति, आर्थिक प्रतिबन्ध फुकुवा, लेबनानमा युद्ध अन्त्य र हर्मुज जलमार्ग सञ्चालनका लागि नयाँ संयन्त्र बनाइनेलगायत विषय उल्लेख

वैशाख २०, २०८३

कान्तिपुर संवाददाता

Iran made these demands to the US to end the conflict

तेहरान — इरानले अमेरिकासँगको द्वन्द्व अन्त्यका लागि १४ बुँदे प्रस्ताव पठाएको छ । पाकिस्तानमार्फत इरानले यो प्रस्ताव अघि सारेको हो ।

प्रस्तावका मुख्य बुँदाहरुमा ३० दिनभित्र सबै समस्या हल गर्दै युद्ध समाप्त गर्ने, भविष्यमा अमेरिकाले आक्रमण नगर्ने सुनिश्चतता, इरान आसपासबाट अमेरिकी सेनाको फिर्ती, अमेरिकी जलसेनाले लगाएको अवरोध खुल्ला, इरानको रोक्का भएको सम्पत्ति खुल्ला, युद्धको क्षतिपुर्ति, आर्थिक प्रतिबन्ध फुकुवा, लेबनानमा युद्ध अन्त्य र हर्मुज जलमार्ग सञ्चालनका लागि नयाँ संयन्त्र बनाइने उल्लेख छ ।

यसअघि अमेरिकाले पाकिस्तानमार्फत इरानलाई ९ बुँदे शान्ति प्रस्ताव पठाएको थियो । जसमा दुई महिनासम्म युद्धविराम गर्ने विषय उल्लेख रहेको इरानका दुई अर्धसरकारी सञ्चारमाध्यम तास्निम र फार्सले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रस्तावबारे चाडैं समिक्षा गर्ने बताएका छन् । इरानले धेरै माग राखेकाले सहमतिबारे पनि उनले शंका गरेका छन् । ‘म इरानले हामीलाई पठाएको योजनाबारे म चाडैं समिक्षा गर्नेछु ।

तर, यो स्विकार्य छ जस्तो लाग्दैन किनकी उनीहरुले मानवता र विश्व समुदायविरुद्ध विगत ४७ वर्षमा जे जति कार्य गरे, त्यसको ठूलो मूल्य अहिलेसम्म चुकाइसकेका छैनन,’ उनले सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेखेका छन् । 

इरानका विदेशमन्त्री सैयद अब्बास अराग्चीले नयाँ वार्ता प्रस्तावबारे शुक्रबार तथा शनिबार एशिया र युरोपका विभिन्न देशका आफ्ना समकक्षीहरूसँग छलफल गरेका छन् ।

छुट्टाछुट्टै टेलिफोन वार्ताहरूमा उनले टर्कीए, कतार, साउदी अरेबिया, इजिप्ट, इराक, अजरबैजान, रुस, दक्षिण कोरिया, जापान, फ्रान्स, इटाली लगायत देशहरूका अधिकारीहरूसँग क्षेत्रीय अवस्थाबारे छलफल गरेका हुन् । युरोपेली सङ्घका परराष्ट्र नीतिसम्बन्धी प्रमुखसँग पनि उनले परामर्श गरेका छन् । 

अराग्चीले अमेरिकी तथा इजरायली सैन्य गतिविधिहरूले पर्सियन खाडी र हर्मुज जलमार्ग क्षेत्रमा असुरक्षा बढाएको बताएका छन् । अमेरिकाले आफ्नो कडा नीति, धम्कीपूर्ण अभिव्यक्ति तथा उक्साउने कार्यहरू त्यागेमा इरान कूटनीतिक समाधानका लागि खुला रहेको उनले बताए । 

उनले इरानका सशस्त्र बलहरू कुनै पनि सम्भावित खतराको सामना गर्न पूर्ण रूपमा तयार रहेको पनि बताए । 

२८ फेब्रुअरीमा अमेरिका–इजरायलले इरानमाथि आक्रमण गरेसँगै सुरु भएको युद्धमा अहिलेसम्म ठूलो जनधनको क्षति भइसकेको छ । ८ अप्रिलमा दुई पक्षबीच युद्धविराम भएपनि युद्धको स्थायी अन्त्यका लागि सहमति जुट्‍न सकेको छैन । 

कान्तिपुर

Link copied successfully