युद्धविराम लम्ब्याइए पनि व्यवहारमा उल्लङ्घन भइरहेको इरानको आरोप
काठमाडौँ —
अमेरिकी जलसेनाको नाकाबन्दी जारी रहेसम्म हर्मुज जलघाँटी पुनः नखोल्ने स्पष्ट अडान इरानले लिएको छ ।
युद्धविराम लम्ब्याइए पनि व्यवहारमा उल्लङ्घन भइरहेको आरोप लगाउँदै तेहरानले रणनीतिक जलमार्गमा नियन्त्रण कडा बनाएको छ र दुई विदेशी जहाज जफत गरिएको जनाएको छ ।
यसैबीच क्षेत्रीय तनाव चर्किंदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार युद्धविरामलाई केही समय कायम राख्ने घोषणा गर्दै पाकिस्तानको मध्यस्थतामा शान्ति वार्ताका लागि प्रयास गर्ने बताएका थिए ।
ट्रम्पले इरानको नेतृत्वलाई वार्ताका लागि प्रस्ताव ल्याउन समय दिने लक्ष्यले युद्धविराम गरिएको बताएका छन् ।
इरानले अमेरिकाको पछिल्लो घोषणाबारे कुनै प्रतिक्रिया दिएको छैन ।
इस्लामाबादमा भएको प्रारम्भिक वार्तामा इरानी टोलीको नेतृत्व गरेका संसद्का सभामुख मोहम्मद बगैर गालीबाफले अमेरिकी जलसेनाको नाकाबन्दी कायम रहँदा युद्धविरामको अर्थ नरहने स्पष्ट पारे ।
उनले युद्धविरामको स्पष्ट उल्लङ्घन भइरहेकाले हर्मुज जलघाँटी खोल्ने अवस्था नै नरहेको बताए ।
फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि तेल बजारमा अस्थिरता बढेको छ ।
युद्ध फेरि भड्किने आशङ्काले मूल्य उकालो लाग्दै गएको छ, यद्यपि अमेरिकी सेयर बजारले केही स्थिरता देखाएको छ ।
