अमेरिकाको सान फ्रान्ससिस्को सहरद्वारा नेपाली नयाँ वर्षलाई औपचारिक मान्यता

विश्वकै ठूलो अर्थतन्त्र रहेको मानिने क्यालिफोर्नियाको सान फ्रान्ससिस्कोले नेपाली समुदायप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष अप्रिल १४ लाई नेपाली नयाँ वर्षका रूपमा औपचारिक मान्यता दिएको हो ।

वैशाख ३, २०८३

सुदीप शिवाकोटी

The city of San Francisco, USA, officially recognizes the Nepali New Year.

What you should know

अमेरिका — अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्ससिस्को सहरले नेपाली नयाँ वर्षलाई औपचारिक मान्यता दिएको छ । 

विश्वकै ठूलो अर्थतन्त्र रहेको मानिने क्यालिफोर्नियाको सान फ्रान्ससिस्कोले नेपाली समुदायप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष अप्रिल १४ लाई नेपाली नयाँ वर्षका रूपमा औपचारिक मान्यता दिएको हो ।

सान फ्रान्ससिस्कोका मेयर डानिइल लुरीइलेले औपचारिक पत्र जारी गर्दै हरेक वर्ष अप्रिल १४ लाई नेपाली नयाँ वर्षका रूपमा मान्यता दिइएको घोषणा गरेका छन् । औपचारिक पत्रमा नवीनता, कृतज्ञता र सांस्कृतिक उत्सवको प्रतीकका रुपमा नेपाली नयाँ वर्षलाई मान्यता दिएको उल्लेख छ । नेपाली नयाँ वर्षलाई औपचारिक मान्यता दिएको घोषणा गरेलगत्तै सान फ्रान्ससिस्कोस्थित नेपाली महावाणिज्य दूतावासले आभार व्यक्त गरेको छ । 

अमेरिकास्थित नेपाली महावाणिज्य दूतावासले फेसबुक पेजमार्फत् सान फ्रान्ससिस्कोसहित सान्टा क्लारा, रिमोन्ड र हरकुलर्सले नेपाली समुदायप्रति प्रकट गरेको सम्मानमा कृतज्ञ रहेको उल्लेख गर्दै आभार व्यक्त गरेको हो । घोषणा–पत्रमा बिस्केट जात्रा,  नयाँ वर्ष उत्सवजस्ता परम्परागत गतिविधिले समुदायबीच एकता, खुसी र सांस्कृतिक पहिचानलाई सुदृढ बनाउने दाबी गरिएको छ । घोषणामा सान फ्रान्ससिस्को बे एरियामा बसोबास गर्दै आएका नेपालीले भिन्नभिन्न सांस्कृतिक क्षेत्रमा पुर्‍याएको योगदानको पनि प्रशंसा गरिएको छ ।

यसैगरी सान फ्रान्ससिस्को क्षेत्रमा रहेका साना सहरहरु सान्टाक्लारा, रिचमोन्ड र हरकुलर्सले पनि अप्रिल १४ लाई नेपाली नयाँ वर्षका रुपमा औपचारिक मान्यता दिएका छन् । सान फ्रान्ससिस्कोसहित सान्टाक्लारा, रिचमोन्ड र हरकुलर्समा करिब ३० हजार बढी नेपालीको बसोबास छ । अप्रिल १४ लाई नेपाली नयाँ वर्षको मान्यता दिएपछि रिचमोन्ड सहरमा नेपाली झण्डोत्तोलन गरिएको थियो । रिचमोन्ड सहरले हरेक वर्ष अप्रिल १४ मा नेपाली झण्डोत्तोलनसमेत गर्ने घोषणा गरिसकेको छ ।

क्यालिफोर्नियासँगै नेपालीको बाक्लो बसोबास रहेको राज्य टेक्सास, न्युयोर्क, मेरिल्यान्ड, बोस्टन, भर्जिनियामा हरेक वर्ष नेपाल परेड आयोजनासमेत हुँदै आएको छ ।

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully