सन् १९९७ देखि २०१२ सम्मको अवधिमा जन्मिएका जेन–जी उमेर समूहका युवाहरूले पछिल्ला वर्षहरूमा विश्वका विभिन्न देशमा आन्दोलनको अगुवाइ गरे । यस्तो आन्दोलन पछि ती देशका के कस्ता परिवर्तन देखिए ?
What you should know
काठमाडौँ — नेपालमा गत भदौमा सम्पन्न जेन-जी आन्दोलनपछि राजनीतिक घटनाक्रम छिटो–छिटो विकास भए । २३ भदौमा सुरु भएको आन्दोलनको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए ।
२३ र २४ भदौमा भएको आन्दोलन र उपद्रवमा ७६ जनाले ज्यान गुमाए । सिंहदरबारसहित देशभरका महत्त्वपूर्ण सरकारी तथा निजी भवनहरूमा आगजनी भयो । नेताका घरमा आक्रमण भयो । यसबाट सिर्जित अन्योलपूर्ण परिस्थितिमा सुशीला कार्की प्रधानमन्त्री बनिन् । २१ फागुनमा (तोकिएकै मिति) सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेन-जी आन्दोलनताका सत्तामा रहेका कांग्रेस–एमाले र सबै दलहरूलाई विश्वासमा लिएर निर्वाचन गरायो ।
रास्वपाले यस निर्वाचनमा वालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको थियो । रास्वपाले संसद्का २ सय ७५ सिटमध्ये १ सय ८२ सिट जित्यो । जेन-जी पुस्ताका युवाहरूमाझ लोकप्रिय ३६ वर्षीय शाह ( जो मिलेनियल्स उमेर समूहका हुन्) अहिले प्रधानमन्त्री छन् । यसरी नेपालमा चलेको जेन-जी आन्दोलनले चुनावी जनादेशमार्फत शान्तिपूर्ण अवतरण गर्यो ।
पुराना पार्टीहरूलाई विस्थापित गरेर युवाहरू सत्तामा गए । सरकारले १ सय वटा सुधारका कार्यक्रमहरू अघि सारेको छ । सरकारको कार्यशैलीले अब यी कार्यक्रमसँगै सरकारमा गएकाहरूको पनि परीक्षण गर्नेछ ।
सन् १९९७ देखि २०१२ सम्मको अवधिमा जन्मिएका जेन–जी उमेर समूहका युवाहरूले नेपाल मात्रै नभएर पछिल्ला वर्षहरूमा विश्वका विभिन्न देशमा आन्दोलनको अगुवाइ गरे । भ्रष्टाचार अन्त्य, नातावाद अन्त्य,सुशासन र सामाजिक न्याय, रोजगारीलगायत उनीहरूका प्रमुख मुद्दा थिए । तर सबैतिर अपेक्षित नतिजा आएन ।
यसको सबैभन्दा खराब उदाहरण मादागास्कर हो । यहाँको आन्दोलनले फ्रान्सको नागरिकता बोकेका राष्ट्रपतिलाई हटाएर सैनिक–नागरिक संयुक्त सरकार निर्माण गर्यो । तर, अहिले सैनिक नेतृत्वले राष्ट्रवादको हवाला दिँदै नागरिक प्रधानमन्त्रीलाई हटाइदियो ।
सरकारले राज्यविरुद्ध षड्यन्त्र गरेको अभियोग लगाएर धमाधम जेन–जी आन्दोलनकारीहरू पक्राउ गर्न थालेको छ । अर्कोतर्फ, रुसी सेनालाई राष्ट्रपति कार्यालयमा रेखदेखको जिम्मेवारी दिएको छ ।
एम्नेस्टी इन्टरनेशनलसहितका संस्थाहरुले जेन-जीमाथि भइरहेको धरपकडको विरोध गरेका छन् । यहाँ, २५ सेप्टेम्बर २०२५ देखि आन्दोलन चलेको थियो ।
देशका धेरै क्षेत्रमा सरकारले पानी र विद्युत् कटौती गरेपछि प्रतिक्रिया स्वरुप देशव्यापी आन्दोलन सुरु भएको थियो । बहाना विद्युत् कटौती भएपनि आन्दोलनकारी मुख्य मुद्दा भ्रष्टाचार अन्त्य र बृहत्तर सुशासन थियो । यस आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा २२ जनाले ज्यान गुमाएका थिए ।
