आफ्ना जहाजलाई हर्मुज क्षेत्रबाट फर्किन बाध्य पारिएपछि भारतले दिल्लीस्थित इरानी राजदूतलाई बोलाएर औपचारिक रूपमा चिन्ता जनाएको हो।
काठमाडाैं — भारतले हर्मुज स्ट्रेटमा आफ्नो देशको झन्डा लागेको जहाजमाथि भएको गोलाबारीप्रति चिन्ता व्यक्त गरेको छ।
आफ्ना जहाजलाई हर्मुज क्षेत्रबाट फर्किन बाध्य पारिएपछि भारतले दिल्लीस्थित इरानी राजदूतलाई बोलाएर औपचारिक रूपमा चिन्ता जनाएको हो।
शनिबार हर्मुज क्षेत्रमा भारतको झन्डा रहेका दुई जहाजलाई बाटो परिवर्तन गर्न बाध्य पारिएको थियो।
बीबीसी पर्सियनका अनुसार ट्यांकरहरूको आवतजावतबारे निगरानी गर्ने वेबसाइट ‘ट्यांकर ट्र्याकर’ले उक्त घटनाका क्रममा गोली हानाहान समेत भएको जनाएको छ। इरानी जलसेनाले हर्मुजको पश्चिमी क्षेत्रमा दुई भारतीय जहाजलाई पछाडि हट्न बाध्य बनाएको थियो।
त्यसअघि इरानी सेना (आईआरजीसी) ले पनि हर्मुज क्षेत्रबाट पछाडि हट्न आदेश दिएको थियो। ती जहाजहरू लारक टापु पार गरेपछि गति कम गरी यू-टर्न लिएर फर्किएका थिए।
यसैबीच शनिबार नै भारतीय विदेश सचिवले इरानी राजदूतलाई मन्त्रालयमा बोलाएका थिए। भेटका क्रममा उनले भारतीय जहाजमाथि भएको गोलाबारीप्रति चिन्ता व्यक्त गरे।
उनले भारतले व्यापारिक जहाज र चालक दलको सुरक्षालाई उच्च प्राथमिकता दिने बताउँदै इरानले यसअघि भारत आउने जहाजहरूको सुरक्षित आवागमनमा सहयोग गरेको स्मरण पनि गराए।
यस अवसरमा इरानी राजदूतले भारतको गुनासो आफ्नो सरकारसम्म पुर्याउने र भारततर्फ आउने जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने आश्वासन दिएका थिए।
