अझै रोकिएन मणिपुरमा हिंसा, तीन साताभित्र ७ को मृत्यु 

सन् २०२३ मेदेखि सुरु भएको जातीय द्वन्द्वका कारण मणिपुरमा अहिलेसम्म २५० भन्दा बढीको ज्यान गइसकेको छ भने हजारौं विस्थापित भएका छन् ।

वैशाख ८, २०८३

पर्वत पोर्तेल

Violence continues in Manipur, 7 dead in three weeks

विराटनगर — भारतको पूर्वोत्तर राज्य मणिपुरमा पछिल्लो तीन सातादेखि जारी हिंसामा कम्तीमा सात जनाको मृत्यु भएको छ । भारतीय राष्ट्रिय कांग्रेसले घटनाको समयसीमा तोकेर छानबिन, पीडितलाई क्षतिपूर्ति र शान्ति स्थापनाका लागि तत्काल कदम चाल्न माग गरेको छ । मणिपुर सरकारले उक्त घटनाको निष्पक्ष छानबिनका लागि राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) लाई जिम्मा दिने निर्णय गरेको छ । 

एनआईए भारतको प्रमुख संघीय आतंकवाद–विरोधी कानुन कार्यान्वयन निकाय हो । यसको स्थापना सन् २००८ को एनआईए ऐनअन्तर्गत सन् २०११ को मुम्बई आक्रमण पछि गरिएको हो । 

एनआईएले राष्ट्रिय सुरक्षा, सार्वभौमिकता र अखण्डतासँग सम्बन्धित अपराध र आतंकवाद र सीमा–पार अपराधहरूको अनुसन्धान गर्ने जिम्मेवारी पाएको छ । 

अप्रिल ७ यता विभिन्न जिल्लामा भएका आक्रमण, गोलीकाण्ड र झडपका घटनाले अवस्था झनै तनावपूर्ण बनेको हो ।  विष्णुपुर जिल्लामा भएको बम आक्रमणमा दुई बालबालिकाको ज्यान गएपछि हिंसा थप चर्किएको हो । घटनाको विरोध प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाउँदा थप तीनको मृत्यु भएको थियो । 

पूर्व र पश्चिम, थौबल, काकचिङ र विष्णुपुरलगायत जिल्लामा विरोध प्रदर्शन जारी छ ।  हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका छन् भने रातको समयमा कर्फ्यु उल्लंघन गर्दै मशाल जुलुस निस्कने क्रम जारी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

यसैबीच, पछिल्लो समय उखरुल र कामजोंग जिल्लामा पनि हिंसा फैलिँदै गएको छ । यी दुवै जिल्ला मणिपुरको उत्तर–पूर्वी पहाडी क्षेत्रमा पर्छन् ।  यी जिल्ला भारतको अर्को राज्य नागाल्यान्डसँग सिमाना जोडिएका छन् र भौगोलिक रूपमा दुर्गम छ । 

यी क्षेत्रमा मुख्यतः ताङ्खुल समुदायको बाहुल्यता छ । शनिबनर यही क्षेत्रमा कुकी समुदायले थापेको एम्बुसमा परेर ताङ्खुल(नागा) समुदायका दुई जनाको मृत्यु भएको थियो । 

सुरक्षा निकायका अनुसार विभिन्न स्थानमा झडप, आगजनी र आक्रमणका घटना भइरहेका छन् । राष्ट्रिय राजमार्ग-२०२ अवरुद्ध हुँदा यातायात र आपूर्ति प्रणाली प्रभावित बनेको छ ।

वाङजिङ क्षेत्रमा प्रदर्शनकारीले सरकारी कार्यालयमा आगजनी गर्ने प्रयास गर्दा एक प्रहरी गम्भीर घाइते भएका छन् । हिंसापछि प्रभावित क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध गरिएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सन् २०२३ मेदेखि सुरु भएको जातीय द्वन्द्वका कारण मणिपुरमा अहिलेसम्म २५० भन्दा बढीको ज्यान गइसकेको छ भने हजारौं विस्थापित भएका छन् ।  मणिपुरमा मुख्यगरी मैतेई, नागा र कुकी समुदायको बसोबास छ । त्यस्तै नेपालीभाषी समुदाय पनि मणिपुरमा रहेका छन् । 

द हिन्दुका अनुसार २०२३ यता हिंसा भड्किएयता प्रहरीको ६ हजारभन्दा बढी हतियार लुटिएको थियो । त्यसमध्ये ४ हजार ५ सय हतियार प्राप्त भइसकेको प्रहरीले जनाएको छ । सर्वसधारणसँग भएका ३ हजारभन्दा बढी अन्य हतियार पनि बरामद गरिएको छ । 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully