इरान र अमेरिकाबीच दोस्रो चरणको वार्ताको तयारी

पाकिस्तानका सेनापति मुनिरले वार्ता सफल गराउनका लागि लामो समयदेखि भूमिका खेल्दै आएका छन् । यसअघि पहिलो चरणको वार्ता पाकिस्तानको इस्लामावादमै आयोजना भएको थियो । तर सफल हुन सकेन ।

वैशाख ३, २०८३

कान्तिपुर संवाददाता

Preparations for the second round of talks between Iran and the US

काठमाडौँ — इरान र अमेरिकाले दोस्रो चरणको वार्ताका लागि तयार रहेको बताएका छन् । बुधबार पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल अशिम मुनिर इरानसँग छलफलका लागि तेहरान पुगेका थिए । उनले अमेरिकाको वार्ता प्रस्ताव इरान सरकारलाई सुनाएका थिए । त्यसक्रममा इरानी विदेशमन्त्री अब्बास अराग्चीले शान्ति र स्थायित्वका लागि आफ्नो देश तयार रहेको बताए । 

पाकिस्तानका सेनापति मुनिरले वार्ता सफल गराउनका लागि लामो समयदेखि भूमिका खेल्दै आएका छन् । यसअघि पहिलो चरणको वार्ता पाकिस्तानको इस्लामावादमै आयोजना भएको थियो । तर सफल हुन सकेन ।

अराग्चीले पाकिस्तानको प्रयासको प्रशंसा गरेका छन् । यस प्रयासले दुई देशबीचको गहिरो र सुदृढ सम्बन्ध उजागर गरेको पनि उनले बताए । ‘क्षेत्रीय शान्ति र स्थिरता प्रवद्र्धन गर्न हामी प्रतिवद्ध छौं । यो प्रतिबद्धता हामी (पाकिस्तान र इरान) को साझा हो,’ उनले भने । 

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसकी प्रेस सेक्रेटरी कारोलिन लेभिट्टले वार्ताको सकारात्मक वातावरण बनेको बताएकी छिन् । उनले दोस्रो चरणको वार्ताका लागि पनि पाकिस्तान नै राम्रो गन्तव्य हुने बताइन् । ‘ह्वाइटहाउसबाट औपचारिक कुरा नआएसम्म केही पनि आधिकारीक हुँदैन । तर अहिले सम्झौताको सकारात्मक वातावरण बनेको महसुस गरेका छौं,’ उनले भनिन् । 

यसअघि पहिलो चरणको वार्ता आणविक सम्वद्र्धनको मुद्दामा पुगेर टुंगिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका थिए । इस्लामावादमा उक्त वार्तामा अमेरिकाको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका थिए । 

८ अप्रिलमा दुई साता लामो युद्धविराम भएयता अमेरिका-इरानले एकअर्कामाथि प्रत्यक्ष आक्रमण गरेका छैनन् । तर इरानले पहिल्यै बन्द गरिसकेको हर्मुजको जलघाँटीमा अमेरिकाले आफ्नो जलसेना तैनाथ गरेको छ । यस जलघाँटी नाकाबन्दी गरिएको अमेरिकाले जनाएको छ । इरानले यस कार्यलाई डकौतीको आरोप लगाएको छ । 

कान्तिपुर

Link copied successfully