यी विषयले जुटेन अमेरिका– इरान वार्तामा सहमति 

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार आणविक सम्वद्र्धनको मुद्दा र हर्मुजमा इरानको नियन्त्रणका विषयमा मतभेद कायमै रहदाँ वार्ता परिणाममुखी बन्‍न सकेन ।

चैत्र २९, २०८२

कान्तिपुर संवाददाता

These issues did not lead to agreement in the US-Iran talks

काठमाडौँ — इस्लामावादमा भएको अमेरिका-इरानबीचको वार्ता सहमति बिना नै टुंगिएको छ । शनिबार सुरु भएको वार्ता आइतबार बिहानसम्म कुल २१ घण्टा चलेको थियो । यसक्रममा दुबै पक्षले विभिन्न दस्तावेजहरु आदनप्रदान गर्दै त्यसमा व्यापक छलफल गरेका थिए । तर कुनै सहमति बन्न सकेन ।

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार आणविक सम्वद्र्धनको मुद्दा र हर्मुजमा इरानको नियन्त्रणका विषयमा मतभेद कायमै रहदाँ वार्ता परिणाममुखी बन्‍न सकेन । 

'इरानीहरुसँग धेरै विषयमा हाम्रो छलफल भयो । यो सुखद् समाचार हो । तर, हामी कुनै सहमतिमा पुग्न सकेनौं । यो दुखद् छ । मलाई लाग्छ, अमेरिकाभन्दा पनि इरानका लागि यो दुखद् छ,' इस्लामावादमा पत्रकार सम्मेलन गर्दै उनले भने, 'हामी यस्तो अवस्थामा पुग्न सकेनौं । जहाँ इरानीहरुले हाम्रो शर्त स्विकारुन् ।'

उनले इरानी प्रतिनिधिहरुलाई अमेरिकाले आफ्ना प्रस्ताव स्पष्टसँग राखेको र यो नै अन्तिम रहेको बताए । उनले वार्तामा अमेरिका निकै राम्रो नियत र सक्दो लचिलो रूपमा प्रस्तुत भएको दाबी गरे ।

'हामीले कुन–कुन विषयमा सम्झौता गर्न तयार छौं र कुन विषयमा सम्झौता गर्दैनौं भनेर स्पष्टै बताएका छौं,' उनले भने । पत्रकार सम्मेलनलगत्तै भान्स नेतृत्वको अमेरिकी टोली वासिङटन फर्किएको थियो । उनले वार्तामा छलफल भएका मुद्दाबारे विस्तृत जानकारी भने दिएनन् । तर, आणविक हतियारको महत्वाकांक्षा त्याग्ने प्रतिबद्धता इरानसँग अमेरिकाले खोजेको बताए । '

उनीहरु आणविक हतियार बनाउनसक्ने अवस्थामा छैनन् । तर, हामी चाहन्छौं । भविष्यमा यस्तो कार्य नगर्ने सकारात्मक प्रतिक्रिया उनीहरुबाट आओस्,' भान्सले भने ।

भान्स नेतृत्वको अमेरिकी प्रतिनिधिमण्डलमा राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुस्नर र मध्यपूर्वका लागि राजदूत स्टिभ विटकफ पनि वार्तामा सहभागि थिए ।

स्थायी रुपमा युद्ध अन्त्य आणविक सम्वद्र्धनको मुद्दा र हर्मुज जलघाँटीको नियन्त्रण, युद्धमा भएको विध्वंशको क्षतिपुर्तिलगायत विषय वार्तामा उठाइएको इरानी पक्षले जनाएको छ । ती विषयमा मतभेद हुँदा वार्ता हुन नसकेको इरानी अधिकारीहरुले बताएका छन् ।

इरानको फार्स न्युज एजेन्सीले इरानी प्रतिनिधिमण्डल निकट स्रोतलाई उद्रृत गर्दै लेखेको छ । ‘अमेरिकाले ती सबै कुराहरु वार्ताबाट हासिल गर्न खोज्यो, जो युद्धबाट सकेन । हर्मुज, शान्तिपूर्ण आणविक कार्यक्रम र अन्य धेरै मामिलामा अमेरिकाले राखेका चर्का माग हामीले स्विकार्न सकेनौं ।’

