इरानको संसद्का सभामुख गालिबाफले नाकाबन्दी कायम रहेसम्म हर्मुज नखुल्ने बताए ।
काठमाडौँ — इरानले शुक्रबार हर्मुज जलघाँटी खुला भएको घोषणा गरेपनि निर्वाध आवागमनका लागि जहाजहरुले समस्या व्यहोरेका छन् ।
इरानका विदेशमन्त्री अब्बास अराग्चीले शुक्रबार जलघाँटी खुला भएको घोषणा गरे पनि शनिबार संसद्का सभामुख मोहम्मद बगेर गालिबाफःले अवरोध कायमै रहने चेतावनी दिए ।
'अमेरिकाले इरानका बन्दरगाहमाथि गरेको नाकाबन्दी नहटेसम्म हर्मुजमा नाकाबन्दी कायम रहनेछ,' उनले भने ।
अमेरिकाको टेक्सास ए एन्ड एम विश्वविद्यालयका समुद्री आपुर्तिकर्ता विज्ञ जोन पाउल रोड्रिगले धेरै जहाजहरुले आवागमनमा समस्या व्यहोरिरहेको खबर प्राप्त भएको बताए ।
‘शुक्रबार घोषणालगत्तै धेरै जहाजहरुले हर्मुज पार गर्ने प्रयास गरे । तर, अवस्था अस्पष्ट भएपछि उनीहरु फेरि फर्किएका छन्,’ अल जजिरासँग रोड्रिगले भने, ‘सबै पक्षले विरोधाभासपूर्ण सुचना जारी गरिरहेका छन् ।’
शुक्रबार लेबनान र इजरायलबीच १० दिने युद्धविराम लागु भएको छोटो समयमै विदेशमन्त्री अराग्चीले हर्मुज खुलेको घोषणा गरेका थिए । इरानले लेबनानमाथिको इजरायली आक्रमण बन्द हुनुपर्ने माग लगातार उठाउँदै आएको थियो ।
‘युद्धविराम अवधिका लागि स्ट्रेट अफ हर्मुज खुला गरिएको छ । सबै व्यावसायिक जहाजहरूको लागि बाटो पूर्ण रूपमा खुला छ,’ विदेशमन्त्री अराग्चीले सामाजिक सञ्जाल एक्समा लेखेका थिए । जहाजहरुले इरानी जल अधिकारीहरुसँग समन्वय गर्नुपर्ने उनले बताए ।
तर, हर्मुज हुँदै बाहिरिने जहाजले तेहरानलाई शुल्क बुझाउनुपर्छ वा पर्दैन भन्नेबारे उनले केही बताएका थिएनन् । तेहरानले युद्ध सुरु भएको केही समयपछि हर्मुज हुँदै जाने जहाजसँग टोल ट्याक्स उठाउन थालेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सामाजिक सञ्जाल ट्रुथमा एक पोस्ट गर्दै इरानलाई हर्मुज खोलेकोमा धन्यवाद् दिएका थिए ।
तर, सम्झौता नभएसम्म अमेरिकी जलसेनाले इरानका बन्दरगाहहरुमा लगाएको नाकाबन्दी कायमै रहने चेतावनी पनि उनले दिए ।
प्रतिक्रिया स्वरुप इरानको संसद्का सभामुख गालिबाफले नाकाबन्दी कायम रहेसम्म हर्मुज नखुल्ने बताए ।
यसअघि ७ अप्रिलमा इरानसँग दुई साता लामो युद्धविराम घोषणा गर्दै ट्रम्पले हर्मुजको जलघाँटी खोल्ने सहमति बनेको दाबी गरेका थिए । पाकिस्तानको मध्यस्थतामा यो युद्धविराम भएको थियो ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले दुबै पक्ष र एक–अर्काकाका सहयोगीविरुद्ध आक्रमण नगर्ने सहमति इरान र अमेरिकाबीच बनेको बताएका थिए ।
