१९७९ मा इरानमा इस्लामिक क्रान्ति भएयता अमेरिकासँग सीधा वार्ताको टेबुलमा इरानी प्रतिनिधिहरु बसेको यो पहिलोपटक हो ।
काठमाडौँ — पाकिस्तानको मध्यस्थतामा इरान र संयुक्त राज्य अमेरिकाका प्रतिनिधिमण्डलहरूबीचको प्रत्यक्ष वार्ता आइतबार दोस्रो दिनमा चलिरहेको छ । अमेरिकी मिडियाहरुले ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै १५ घण्टादेखि लगातार वार्ता जारी रहेको बताएका छन् ।
इरानी सरकारले केही मतभेदहरू बाँकी भए पनि वार्ता चलिरहेको जनाएको छ । शनिबार राति इरान र अमेरिकाका विज्ञहरूको टोलीले एक घण्टा लामो प्रत्यक्ष छलफल गरेपछि लिखित पत्रहरू आदान–प्रदान गरेका थिए ।
इरानी सरकारले सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत आर्थिक, सैन्य, कानुनी र आणविक समितिहरु वार्तामा संलग्न रहेको जनाएको छ ।
‘प्राविधिक विवरणहरूलाई अन्तिम रूप दिन सेरेना होटलमा वार्ता जारी छ,’ यसमा उल्लेख थियो । २८ फेब्रुअरीमा अमेरिका–इजरायलले आक्रमण गरेपछि चलेको झन्डै ५ साता लामो युद्धमा गत मंगलबार (नेपाली समयअनुसार बुधबार) युद्धविराम भएको थियो ।
त्यसयता दुई पक्ष शनिबार प्रत्यक्ष वार्ताको टेबलमा बसेका हुन् । १९७९ मा इरानमा इस्लामिक क्रान्ति भएयता अमेरिकासँग सीधा वार्ताको टेबुलमा इरानी प्रतिनिधिहरु बसेको यो पहिलोपटक हो ।
अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी उपराष्ट्रपति जेडी भान्सले गरेका छन् । उनको साथमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुस्नर र मध्यपूर्वका लागि राजदूत स्टिभ विटकफ पनि वार्तामा सहभागि छन् ।
इरानी प्रतिनिधिमण्डलको नेतृत्व संसदका सभामुख मोहम्मद बागेर गालिबाफले गरेका छन् । इरानी विदेशमन्त्री अब्बास अराग्चीसहित विशिष्ट अधिकारी यस प्रतिनिधिमण्डलमा छन् । दुबै देशको प्रतिनिधिमण्डलमा विज्ञहरु पनि सहभागी छन् ।
