शनिबार भएको बम आक्रमणमा कम्तिमा सात जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
सिन्हवा — कोलम्बियाको गुडिरहेको बसमा शनिबार भएको बम आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
रिपोर्टका अनुसार काजिबियो नगरपालिकास्थित काली र पोपायान जोड्ने पान–अमेरिकी राजमार्गको एल टुनेल क्षेत्रमा गुडिरहेको बसमा बम प्रहार गरिएको थियो, आक्रमणले बसको छाना र झ्यालहरूमा गम्भीर क्षति पुगेको छ । त्यस्तै, राजमार्गमा पनि नोक्सानी भएको देखिन्छ ।
प्रत्यक्षदर्शी चालकहरूका अनुसार हतियारधारी व्यक्तिहरूले एक ट्रक र बस अपहरण गरी सडक अवरुद्ध बनाएका थिए । ती सवारीसाधनहरूमा एक विद्रोही समूहसँग सम्बन्धित नाराहरू लेखिएका थिए ।
स्थानीय गभर्नर अक्टाभियो गुज्मानले यसलाई नागरिकमाथिको अन्धाधुन्ध आक्रमण भन्दै कडा निन्दा गरेका छन् ।
सुरक्षा निकायहरू घटनास्थलमा खटिएको जानकारी दिँदै प्रभावित क्षेत्रमा जनताको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय सरकारलाई ठोस कदम चाल्न आग्रह गरेका छन् ।