प्रदर्शनकारीले ट्राम वे पूर्वाधार, व्यावसायिक इलाका र सुपर मार्केटमा आक्रमण गरे । उनीहरूले राजनीतिज्ञका घर लुटे । आन्दोलन अवधिभर सेनाले कुनै दमन गरेन । केही सैन्य अधिकारीहरूले समस्यामा परेका आन्दोलनकारीलाई पानी वितरण, उद्धारलगायत मानवीय सहयोग गरे ।
त्यस्तै, शान्तिपूर्ण रूपमा आन्दोलनकारीलाई सत्ता हस्तान्तरण गर्न उनीहरूले राष्ट्रपतिलाई दबाब पनि दिइरहे । तर, राष्ट्रपति एन्ड्राई राजोलिना तयार भएनन् ।
११ अक्टोबरमा आन्दोलनको रापतापबीच सेनाले ‘कु’ गर्यो । १७ अक्टोबरमा सेनाले पूर्व कर्नेल माइकल रान्ड्रियानिरिनालाई नयाँ राष्ट्रपति घोषणा गर्यो । अदालतले वैधता दियो । आन्दोलनकारीले खुसीयाली मनाए । राष्ट्रपति एन्ड्राई राजोलिना भागेर फ्रान्स गइसकेका थिए ।
आन्दोलनकारीको सुझावअनुसार अर्थशास्त्री तथा प्रभावशाली राजनीतिज्ञ हेरिन्त्सालामा एन्ड्रियामियासी प्रधानमन्त्री नियुक्त भए । उनले दुई वर्षभित्र राष्ट्रपतीय निर्वाचन गर्ने गरी रोडम्याप अघि सारेका थिए । तर, सैनिक नेतृत्वको ध्यान शक्ति केन्द्रित गर्नमा थियो ।
सेनाका जर्नेलहरूको अनिच्छाले निर्वाचनको मिति घोषणामा अल–टाल भइरह्यो । १५ मार्चमा एन्ड्रियामियासीलाई बर्खास्त गरेर सैनिक पृष्ठभूमिका मामिसियाना राजाओनारिसनलाई प्रधानमन्त्री बनाइयो । त्यसपछि पुरानै भ्रष्ट अनुहारहरूलाई सत्तामा ल्याउन थालियो । यसले जेन-जी प्रदर्शनकारीहरुलाई झस्काएको छ ।
१२ अप्रिलमा उनीहरूले निर्वाचन मिति घोषणाको माग गर्दै आन्दोलन गरेका थिए । यस क्रममा चार जना जेन-जी अगुवालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमाथि आपराधिक षडयन्त्र गरेको, राज्यको सुरक्षा व्यवस्थामा खलल पुर्याएकोलगायत आरोप लगाइएको छ ।
राष्ट्रपतिका प्रवक्ता ह्यारी लरेन्ट राहाजासोनले उनीहरूको पक्राउमा राष्ट्रपतिको कुनै संलग्नता नरहेको दाबी गरेका छन् । ‘मादागास्करमा शक्ति पृथकीकरण छ । राष्ट्रिय प्रहरीसँग सम्बन्धित कार्यमा राष्ट्रपतिले हस्तक्षेप गर्दैनन्,’ उनले भने । मंगलबार दुई जना प्रदर्शनकारीलाई हिरासतबाट मुक्त गरेर अस्पताल भर्ना गरिएको छ । शुक्रबारसम्म आइपुग्दा जेन-जी समूहका अगुवा हेरिजोमात्रै हिरासतमा रहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
राष्ट्रपति रान्ड्रियानिरिनाले सत्तामा ल्याएका कुलीनहरू आर्थिक सुधारका लागि तयार नभएको प्रदर्शनकारीहरु बताउँछन् । मादागास्करमा सत्ता परिवर्तन भएपनि अवस्था खासै परिवर्तन नभएको जेन-जी मादागासिकारा समूहका नेता इलियोट रान्ड्रियामान्द्रातोले बताए ।
‘अहिलेसम्म सरकारले कुनै पनि सुधार गरेको छैन । त्यही कारण सबै निराश छन् । हामीले सुधारको कुनै स्पष्ट योजना देखेका छैनौँ ।’
निर्वाचन प्रणालीमा सुधारको विषय युवाहरूले उठाएको भएपनि यसमा सरकारले ध्यान नदिएको उनले बताए । ‘अक्टोबरमा सत्ता हातमा लिँदा राष्ट्रपतिले नयाँ संविधान बनाएर दुई वर्षभित्र निर्वाचन गर्ने वाचा गरेका थिए । हामीले संवैधानिक सुधारमा सबै पक्षलाई समेट्न भनेका थियौँ ।
