शनिबार साँझ वाशिङ्टन हिल्टन होटलमा आयोजित उक्त कार्यक्रममा राष्ट्रपति ट्रम्प र प्रथम महिला बसेको स्थान बाहिर गोली चलेको आवाज आएपछि उनलाई तुरुन्तै त्यहाँबाट निकालिएको थियो।
What you should know
काठमाडौँ — अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसका संवाददाताहरूको ‘डिनर कार्यक्रम’ बाहिर गोली चलेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षित रूपमा निकालिएको छ।
शनिबार साँझ वाशिङ्टन हिल्टन होटलमा आयोजित उक्त कार्यक्रममा राष्ट्रपति ट्रम्प र प्रथम महिला बसेको स्थान बाहिर गोली चलेको आवाज आएपछि उनलाई तुरुन्तै त्यहाँबाट निकालिएको थियो।
ट्रम्पले ट्रुथ साेसलमा पोस्ट गर्दै आफू र आफ्नो मन्त्रिपरिषद् सदस्यहरू सुरक्षित रहेको र चाँडै ह्वाइट हाउसबाट पत्रकार सम्मेलन गर्ने बताएका छन्। ‘प्रथम महिला, उपराष्ट्रपति र सबै मन्त्रिपरिषद् सदस्यहरू पूर्ण रूपमा सुरक्षित छन्,’ ट्रम्पले भनेका छन्।
घटनास्थलका दृश्यहरूमा गोली चलेपछि ट्रम्प र अन्य सहभागीहरू टेबल पछाडि लुकेर बसेका देखिन्छन्, जहाँ मानिसहरूले ‘तल झर्नुहोस्’ र ‘तलै बस्नुहोस्’ भन्दै कराइरहेका थिए।
त्यसपछि ट्रम्पलाई सिक्रेट सर्भिस एजेन्टहरूले तुरुन्तै त्यहाँबाट निकाले र भारी हतियारसहितका सुरक्षाकर्मीहरूले उक्त स्थानलाई घेरेका थिए।
अल जजीराका निर्माता क्रिस सेरिडनले आफूले बलरुम बाहिर करिब पाँच राउन्ड गोली चलेको सुनेको बताएका छन्। ‘हामीले बारुदको गन्ध महसुस गर्यौं। हामी तुरुन्तै भुइँमा लड्यौं। त्यो मेरो ठीक पछाडि थियो,’ उनले भने, ‘म कति टाढा थियो भन्न सक्दिनँ, तर त्यो बलरुमको प्रवेशद्वार पछाडिको ढोकाबाट आएको थियो भन्ने निश्चित थियो।’
ट्रम्पले अमेरिकी सिक्रेट सर्भिस र स्थानीय कानुन कार्यान्वयन निकायहरूको कार्यको पनि प्रशंसा गरेका छन्। ‘उनीहरूले छिटो र बहादुरीपूर्वक काम गरे,’ उनले भनेका छन्। उनले कार्यक्रम यथावत् सञ्चालन गर्न सिफारिस गरे पनि अन्तिम निर्णय कानुन कार्यान्वयन निकायलाई दिने बताएका छन्।
अमेरिकी सिक्रेट सर्भिसले गोली चल्ने घटना ‘स्क्रिनिङ क्षेत्र’ मा भएको र एक व्यक्तिलाई हिरासतमा लिइएको जनाएको छ।‘संलग्न व्यक्तिहरूको अवस्था अझै स्पष्ट छैन, र कानुन कार्यान्वयन निकायले स्थिति सक्रिय रूपमा मूल्यांकन गरिरहेको छ,’ एजेन्सीले जनाएको छ। सेरिडनले होटल वरिपरि ठूलो संख्यामा प्रहरी परिचालन भएको पनि बताएका छन्।
ट्रम्पलाई यसअघि सन् २०२४ मा पनि आक्रमण गरिएको थियो। चुनावी सभामा भएको उक्त गोलीबारीमा उनको दाहिने कानमा चोट लागेको थियो।
