प्रत्यक्ष वार्ताका दौरान इरानको आणविक कार्यक्रम, हर्मुजको नियन्त्रण, इरानमाथिको प्रतिबन्धलगायत विविध विषयमा छलफल भए । तर, कुनै सहमति हुन सकेन ।
काठमाडौँ — अमेरिकी उपराष्ट्रपति जेडी भान्स बिना सहमति इस्लामावादबाट फर्किएका छन् । यसअघि शनिबारदेखि झन्डै २१ घण्टासम्म इरान–अमेरिकाबीच वार्ता चलेको थियो । यस प्रत्यक्ष वार्ताका दौरान इरानको आणविक कार्यक्रम, हर्मुजको नियन्त्रण, इरानमाथिको प्रतिबन्धलगायत विविध विषयमा छलफल भए । तर, कुनै सहमति हुन सकेन ।
‘इरानीहरुसँग धेरै विषयमा हाम्रो छलफल भयो । यो सुखद् समाचार हो । तर, हामी कुनै सहमतिमा पुग्न सकेनौं । यो दुखद् छ । मलाई लाग्छ, अमेरिकाभन्दा पनि इरानका लाग यो दुखद् छ,’ पत्रकार सम्मेलन गर्दै उनले भने, ‘हामी यस्तो अवस्थामा पुग्न सकेनौं । जहाँ इरानीहरुले हाम्रो शर्त स्विकारुन् ।’
इरानले भविष्यमा आणविक हतियार विकास नगर्ने प्रतिबद्धता व्यक्त गर्नु जरुरी रहेको उनले बताए । ‘हामीले त्यो अहिलेसम्म देखेका छैनौं । हामी उसले यस्तो प्रतिवद्धता व्यक्त गर्ने आशा गर्छौं,’ इस्लामावादमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
‘हामी यहाँ एकदमै सरल प्रस्ताव राखेर अमेरिका फर्कदैंछौं । हेरौं, इरानले यसलाई स्विकार्छ कि स्विकार्दैन,’ उनले थपे,' तर अहिलेसम्म हाम्रा शर्तहरूमा हामीले इरानलाई सहमत गराउन सकेनौं ।'
उनले पाकिस्तानका प्रधानमन्त्री र फिल्ड मार्शल मुनीरलाई धन्यवाद् दिएका छन् । ‘वार्तामा जेसुकै कमजोरी भए पनि पाकिस्तानीहरूले अद्भुत काम गरेका छन्,’ उनले भने ।
