सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा आयोजना गरिएको समारोहमा सहभागी बन्न मोदी सोमबार अपराह्न सिक्किम पुगेका हुन् ।
विराटनगर — पश्चिम बंगाल विधानसभा निर्वाचनको पूर्वसन्ध्यामा गत अप्रिल ११ मा नेपाली सीम नजिकको सिलिगुडीमा चुनावी सभामा सहभागी बनेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार सिक्किम पुगेका छन् ।
सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा आयोजना गरिएको समारोहमा सहभागी बन्न मोदी सोमबार अपराह्न सिक्किम पुगेका हुन् ।
सेनाको हेलिकोप्टरबाट मोदी अपराह्न ३ बजेतिर गान्तोकस्थित लिबिङ हेलिप्याडमा ओर्लिएका थिए । मंगलबार बिहान करिब साढे ९ बजे उनले गान्तोकस्थित अर्चिडेरियम अवलोकन गर्ने कार्यक्रम छ । सिक्किमको जैविक विविधता र फूलहरूको सम्पदालाई प्रवर्द्धन गर्ने उद्देश्यले स्वर्णजयन्ती मैत्री मञ्जरी पार्कलाई विश्वस्तरीय ‘अर्चिड एक्सपिरियन्स सेन्टर’का रूपमा विकास गरिएको छ ।
त्यसपछि बिहान करिब १० बजे पाल्जोर रंगशालामा आयोजना हुने सिक्किम राज्य स्थापनाको स्वर्ण वर्ष उत्सवको समापन समारोहमा प्रधानमन्त्री मोदी सहभागी हुनेछन् । सो अवसरमा उनले ४ हजार करोड रुपैयाँभन्दा बढीका विभिन्न आयोजनाको उद्घाटन र शिलान्यास गर्ने कार्यक्रम रहेको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार वीरेन्द्र ताम्लिङले जनाए । उनले भने,‘पाल्जोर रंगशालाबाट प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने कार्यक्रमसमेत तय भएको छ ।’
पूर्वाधार, यातायात, स्वास्थ्य, शिक्षा, ऊर्जा, सहरी विकास, वातावरण संरक्षण, पर्यटन तथा कृषिलगायतका क्षेत्रमा परियोजना केन्द्रित हुने छ । ‘यसले सिक्किमको समग्र र समावेशी विकासलाई तीव्रता दिने अपेक्षा गरिएको छ,’ ताम्लिङले भने ।
स्वास्थ्यतर्फ नाम्ची जिल्लाको याङगाङमा १०० शय्याको आयुर्वेद अस्पताल शिलान्यास गरिनेछ । साथै राष्ट्रिय प्राविधिक प्रतिष्ठान र ३० शय्याको ‘सोवा रिग्पा’ अस्पताल उद्घाटन हुनेछ ।
शिक्षातर्फ याङगाङमा सिक्किम विश्वविद्यालयको स्थायी क्याम्पस, चाकुङमा नेताजी सुभाषचन्द्र बोस युनिभर्सिटी अफ एक्सिलेन्सको प्रशासनिक भवन, गान्तोकको सोचेगाङमा हेलन लेप्चा मेडिकल कलेज तथा ग्याल्सिङको देन्ताममा प्रोफेसनल कलेज उद्घाटन गरिनेछ ।
यसैगरी मंगान जिल्लाको माङ्शिलामा स्नातकोत्तर नयाँ कलेज, ही–ग्याथाङमा मोडेल आवासीय विद्यालय र नाम्चीको बुम्तार गुम्बामा छात्रावाससहित भवन उद्घाटन गरिनेछ । साथै सिक्किमका १६० विद्यालयमा सूचना–प्रविधिमा आधारित शैक्षिक पूर्वाधार विस्तार कार्यक्रम पनि सुरू हुने ताम्लिङले बताए ।
यातायात सञ्जाल सुदृढ गर्न टिस्टा नदीमाथि सिरवानी र तल्लो साम्दोङमा दुईवटा डबल लेन स्टिल आर्क पुल निर्माणका लागि शिलान्यास गरिनेछ । साथै बिर्धाङ–नाम्ची सडक स्तरोन्नति परियोजनाको उद्घाटन गरिनेछ ।
ऊर्जा क्षेत्रमा गान्तोकको ट्रान्समिसन तथा वितरण प्रणाली सुधार र विस्तार परियोजना उद्घाटन हुनेछ, जसले विद्युत् आपूर्तिलाई थप भरपर्दो बनाउनेछ ।
पर्यटन प्रवर्द्धनका लागि तिव्वतको कैलाश मानसरोवर यात्रासँग सम्बन्धित संरचना र नाम्फिङको कृष्ण प्रणामी मंगलधाममा यात्री निवास उद्घाटन गरिनेछ ।
