गत महिना पनि भारतको पश्चिम क्षेत्रमा रहेको एक पटाका कारखानामा आगलागी हुँदा १७ जनाको मृत्यु भएको थियो ।
नयाँ दिल्ली — भारतको दक्षिणी क्षेत्र तामिलनाडुको भिरुदुनगरस्थित एक पटाका कारखानामा आइतबार भएको आगलागीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६ जना घाइते भएका छन् ।
स्थानीय प्रहरी प्रमुख एन श्रीनाथका अनुसार आगलागीमा कम्तीमा २० जनाको मृत्यु भएको पुष्टि भएको छ । उनले आगलागीको कारण खुल्न नसकेको र उद्धारकर्ताले घटनास्थलमा अझै काम गरिरहेको बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत उक्त घटनामा आफ्ना प्रियजन गुमाएका पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले एक्समा एक पोस्ट गर्दै पटाका कारखानामा भएको आगलागी र मृत्युको घटना ‘दुःखद्’ भएको बताए ।
मध्य भारतको एक विद्युत गृहमा यसै साता भएको विस्फोटमा पनि २० जनाभन्दा बढीको मृत्यु भएको थियो । गत महिना पनि भारतको पश्चिम क्षेत्रमा रहेको एक पटाका कारखानामा आगलागी हुँदा १७ जनाको मृत्यु भएको थियो ।