किनकि, निर्वाचन प्रणालीमा सुधार हामीले उठाएको एउटा प्रमुख विषय थियो । अहिलेको प्रणालीले धेरै पैसा भएका मानिसलाई मात्रै जिताउन सक्छ,’ रान्ड्रियामान्द्रातोले भने ।
राष्ट्रपतिका प्रवक्ता राहाजासोनले राष्ट्रिय संसद् भवन जलाउने तथा राष्ट्रपतिमाथि आक्रमण गर्ने प्रयास भइरहेको प्रतिक्रिया दिएका छन् । राष्ट्रपतिको घरमाथि ११ अप्रिलमा ड्रोन उडेको भिडियो फुटेज देखाउँदै उनले यस्तो दाबी गरे ।
फेब्रुअरीमा राष्ट्रपति रान्ड्रियानिरिनाले मस्को गएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटेका थिए । उनले सैन्य ट्रक, हेलिकोप्टर ट्यांकहरु त्यहाँबाट सहयोग ल्याए ।
राहाजासोनले राष्ट्रपतिको सुरक्षामा रुसीहरू खटिएको स्विकारे । गार्डियनले यसको संख्या र उपस्थितिका विषयमा सोधेको थियो ।
राहाजासोनले भने, ‘यस्तो प्रश्न किन सोध्नुहुन्छ ? युक्रेनी राष्ट्रपतिले अन्य राष्ट्रियताका मानिसहरूलाई सुरक्षाका लागि किन आव्हान गरिरहेका छन् ? के त्यो स्वभाविक छ ? अनि, मादागास्करले अन्तर्राष्ट्रिय सुरक्षाकर्मी ल्याउनुचैं अस्वाभाविक हुनुपर्ने कारण के छ ?’
जेन-जी आन्दोलनपछि थोरै मात्र मुलुकमा अपेक्षित सुधार भएका छन् । धेरै मुलुक थप संकटमा फसे ।
थोरै सफल देशमध्ये बंगलादेश एक हो । यहाँ २०२४ मा आन्दोलन सम्पन्न भएको थियो । तत्कालीन प्रधानमन्त्री शेख हसिना ५ अगस्टमा हेलिकोप्टर चढेर भारत भागिन् ।
त्यसयता, नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले झन्डै १८ महिनापछि यसै वर्ष फेब्रुअरीमा निर्वाचन सम्पन्न गर्यो ।
बंगलादेश नेसनल पार्टी (बीएनपी) अध्यक्ष तरिक रहमान प्रधानमन्त्री चुनिए । प्रत्यक्षतर्फका ३ सय सिटमध्ये २ सय ९ सिट उनको पार्टीले जित्यो ।
शेख हसिना कार्यकालमा भएका पछिल्ला तीन वटा निर्वाचन बहिस्कार गरेको बीएनपी बंगलादेशका पुराना पार्टीमध्ये एक हो । १९७८ मा तरिकका बाबु जनरल जिउर रहमानले यस पार्टी स्थापना गरेका थिए । पार्टीबाट विगतमा जिउर राष्ट्रपति र उनकी पत्नी बेगम खालिदा प्रधानमन्त्री निर्वाचित भइसकेका छन् । त्यसैगरी, सन् २००१ मा यही पार्टीका बदरुद्दोजा चौधरी राष्ट्रपति चुनिएका थिए ।
बंगलादेशमा मध्यमार्गी प्रजातान्त्रिक शक्ति बीएनपीको विजय उत्साहजनक रहेपनि विपक्षमा कट्टरपन्थी इस्लामिक पार्टी जमात्–ई–इस्लामीको उदयले परिवर्तनको नारा लगाउनेहरूलाई झस्काएको छ ।
६८ सिटसहित यो पार्टी बंगलादेशको संसद्मा प्रमुख प्रतिपक्षी हो । यसले कुनै पनि महिला उम्मेदवारलाई निर्वाचनमा उठाएको थिएन । त्यसैगरी अल्पसंख्यक हिन्दू समुदायले निर्वाचन पूर्व व्यहोरेका हिंसाका घटनामा यस पार्टीका कार्यकर्ता संलग्न रहेको पाइएको थियो ।
२०२४ मा आन्दोलनको नेतृत्व गरेका युवाहरूले स्थापना गरेको वैकल्पिक शक्ति नेसनल सिटिजन पार्टी (एनसीपी) ले यस निर्वाचनमा ६ सिट मात्रै जितेको छ । तर, फेब्रुअरीमा संसदीय निर्वाचनसँगै भएको जनमत संग्रहले ‘जुलाई चार्टर’ अनुमोदन गरेको छ ।
