रोहिंग्या संकट : ८ वर्षसम्म पनि सुरक्षित घर–बासकै खोजी

संयुक्त राष्ट्रसंघीय शरणार्थी मामिला सम्बन्धी नियोग (युएनएचसीआर) को सन् २०२६ को प्रतिवेदनअनुसार बंगलादेशको कोक्स बजार आसपास झन्डै ११ लाख ८० हजार रोहिंग्या बिस्थापित छन् । उनीहरूलाई अझैसम्म पनि बंगलादेशले शरणार्थीको औपचारिक मान्यता दिएको छैन ।

वैशाख ३, २०८३

अन्वेषण अधिकारी

Rohingya crisis: The search for a safe home continues for 8 years

काठमाडौँ — बंगलादेशको तेक्नाफबाट मलेसियाका लागि हिंडेका रोहिंग्या शरणार्थी चढेको डुंगा अन्डमान सागरमा दुर्घटना हुँदा महिला र बालबालिकासहित २ सय ५० जना बेपत्ता भएको जानकारी मंगलबार आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम) ले जनाएको छ ।

तिव्र हावा, पुरानो र खचाखच यात्रुहरु बोकेको डुंगा, खतरनाक बाटोलगायत कारणले दुर्घटना निम्तिएको अधिकारीहरुले बताएका छन् । बेपत्ता हुनेमा केही बंगलादेशी नागरिक पनि छन् । 

यस घटनामा बाँचेका राफीकल इस्लामले एएफपी न्युज एजेन्सीसँग आफुलाई तस्करहरुले मलेसियामा जागिर दिलाउने प्रलोभनमा पारेर लगेको बताएका छन् । उनले डुंगा दुर्घटनामा परेपछि लामो समय समुद्रमै तैरिएर बसिरहेको बताए । डुंगाबाट चुहिएको तेलले आफुलाई पोलेको अनुभव पनि उनले सुनाए । 'डुब्‍नुअघि यो डुंगा चार दिनसम्म यात्रामा थियो । जहाजले उद्धार गर्नुअघि हामी ३६ घण्टासम्म तैरिरह्‍यो,' उनले भने ।

यसक्रममा झन्डै ३० जनाको निसास्सिएर ज्यान गएको उनले बताए । मुस्लिम बाहुल्य देश भएकाले रोहिंग्याहरुले मलेसियालाई आकर्षक गन्तव्य मान्‍ने गरेका छन् । 

यस दुर्घटनाले रोहिंग्याले सामना गरिरहेको लगातारको सुरक्षा चुनौती र उनीहरुलाई बाँकी विश्वले पर्याप्त सहयोग गर्न नसकेको तथ्य उजागर गरेको छ ।

अगस्ट २०१७ मा ठूलो मात्रामा सरकारी दमन, हिंसा र गम्भीर मानव अधिकार उल्लङ्घनका कारण म्यानमारको राखाइन राज्यबाट हजारौं रोहिंग्याहरू आफ्नो घर छोडेर बंगलादेश छिरेका थिए । सुरक्षा प्राप्त गर्ने आशामा उनीहरुले जंगको कठिन बाटो र बंगालको खाडी पार गर्दै खतरनाक समुद्री यात्रा गरे । त्यसयता, वर्षेनी रोहिंग्याहरु देश छाडेर हिडिंरहेका छन् । तर बिस्थापित भइसकेपछि उनीहरुले पाउने कस्ट पनि कम छैन । 

संयुक्त राष्ट्रसंघले रोहिंग्याहरूलाई ‘विश्वको सबैभन्दा सताइएका अल्पसंख्यक’  भनेर व्याख्या गरेको छ । उनीहरू अवसरको खोजीमा मलेसिया, थाइल्यान्ड र दक्षिणपूर्वी एसिया तथा दक्षिण एसियाका भारत–पाकिस्तान र नेपालसम्म पनि आइपुगेका छन् ।

रोहिंग्याहरू मुस्लिम जातीय अल्पसंख्यक समूह हुन् । जाे शताब्दीयौंदेखि बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको म्यानमारमा बस्दै आएका छन् । धेरै पुस्तौंदेखि बसोबास गरेपनि उनीहरूलाई म्यान्मार सरकारले आधिकारिक जातीय समूहको रूपमा मान्यता दिएको छैन ।

त्यस्तै, १९८२ देखि नागरिकताबाट वञ्चित गरिएको छ । जसले गर्दा उनीहरू विश्वको सबैभन्दा ठूलो राज्यविहीन जनसंख्या बनेका छन् । अअगस्ट देखि डिसेम्बरको अवधिमा म्यान्मारबाट भागेर ६ लाख ५५ हजारदेखि ७ लाख ४० हजार मानिस ब‌ंगलादेशको कक्स बजारमा आइपुगेको वर्ल्ड रिलिफ रेस्पोन्सको तथ्यांकले देखाउँछ । 

यसमध्ये केही व्यक्तिहरु अन्यत्र गए । धेरैजसो मानिसहरू कोक्स बजारमा कुतुपालोङ र नयाँपारा तथा आसपासका क्षेत्रमा बसे । यहाँ झन्डै ३३ वटा रोहिंग्या शरणार्थी शिविर छन् । यो  क्षेत्र विश्वकै ठूलो शरणार्थी जनसंख्या बस्ने शिविर भएका क्षेत्रमध्ये एक हो । 

