इरान–अमेरिका वार्ता अनिश्चित, कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

बिहीबार अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य १२६ अमेरिकी डलर प्रतिब्यारेलसम्म पुगेको छ ।

वैशाख १७, २०८३

कान्तिपुर संवाददाता

Iran-US talks uncertain, crude oil prices hit four-year high

काठमाडौँ — अमेरिका–इरानबीचको वार्ता र स्थायी युद्धविराम अनिश्चित हुँदा कच्चा तेलको मूल्य फेरि बढेको छ । बिहीबार अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य १२६ डलर प्रतिब्यारेलसम्म पुगेको छ । जुन, सन् २०२२ यताकै उच्च मूल्य हो । 

अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना मुख्य सहयोगीहरूसँगको भेटमा इरानी बन्दरगाहहरूमा महिनौंसम्म नाकाबन्दी लम्बिन सक्ने बताएका थिए । जानकार स्रोतहरुलाई उद्रृत गर्दै सीएनएनले उक्त खुलासा गरेको हो । 

ऊर्जा बजार विश्लेषण फर्म भान्डा इनसाइट्सकी संस्थापक, वन्दना हरीले हर्मुजको जलघाँटी खुल्ने छाँट नदेखिएसम्म तेलको मूल्य बढ्ने बताइन् । ‘अहिलेको अवस्थामा हर्मुज कहिले र कसरी खुल्नसक्छ भन्ने कसैलाई थाहा छैन । हर्मुज पुनः खुल्ने अवस्था नभएसम्म तेलको मूल्य बढ्ने देखिन्छ,’ उनले भनिन् । 

हर्मुजमा अहिले दोहोरो नाकाबन्दी छ । २८ फेब्रुअरीमा अमेरिका-इजरायलले इरानमाथि आक्रमण गरेदेखि नै यस क्षेत्रमा अवरोध जारी छ ।

१३ अप्रिलमा ट्रम्पको आदेशपछि अमेरिकी सेनाले यहाँ नाकाबन्दी घोषणा गर्‍यो । इरानी बन्दरगाहमा तेल लिन आउने जहाजहरूलाई अमेरिकारले फिर्ता पठाइरहेको छ ।

जबर्जस्ती गर्ने जहाजलाई नियन्त्रणमा समेत लिएको छ । यस्तो नाकाबन्दीले इरानको तेल व्यापार ठप्प भएर आर्थिक समस्या विकराल बन्ने आंकलन छ । यस्तो अवस्थाले इरानलाई आणविक हतियार निर्माणको महत्वाकांक्षा त्याग्न बाध्य पार्ने राष्ट्रपति ट्रम्पको दाबी छ । 

इरानले भने इन्धन आपूर्ति तथा वितरण चाडै सहज बनाउने बताएको छ । ‘सत्रुहरूले इरानमा नाकाबन्दी गरेर केही पाउने छैनन्,’ इरानका तेलमन्त्री मोसेन पाक्नेजादले भने, ‘तेल उद्योगमा कार्यरत मानिसहरू सेवामा कुनै पनि अवरोध हुन नदिन खटिरहेका छन् ।’

इन्धन तथा दैनिक उपभोग्य वस्तुको खपत कम गर्न इरान सरकारले यसअघि नै विभिन्न मापदण्ड अघि सारेको छ । सरकारी कार्यालयहरूलाई दिउँसो १ बजेपछि विद्युत प्रयोग ७० प्रतिशतसम्म घटाउन आग्रह, बिजुली कम खपत गर्नेलाई महसुलमा सहुलियतलगायत व्यवस्था गरेको छ । 

‘आयात–निर्यातमा देखिएको समस्याले पहिले नै समस्याग्रसत इरानको अर्थतन्त्र थप मारमा परेको छ । करिब ५० प्रतिशत इरानी रोजगारी गुमाउने संघारमा छन् र थप ५ प्रतिशत गरिबीमा धकेलि“दैछ,’ अमेरिकी विदेश नीति थिंक ट्यांक संस्था क्विन्सी इन्स्टिच्युटका हादी काहालजादेहले भने ।