यस बडापत्रमा २०२४ को आन्दोलनमा उठेका मुद्दाहरू सम्बोधन गरेर संवैधानिक सुधारका कार्यक्रम समावेश गरिएको छ । जनमत संग्रहबाट अनुमोदन भएका यी विषयलाई नयाँ संसद्ले ६ महिनाभित्र पारित गरेर संशोधन गर्नुपर्नेछ ।
त्यही कारण, संख्यात्मक रूपमा संसद्मा एनसीपीको प्रतिनिधित्व थोरै भएपनि उनीहरूको मुद्दाले जितेको छ । एउटा ठूलो उतार–चढावपछि बंगलादेश फेरि स्थिरताको बाटोमा हिँडेको छ ।
गत सेप्टेम्बरमा पेरुका युवाहरूले पनि आन्दोलन गरे । लगातार देशमा आपराधिक घटना बढ्दै गएको विरोधमा उनीहरूले राष्ट्रपति र संसद् सदस्यहरूको राजीनामा मागेका थिए । अन्ततः राष्ट्रपति डिना बोलुआर्टे जेगारालाई १० अक्टोबरमा महाभियोग लगाएर संसद्ले हटायो ।
तर, ३८ वर्षीय जोसे एन्रिक्यु जेरी नयाँ राष्ट्रपति बन्दा जेन-जी आन्दोलनकारी खुसी हुन सकेनन् । एन्रिक्युमाथि यौन दुव्यर्हारको आरोप थियो । उनको राजीनामा माग्दै युवाहरूले लगातार प्रदर्शन गरिरहे । १७ फेब्रुअरीमा जेरीले राजीनामा दिए ।
त्यसयता, ८३ वर्षका जोसे मारिया बाल्काजर अन्तरिम राष्ट्रपति छन् । पेरुमा जुनमा राष्ट्रपतीय निर्वाचनको पहिलो चरण र जुलाईमा दोस्रो चरणमा मतदान हुँदैछ । एक दशकदेखि ६ नेताहरुबीच चलिरहेको सत्ता–दौडधुपलाई जेन-जी आन्दोलनले परिवर्तन गर्यो । तर, अस्थिरताको चक्र परिवर्तन हुन सकेन ।
इन्डोनेसियामा मांगा झन्डा बोकेर जेन-जी युवाहरूले भ्रष्टाचार, बेरोजगारी , मूल्यवृद्धि अन्त्य, सुशासन र सामाजिक न्यायको माग गरे । जापानी सिरिज वान पिसमा देखाइने मांगा झन्डालाई विश्वका अन्य आन्दोलनमा फैलाउन यसले ठूलो भूमिका खेलेको थियो । सन् २०२५ को फेब्रुअरीमा सुरु भएको यस प्रदर्शनले नेपाल, मादागास्कर र पेरुमा आन्दोलनकारीलाई प्रेरित गरेको थियो ।
अगस्ट र सेप्टेम्बरमा आन्दोलन उच्च थियो । गत वर्षको अन्त्यसम्म नै संघर्ष जारी रह्यो । जाकार्ता, सुमात्रा, सुलेवासी, पपुवालगायत स्थानमा प्रहरीले टियर ग्याँस र गोली चलाउँदा कम्तीमा १० युवाहरूले ज्यान गुमाए । आन्दोलनका दौरान इन्डोनेसियाका सार्वजनिक पूर्वाधारहरूमा तोडफोड र आगजनी भयो ।
यति ठूलो चर्चा र क्षतिका बाबजुद पनि इन्डोनेसियामा सत्ता परिवर्तन भएन । तर, आन्दोलनले कुलीनहरूको मुटु काँप्यो , केही समय राष्ट्रपति प्राबोओ सुबियान्तो घरमै लुकेर बसेका थिए ।
फिलिपिन्समा पनि गत सेप्टेम्बरको सुरुदेखि नै भ्रष्टाचार विरोधी आन्दोलन सुरु भएको थियो । झन्डै ८ महिनादेखि यहाँ निरन्तर आन्दोलन चलिरहेकै छ । तर सत्ता र शक्तिमा उल्लेख्य परिवर्तन भएको छैन ।
मोरक्कोमा ठूलो संख्यामा युवाहरू बेरोजगार छन् । विद्यालय र अस्पतालका पूर्वाधार जीर्ण भइसकेका छन् । यस्तो अवस्थाबीच सरकारको ध्यान विश्वस्तरीय फुटबल रंगशालाजस्ता विलासी परियोजनाहरूमा केन्द्रित छ । यस्तो परिस्थितिविरुद्ध युवाहरूले आन्दोलन गरेका थिए । तर सत्ता फेर्न सकेनन् ।
(एजेन्सीहरूको सहयोगमा)
