जापानको होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

जापानी मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार स्थानीय समयअनुसार बिहान ५ : २३ बजे होक्काइडोको दक्षिणी क्षेत्रमा केन्द्रित भएर भूकम्प गएको हो ।

वैशाख १४, २०८३

रासस

6.2 magnitude earthquake hits Hokkaido, Japan

काठमाडौँ — जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

जापानी मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार स्थानीय समयअनुसार बिहान ५ : २३ बजे होक्काइडोको दक्षिणी क्षेत्रमा केन्द्रित भएर भूकम्प गएको हो ।

यसको गहिराइ करिब ८३ किलोमिटर रहेको जनाइएको छ, जुन प्रारम्भिक ६.१ म्याग्निच्युडको अनुमानलाई संशोधन गर्दै ६.२ कायम गरिएको हो ।

जेएमएले आगामी केही दिन तथा हप्तामा यस्तै स्तरका थप भूकम्प आउन सक्ने उच्च सम्भावना रहेको उल्लेख गर्दै स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

यसअघि केही घण्टा अगाडि नै होक्काइडोभन्दा केही सय किलोमिटर दक्षिण समुद्री क्षेत्रमा ५.० म्याग्निच्युडको अर्को भूकम्प आएको थियो, जसले क्षेत्रको भूकम्पीय सक्रियता निरन्तर बढिरहेको सङ्केत दिएको छ ।

यो घटनाक्रम गत हप्ता उत्तरी इवाटे प्रान्तमा आएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि आएको हो, जसले ठूलो क्षति नगरे पनि देशभर त्रास फैलाएको थियो ।

उक्त भूकम्पको प्रभाव राजधानी टोकियोसम्म पुगेको थियो, जहाँ ठूला भवनहरू हल्लिएका थिए र छ जना घाइते भएका थिए ।

 साथै, इवाटे क्षेत्रमा करिब ८० सेन्टिमिटर उचाइका सुनामी छालहरू देखिएका थिए भने अन्य उत्तरी क्षेत्रमा साना छालहरू ठोक्किएका थिए । 

त्यसपछि जेएमएले ८.० वा सोभन्दा माथिको शक्तिशाली भूकम्प आउने जोखिम रहेको चेतावनी दिएको थियो । अहिलेको ६.२ म्याग्निच्युडको भूकम्पलाई पनि सोही शृङ्खलाको एक हिस्सा मानिएको छ ।

जापान प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्छ । चार प्रमुख टेक्टोनिक प्लेटहरूको सङ्गममा रहेको यस देशमा हरेक वर्ष करिब एक हजार ५०० भूकम्प आउने गरेका छन् । यो विश्वभरका कुल भूकम्पको झन्डै १८ प्रतिशत हो ।

सन् २०११ मा जापानमा आएको ९.० म्याग्निच्युडको विनाशकारी भूकम्प र त्यसपछिको सुनामीले १८ हजार ५०० भन्दा बढी मानिसको ज्यान गएको वा बेपत्ता भएको थियो ।

त्यसयता जापानले भूकम्प पूर्वतयारी र जोखिम न्यूनीकरणमा ठूलो लगानी गर्दै आएको भए पनि पछिल्ला गतिविधिहरूले पुनः सतर्क रहनुपर्ने अवस्था देखाएका छन् ।

रासस

Link copied successfully