अमेरिकी प्रतिबन्धका कारण युद्ध सुरु हुनअघि नै इरानको अर्थतन्त्र डामाडोल थियो । सन् २०१२ मा ८ हजार डलर वार्षिक प्रतिव्यक्ति आय रहेको इरानको अवस्था २०२४ मा घटेर ५ हजार डलरमा झरेको थियो । 

युद्धका कारण इरानमा धेरै सार्वजनिक पूर्वाधार ध्वस्त भएका छन् । युद्ध सुरु भएयता कम्तिमा ३ हजार ३७२ जना  इरानीले ज्यान गुमाइसकेको तथ्यांक छ । यस्तै, इजरायली आक्रमणबाट लेबनानमा कम्तिमा २ हजार ५०९ जनाको मृत्यु भइसकेको छ । १ मार्चदेखि इरानलाई समर्थन गर्दै हिजबुल्लाहले इजरायलविरुद्ध युद्ध घोषणा गरेको थियो ।

८ अप्रिलमा इरान–अमेरिका र १६ अप्रिलमा इजरायल–लेबनानबीच युद्धविराम भएको छ । तर, युद्धको स्थायी अन्त्यका लागि कुनै सम्झौता हुन सकेको छैन । 

युद्धकै कारण इजरायलमा कम्तिमा २३ जना मारिएका छन् । खाडी राष्ट्रमा १२ जनाभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । कम्तिमा १३ जना अमेरिकी सैनिक र ६ जना संयुक्त राष्ट्रसंघ शान्ति मिसनमा खटिएका सैनिकहरूले ज्यान गुमाइसकेका छन् ।

अमेरिकाले इरान युद्धमा ठूलो धनराशी खर्च गरिसकेको छ । बुधबार अमेरिकी युद्ध मामिला मन्त्रालयका वरिष्ठ अधिकारी जुल्स डब्ल्यु हस्र्टले इरान युद्धको दुई महिनामा अनुमानित २५ अर्ब अमेरिकी डलर खर्च भएको बताएका छन् ।

‘आजको दिनसम्म हामीले २५ अर्ब अमेरिकी डलर अपरेसन इपिक फ्युरीमा खर्च गरेका छौं,’ संसद्को सुरक्षा कमिटी बैठकमा हस्र्टले भने । उक्त सुनुवाईमा युद्ध मामिलामन्त्री पिट हेग्सेथ र जोइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष डेन केनी पनि उपस्थित थिए । 

यस युद्धले अमेरिका–इरानमात्रै नभएर बाँकी विश्वलाई पनि असर गरेको छ । युद्धअघि विश्वको २० प्रतिशत हाराहारी कच्चा तेल तथा प्राकृतिक ग्यास पश्चिम एसियाका देशबाट हर्मुज हुँदै बाहिरिने गरेको थियो ।

यस जलघाँटीमा देखिएको अवरोधपछि अहिले इन्धनमात्रै नभएर अन्य अत्यावश्यक सामग्रीको मूल्य पनि वृद्धि भएको छ । पश्चिम एसियाको कच्चा तेल तथा ग्यासका प्रमुख खपतकर्ता एसियाली देशहरू हुन् । आपूर्ति चक्र बिथोलिदाँ जापान, दक्षिण कोरिया, भारत, पाकिस्तानलगायत एसियाली देशहरूमा दैनिक जनजीवनमा कष्टकर बनेको छ । 

तेल बजारमा ठूला मूल्यवृद्धिका घटना 

–सन् १९७३ मा अरब राष्ट्रहरू मिलेर इजरायलमाथि आक्रमण गरेका थिए । यसबेला पश्चिमा देशले इजरायललाई साथ दिएका थिए । जवाफमा, ओपेक (तेल निर्यातकर्ताहरूको संगठन)ले इजरायललाई साथ दिने राष्ट्रहरूलाई तेल नबेच्ने निर्णय गरेका थियो । यसपछि पश्चिमा देशमा कच्चा तेल अभावले उद्योगधन्दा प्रभावित भए । यसैबेला प्रतिब्यारेल ३ अमेरिकी डलरमा बिक्री भइरहेको कच्चा तेल १२ डलर प्रतिब्यारेल आसपास पुगेको थियो । 

