जकार्ता–बेकासी मार्गमा चल्ने लामो दूरीका रेलहरू एकआपसमा ठोकिँदा दुर्घटना भएको हो ।
जकार्ता — इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेल एकआपसमा ठोकिँदा १४ जनाको मृत्यु हुनुका साथै ८४ जना घाइते भएका छन् ।
स्थानीय अधिकारीका अनुसार स्थानीय समयअनुसार सोमबार साँझ ८ बजेर ५० मिनेटमा जकार्ता–बेकासी मार्गमा चल्ने लामो दूरीका रेलहरू एकआपसमा ठोकिँदा दुर्घटना भएको हो ।
रेल अपरेटर तथा केएआईका अध्यक्ष निर्देशक बबी रेसिडिनले १४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार मृतकलाई पहिचानका लागि प्रहरी अस्पतालमा लगिएको छ भने ८४ जना घाइतेलाई विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ ।
दुर्घटनापछि इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले बेकासीको अस्पतालमा पीडितहरूलाई भेटेर समवेदना व्यक्त गर्दै घटनाको शीघ्र अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रेल अपरेटर र राष्ट्रिय यातायात सुरक्षा समितिले घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएका छन् ।
