अमेरिकी एडमिरल ब्राड कूपरले जारी गरेको विज्ञप्तिमा २८ फेब्रुअरीमा सुरु भएको इरानविरुद्धको युद्ध दौरान जलघाँटीमा अमेरिकी जहाजको उपस्थिती महत्वपूर्ण रहेको बताए ।
काठमाडौँ — अमेरिकाको पश्चिम एसिया सैन्य कमाण्ड (सेन्टकम) ले आफ्ना दुई जहाजहरूले होर्मुजको जलघाँटी पार गरेको जनाएको छ । तर इरानले यस दाबीलाई अस्वीकार गरेको छ ।
सेनाका दुई डिस्ट्रोयर्स जहाजहरू, यूएसएस फ्य्राङ्क ई पिटरसन र यूएसएस माइकल मर्फीले हर्मुज पार गरेको दाबी सेन्टकमले गरेको हो । ‘इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स कोप्र्स (आईआरजीसी) ले बिछ्याएका समुद्री बमहरुलाई समुद्रबाट हटाउने बृहद अभियानका क्रममा हाम्रा दुई जहाजले हर्मुज घाँटी पार गरेका छन्,’ सेन्टकमले भनेको छ ।
अमेरिकी एडमिरल ब्राड कूपरले जारी गरेको विज्ञप्तिमा २८ फेब्रुअरीमा सुरु भएको इरानविरुद्धको युद्ध दौरान जलघाँटीमा अमेरिकी जहाजको उपस्थिती महत्वपूर्ण रहेको बताए । ‘आज, हामीले नयाँ मार्ग स्थापना गर्ने प्रक्रिया सुरु गरेका छौं । हामी व्यापारको स्वतन्त्र प्रवाहलाई प्रोत्साहन गर्न चाँडै नै समुद्री उद्योगसँग यो सुरक्षित मार्ग साझा गर्नेछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
विश्वको झन्डै २० प्रतिशत तेल र ग्यास हर्मुज हुँदै निस्कन्छ । त्यहीकारण यस जलघाँटीमा भएको अवरोधले अहिले विश्वव्यापी ऊर्जा संकट निम्त्याएको छ ।
२८ फेब्रुअरीमा अमेरिका–इजरायलले आक्रमण गरेपछि इरानले यस जलघाँटी बन्द गरेको थियो । जसकारण व्यवसाहिक र सैनिक जहाजहरु यहाँ अड्किए ।
शनिबार, इरानी सेनाको खातम अल–अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ताले अमेरिकाको दाबी खण्डन गरेका छन् । ‘होर्मुजको जलघाँटीमा अमेरिकी जहाजहरूको पहुँच र प्रवेशको सम्बन्धमा सेन्टकम कमाण्डरको दाबीलाई दृढतापूर्वक खण्डन गर्छौ,’ प्रवक्ताले भने, ‘कुनै पनि जहाजको आवतजावत र आवागमन इस्लामिक गणतन्त्र इरानको सशस्त्र बलको हातमा छ । यहाँबाट इरानको अनुमति नलिई निस्कन खोज्ने जहाजलाई इस्लामिक रिभोलुशनरी गार्डस् कोप्र्सले कडा प्रतिक्रिया दिनेछ ।’
इरान र अमेरिका अहिले दुई साता लामो युद्धविराममा छन् । दुई पक्षबीच शनिबारदेखि पाकिस्तानको इस्लामावादमा वार्ता चलिरहेको छ ।