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले दुई देशबीच धेरै मुद्दाहरुमा समझदारी बनेको छ । उनले दुईदेखि तीन महत्वपूर्ण विषयमा मतभेद कायमै रहेको बताए । ‘यी वार्ताहरू ४० दिन लामो युद्धपछि अविश्वास र शंकाको वातावरणमा सम्पन्न भएका थिए । त्यसैले एउटै बैठकमा सहमति जुट्ने अपेक्षा हामीले गरेका थिएनौं ।  कसैले पनि त्यस्तो अपेक्षा गरेका थिएनन्,’ उनले भने ।

वार्तामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व संसदका सभामुख मोहम्मद बागेर गालिबाफले गरेका थिए । इरानी विदेशमन्त्री अब्बास अराग्चीसहित विशिष्ट अधिकारी यस प्रतिनिधिमण्डलमा थिए । 

अमेरिकाको असल नियत र विश्वासमा वार्ताको सफलता निर्भर रहने प्रवक्ता बघाईले बताए । इरानले आफ्ना  वैध अधिकार र हितविपरीत सहमति गर्न नसक्ने उनले बताए । 

इरानको तस्निम समाचार एजेन्सीले वार्तालाई नजिकबाट नियालेका एक व्यक्तिलाई उद्रृत गर्दै बल अमेरिकाको कोर्टमा रहेको जनाएको छ । ‘इरानले वार्तामा उचित पहल र प्रस्तावहरू प्रस्तुत गर्‍यो । अब बल अमेरिकाको कोर्टमा छ,’ स्रोतले भन्यो ।

अमेरिकासँग उचित सम्झौता नभएसम्म हर्मुजको जलघाँटीमा अवरोध कायमै रहने पनि उनले बताए । २८ फेब्रुअरीमा अमेरिका–इजरायलले आक्रमण सुरु गरेयता इरानले हर्मुजको जलघाँटीमा अवरोध कायमै राखेको छ । जसकारण, विश्वको झन्डै २० प्रतिशत कच्चा तेल तथा प्राकृतिक ग्यास बाहिरिन पाएको छैन ।

वार्ताका लागि यसअघि इरानले अघि सारेको १० बुँदे शर्तमा हर्मुजमा इरान र ओमानको सार्वभौम अधिकार स्विकार गर्नुपर्ने उल्लेख छ । केही समयअघि मात्रै इरानको संसदीय सुरक्षा समितिले हर्मुज हुँदै अघि बढ्ने तेलका ट्यांकरसँग आवागमन शुल्क लिइने प्रस्ताव पारित गरेको थियो । 

पाकिस्तानका उपप्रधान तथा विदेश मन्त्री इशाक दारले अमेरिका–इरानबीचको कुटनीतिक संवाद खुला रहने विश्वास व्यक्त गरे । उनले त्यसका लागि पाकिस्तानले पहल गर्ने बताए ।

‘हामी आशा गर्छौं कि दुवै पक्षले सम्पूर्ण क्षेत्र र बाहिरको लागि दिगो शान्ति र समृद्धि प्राप्त गर्न सकारात्मक भावनाका साथ निरन्तर काम गर्नेछन्,’ उनले भने,‘आगामी दिनहरूमा पनि पाकिस्तानले इरान र अमेरिकाबीचको सम्बन्ध र संवादलाई सहज बनाउन आफ्नो भूमिका खेल्नेछ ।’ 

अमेरिका र इरान दुबैले पाकिस्तानको मध्यस्थताको प्रशंसा गर्दै प्रधानमन्त्री सहबाज सरिफ र सेनापति आसिफ मुनिरलाई धन्यवाद् दिएका छन् । 

४० दिनसम्म चलेको युद्ध ८ अप्रिलमा पाकिस्तानको मध्यस्थतापछि दुई साताका लागि अस्थायी रुपमा रोकिएको छ । त्यसपछि शनिबार इस्लामावादमा दुई पक्षबीच वार्ता भएको हो । १९७९ मा इरानमा इस्लामिक क्रान्ति सम्पन्न भएयता इरान र अमेरिकाबीच सीधा वार्ता भएको यो नै पहिलोपटक हो । यसअघिका सबै वार्ता अप्रत्यक्ष थिए । 

कान्तिपुर

Link copied successfully