तर, इजरायलले यो सहमतिमा लेबनानको सशस्त्र समुह हिजबुल्लाहविरुद्धको लडाँइ समावेश नभएको दाबी गर्दै लेबनानमा आक्रमण जारी राख्योे । ट्रम्पले पनि इजरायली दाबीलाई समर्थन गरे ।
बदलामा इरानले लेबनानमा आक्रमण बन्द नभएसम्म हर्मुजको जलघाँटी नखोल्ने अडान लियो । लेबनानको विद्रोही समुह हिजबुल्लाहलाई इरानले आर्थिक तथा सैन्य समर्थन उपलब्ध गराउँदै आएको छ ।
यस अवधिमा इरान र अमेरिकाबीच ११ अप्रिलमा पाकिस्तानको इस्लामावादमा वार्ता सुरु भएको थियो । सन् १९७९ मा इरानमा इस्लामिक क्रान्ति सम्पन्न भएयता अमेरिका–इरानबीचको यो पहिलो प्रत्यक्ष वार्ता थियो । तर, वार्तामा कुनै सहमति जुटेन ।
त्यसपछि, १३ अप्रिलमा अमेरिकाले हर्मुजमा नाकाबन्दी घोषणा गर्यो । जसअनुसार, अमेरिकाले ओमानको खाडी र अरेबियन सागर हुँदै इरानका बन्दरगाहहरूमा जहाजहरूलाई आवत–जावत गर्न रोक लगाएको छ । इरानको तेल व्यापार ठप्प पार्ने लक्ष्यले अमेरिकाले यस्तो नाकाबन्दी घोषणा गरेको हो ।
अहिले तनावका बाबजुद दुबै देश आगामी वार्ताका लागि पनि तयारी गरिरहेका छन् । नयाँ चरणको वार्ताको पहल पनि पाकिस्तानले नै गरिरहेको छ । अन्तर्राष्ट्रिय समुदायले पनि दुबै देशलाई संवादमार्फत सहमतिमा पुग्न आग्रह गरिरहेको छ ।
हर्मुज किन महत्वपूर्ण छ ?
ओमान र इरानसँग सीमाना जोडिने हर्मुज जलघाँटी रणनीतिक र व्यापारिक रुपमा निकै महत्वपूर्ण छ । यस जलघाँटीमा भएको अवरोधले विश्वव्यापी उर्जा संकट र मूल्यवृद्धि निम्त्याएको छ ।
प्राचीकालदेखि नै यो जलघाँटी पश्चिम एशियासँग बाँकी विश्वलाई जोड्ने महत्वपूर्ण रुट रहि आएको छ । पश्चिम एसियाबाट विश्व बजारमा जाने कच्चा तेल तथा ग्यासको अधिकांश हिस्सा हर्मुज हुँदै बाहिरिन्छ ।
जलघाँटीको सबैभन्दा साँघुरो बिन्दू ३३ किलोमिटरमात्रै चौंडा छ । जहाँ, पश्चिम एशिया छिर्ने र त्यहाँबाट फर्कने ३–३ किलोमिटरका दुईवटा साँघुरा सिपिङ लेन छन् ।
युद्ध सुरु हुनअघि यहाँबाट विश्वको कुल ग्यास तथा कच्चा तेलको २० प्रतिशतभन्दा धेरै हिस्सा बाहिरिन्थ्यों । त्यसमध्ये अधिकांश तेल एसियाली बजारमा आउने गरेको छ ।
युक्रेन युद्धका कारण रुससँगको व्यापार बन्द गरेका पश्चिम युरोपेली देशहरुमा पनि यहाँबाट उल्लेख्य परिमाणमा कच्चा तेल जाने गरेको थियो ।
हर्मुज बन्द हुँदाको असर विश्वव्यापी रुपमा परेको छ । कच्चा तेल, ग्यास, रासायनिक मल, प्लास्टिकका सामाग्री बनाउन आवश्यक कच्चा पदार्थलगायतको संकट विश्वव्यापी छ ।