संयुक्त राष्ट्रसंघीय शरणार्थी मामिला सम्बन्धी नियोग (युएनएचसीआर) को सन् २०२६ को प्रतिवेदनअनुसार यहाँ जनसंख्या कम्तिमा ११ लाख ८० हजार आसपास पुगेको छ । यसमध्ये झन्डै आधा जनसंख्या बालबालिकाको रहेको युएनएचसीआरले जनाएको छ ।  शिक्षाबाट विमुख, बाल श्रम,  बालविवाह, मानव तस्करीलगायतको जोखिममा यी बालबालिका रहेको राष्ट्रसंघीय बालबालिका सम्बन्धी नियोग (युनिसेफ) ले जनाएको छ । 

युएनएचसीआरमा पूर्ण दर्ता हुन बाँकी, तर यहाँ बसोबास गर्नेहरुको संख्या पनि ठूलो छ । २०२१ मा म्यान्मारमा सैनिक शासन सुरु भएपछि म्यानमारको राखाइन राज्य थप असुरक्षित छ । यहाँ अपरेशनका दौरान कतिपय ठाउँमा सर्वसाधारणका घर जलाउने तथा उनीहरुलाई निशाना बनाउने गरेको आरोप सेनामाथि लाग्दै आएको छ । यस्तो असुरक्षित अवस्थाले थप जनसंख्या बिस्थापित भएको छ । 

Rohingya crisis: The search for a safe home continues for 8 years

राष्ट्रसंघले शरणार्थीका रूपमा दर्ता गरेर मानवीय सहायता उपलब्ध गराएपनि बंगलादेशले रोहिंग्यालाई शरणार्थीको औपचारिक मान्यता दिएको छैन । राष्ट्रसंघका अनुसार शिविरका ९५ प्रतिशत परिवार परोपकारी संस्थाहरुले दिने मानवीय सहायतामा निर्भर छन् । बंगलादेश सरकारबाट शरणार्थीको मान्यता नपाउँदा उनीहरुलाई औपचारिक शिक्षा र औपचारिक कामका थोेरैमात्र अवसर उपलब्ध छन् । 

रोहिंग्या शरणार्थीहरूको लागि खाद्य सहायता ठूलो रुपमा घट्दै गएको इन्टरनेशनल रेस्क्यु कमिटी (आईआरसी) को नयाँ प्रतिवेदनले जनाएको छ । उक्त प्रतिवेदनअनुसार बंगलादेशका शरणार्थी शिविरहरूमा बस्ने १८ देखि २४ वर्ष उमेरका लगभग पाँच लाख युवाहरू बेरोजगार छन् । 

प्रतिवेदनले कक्स बजार शरणार्थी शिविर र आसपासका स्थानीय समुदायका ५०० घरपरिवारमा तुलनात्मक सर्वेक्षण पनि गरेको छ । जसअनुसार त्यस क्षेत्रमा बस्ने ८४% बंगलादेशी आश्रयदाता समुदायका सदस्यहरूले आफ्ना बच्चाहरुको भविष्यलाई लिएर आशावादी रहेको बताए । तर, २ प्रतिशत रोहिंग्या शरणार्थीले मात्रै आफ्नो सन्तानको भविष्यबारे आशावादी महसुस गरेको बताए । 

यस क्षेत्रमा खाद्य रासन घटेको, आवश्यक पोषण पूरा हुन नसकेकोलगायत संकट प्रतिवेदनले औंल्याएको छ । रोहिंग्याहरू प्राय: अनौपचारिक  श्रम गर्छन् । सर्वेक्षणका क्रममा शरणार्थी परिवारहरूले २०१६ र २०२० को अवधिमा औसत वार्षिक आम्दानी २४% ले घटेको जानकारी गराएको आइआरसीले जनाएको छ । अदक्ष कामदारका हकमा ज्याला ३८ प्रतिशतले घटेको छ । 

‘कक्स बजारमा, मैले त्यस्ता परिवारहरूलाई भेटें जो बाँच्नको लागि सक्दो प्रयास गरिरहेका छन् । तर खाद्यान्न सहायता घट्दै गएको छ ।  उनीहरूसँग आय सुरक्षित गर्ने कुनै साधन छैन । मैले ती अभिभावकहरूलाई भेटें जसले आफ्ना बच्चाहरूका लागि अन्न बाँकी राख्न छान छाड्नुको विकल्प छैन । धेरै अभिभावकसँग यो संकट टार्न आफ्ना बच्चाहरूलाई काममा पठाउनुको विकल्प छैन,’ आईआरसीका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम डेलिभरी प्रमुख एलिनोर राइक्सले भने । रोहिग्यां शरणार्थीका लागि अन्तर्राष्ट्रिय समुदायले सहयोग बढाउनुपर्ने आइआरसीले जनाएको छ । 

यहाँबाट सहज जीवन र सुनौलो भविष्य खोज्दै ज्यान जोखिममा राखेर शरणार्थीहरु इन्डोनेसिया र मलेसिया जाने गर्छन् । पुरानो डुंगामा कोचिएर गरिने यो अवैध यात्रा विश्वकै खतरनाक समुद्री यात्रामध्ये एक हो । 

(एजेन्सीको सहयोगमा)

अन्वेषण

Link copied successfully