–सन् १९७९ मा इरानमा इस्लामिक क्रान्तिका दौरान तेल उत्पादन प्रभावित भयो । क्रान्तिपछि तेहरानस्थित अमेरिकी दूतावासका ६६ जना कर्मचारीलाई आन्दोलनकारीहरूले कब्जामा लिए । जवाफमा अमेरिकाले प्रतिबन्ध लगायो । यसपछि विश्व बजारमा कच्चा तेलको अभाव भयो । भाऊ बढेर ३५–४० अमेरिकी डलर प्रतिब्यारेलसम्म पुग्यो । 

–सन् १९८६ मा तेलको उत्पादन अत्याधिक भएको थियो । ब्रेन्ट क्रुडको मूल्य एकैपटक झरेर १० डलर प्रतिब्यारेलभन्दा कम पुगेको थियो । 

–१९९०–९१ मा चलेको खाडी युद्धका दौरान इराकी सेनाले कुवेतका ७ सयभन्दा धेरै तेलखानीमा आगो लगाइदियो । यसले विश्व बजारमा तेलको अभाव चुलियो । यस युद्धमा अमेरिका नेतृत्वमा ४२ वटा देशले कुवेतको पक्ष लिँदै इराकविरुद्ध लडे । इराक र कुवेत दुवैको तेल उत्पादन घटेर विश्व बजारमा अभाव सिर्जना भएको थियो । १७ डलर प्रतिब्यारेल आसपास कारोबार भइरहेको तेलको मूल्य ४० डलर आसपास पुगेको थियो । 

–सन् २००३ मा अमेरिका–बेलायतसहितका देशहरूले इराकमाथि आक्रमण गरे । इराकका धेरै पूर्वाधारमा क्षति पुग्यो । यसले तेलको मूल्य बिस्तारै बढाउँदै लग्यो । सन् २००८ जुलाईमा तेलको मूल्य ऐतिहासिक रुपमा १४७ डलर प्रतिब्यारेलसम्म पुगेको थियो । 

–सन् २०१९ मा ६०–७० डलर प्रतिब्यारेलमा कच्चा तेल कारोबार भइरहेको थियो । कोरोना महामारीपछि अप्रिल २०२० मा विश्वव्यापी लकडाउनले माग ह्वातै घट्यो । अप्रिल २०२० मा कच्चा तेलको न्यूनतम मूल्य प्रतिब्यारेल २० डलरभन्दा कम थियो । समग्रमा सन् २०२० मा औसत ४१.९६ डलर प्रतिब्यारेल थियो ।

–भ्याक्सिनको उपलब्धता र प्रयोगसँगै २०२१ मा बिस्तारै विश्व अर्थतन्त्र चलायमान हुन थाल्यो । यस वर्ष औसतमा ७०.८६ डलर प्रतिब्यारेलमा तेल कारोबार भयो । 

–फेब्रुअरी सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गर्‍यो । जवाफमा  रुसमाथि पश्चिमा देशहरूले आर्थिक प्रतिबन्ध लगाए । विश्वका ठूला तेल निर्यातकर्तामध्ये एक रुसमाथिको प्रतिबन्धले फेरि तेल अभाव भयो । मार्च २०२२ मा ब्रेन्ट क्रुडको मूल्य १३०–१४० डलर हाराहारीमा पुग्यो । 

इरान युद्ध सुरु हुनुअघि ब्रेन्ट क्रुडको कारोबार ७० डलर प्रतिब्यारेल आसपास थियो ।

–एजेन्सीको सहयोगमा

कान्तिपुर

Link copied successfully