इरानसँगको वार्ताअघि ट्रम्पले भने, ‘हर्मुज खुल्नेमा विश्वस्त छु’ 

वार्तामा अमेरिकाको प्रतिनिधित्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन् ।

चैत्र २८, २०८२

कान्तिपुर संवाददाता

Trump says he is confident the Strait of Hormuz will open before talks with Iran

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्डट ट्रम्पले हर्मुजको जलघाँटी खुल्नेमा आफु विश्वस्त रहेको बताएका छन् । इस्लामावादमा आज हुने अमेरिका–इरान वार्ताअघि उनले यस्तो दाबी गरेका हुन् । वार्तामा अमेरिकाको प्रतिनिधित्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन् ।

इरान र अमेरिका दुबैका प्रतिनिधि वार्ताका लागि इस्लामावादमा तयारी अवस्थामा छन् । ट्रम्पले हर्मुज व्यावसायिक आवागमनका लागि खुल्नेमा आफू विश्वस्त रहेको बताए । ‘हर्मुज जलघाँटी खुल्ने मेरो विश्वास छ । ' इरानले त्यहाँ पैसा उठाइरहेको कुरा सुनेको छु । यदी त्यस्तो हो भने गलत भयो, नगरेकै राम्रो,’ उनले भने । 

यसअघि राष्ट्रपति ट्रम्पले मंगलबार इरानसँग दुई हप्ता लामो युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका थिए । उनले त्यसबेलै हर्मुजको जलघाँटी खोल्ने शर्तमा युद्धविराम गरिएको दाबी गरेका थिए ।

तर, हर्मुज पार गर्ने जहाजमाथि इरानले कडाई गर्न छाडेको छैन । लेबनानमाथि इजरायलले गरेको अवैध आक्रमणको विरोधमा यस्तो गरिएको इरानको दाबी छ । 

राष्ट्रपति ट्रम्पले हर्मुज खोल्नका लागि कुनै वैकल्पिक योजनाको खाँचो पनि नपर्ने दाबी गरे । ‘ब्याकअप योजनाको आवश्यकता पर्दैन ।

उनीहरूको सेना पराजित भएको छ । उनीहरूसँग निकै थोरै क्षेप्यास्त्रहरू छन् । उनीहरूसँग थोरै उत्पादन क्षमता छ । हामीले उनीहरूलाई कडा प्रहार गरेका छौं,’ उनले भने । 

उनले तेहरानसँगको सम्झौताको मुख्य लक्ष्य इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु रहेको उल्लेख गरे । तर सम्झौता भएपनि-नभएपनि इरानले आणविक हतियार प्राप्त गर्न नसक्ने दाबी उनले गरे । 

कान्तिपुर

Link copied successfully