मार्च २९ मा, पाकिस्तान, साउदी अरेबिया, टर्की र इजिप्टका विदेशमन्त्रीहरू इस्लामाबादमा भेला भए।
काठमाडौँ — १९७९ को इरानी इस्लामिक क्रान्तिपछि पहिलोपटक इरान र अमेरिकाका प्रतिनिधि सीधा कुराकानीमा छन् । यसअघि दुई देशबीच जति पनि वार्ता भएका थिए, ती सबै अप्रत्यक्ष रहे । तर, पाकिस्तानले इस्लामावादमा आमन्त्रण गरेर दुबै देशका प्रतिनिधिलाई एउटै कोठामा राखेर आफ्नो प्रत्यक्ष संलग्नतामा सीधा वार्ता गराइरहेको छ । केही दिनअघिसम्म युद्ध लडिरेहका दुई शत्रु देशलाई यसरी एउटै कोठामा वार्ता गराउने काम कम्ति चुनौतीपूर्ण थिएन । वार्ताको पृष्ठभूमी यसरी तयार भएको थियो ः
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वी समयअनुसार मंगलबार राति ८ बजे (नेपाली समय बुधबार ५ः४५ बिहान) सम्म सहमतिमा नआए इरानको ‘सभ्यता नष्ट गर्ने’ चेतावनी दिएका थिए ।
उनले ऊर्जा केन्द्र र पुलहरुमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए । त्यस समयसीमा पुरा हुनभन्दा झन्डै ९० मिनेटअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा इरानसँग दुई हप्ता युद्धविराम गरिएको बताए । लगत्तै इरानले पनि यसलाई पुष्टि गर्यो ।
ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र फिल्ड मार्शल असीम मुनीरसँगको कुराकानीपछि इरानीहरु युद्धविराममा सहमत भएको बताएका थिए । इरानले पनि पाकिस्तानी प्रधानन्त्री शरीफलाई धन्यवाद् दियो । लगत्तै सरीफले युद्धविरामको सहमति बनेको र इस्लामावादमा दुबै पक्षलाई शुक्रबार वार्ताका लागि बोलाइएको बताए ।
बुधबार दिउँसोसम्मम, शरीफले इरानी राष्ट्रपति मसूद पेजेश्कियानसँग पनि प्रत्यक्ष कुराकानी गरिसकेका थिए । जारी युद्धका कारण सिर्जना भएको इन्धन संकटले सबैभन्दा धेरै प्रभावित हुने देशमध्ये पाकिस्तान एक हो ।
युद्धले यहाँ सामाजिक असर पनि गरेको छ । कराँचीमा सिया समर्थकहरुले मार्च १ मा अमेरिकी वाणिज्य दूतावासमा आक्रमणको प्रयास गरेका थिए । यसक्रममा कम्तिमा १० जनाको मृत्यु भयो ।
यी सबैका बाबजुद पाकिस्तानले निरन्तर इरान– अमेरिकाबीच वार्ताको पहल गर्दै आइरहेको थियो । ३ मार्चमा पाकिस्तानका उपप्रधान तथा विदेशमन्त्री इशाक दारले सिनेटलाई सम्बोधन गर्दै वार्ताको वातावरण बनाउन पाकिस्तानले भूमिका खेल्ने बताएका थिए ।
तर, अवस्था सहज थिएन । विशेषगरी, साउदी अरेबियासँग सन्तुलित सम्बन्ध कायमै राख्नुपर्ने चुनौती पनि पाकिस्तानलाई छ । मार्च १२ मा साउदी युवराज मोहम्मद बिन सलमानलाई भेट्न प्रधानमन्त्री सरिफ र प्रधानसेनापति मुनिर जेद्दा गएका थिए । त्यहाँ उनीहरुले खाडी देशहरूविरुद्ध बढ्दो इरानी आक्रमणहरूको विरोध गरे । त्यस्तै, खाडी देशप्रति “पूर्ण ऐक्यबद्धता“ व्यक्त गरे ।
पाकिस्तानसँग सेप्टेम्बरमा हस्ताक्षर गरिएको रियादसँगको आफ्नो पारस्परिक रक्षा सम्झौतालाई कायम राख्न जरुरी थियो । तर, वार्ताको टेबुलमा ल्याउन इरानको विश्वास जित्न पनि जरुरी थियो ।
युद्ध चलिरहेकै बेला २२ देखि २३ मार्चसम्म पाकिस्तानी सेनापति मुनिरले ट्रम्पसँग टेलिफोन वार्ता गरेका थिए । २३ मार्चमा प्रधानमन्त्री शरीफले ट्रम्प र इरानी विदेशमन्त्री अराग्चीलाई सामाजिक सञ्जाल एक्समा ट्याग गर्दै वार्तामा बस्न आग्रह गरे । तर, इरान र अमेरिका दुबैले वार्ता हुनसक्ने संभावना नरहेको बताए ।
मार्च २६ मा अमेरिकाले पाकिस्तानमार्फत वार्ताका लाग इरानसँग १५–बुँदे प्रस्ताव अघि सारेको पुष्टि विदेशमन्त्री दारले गरे । यसमा आणविक हतियार कार्यक्रम अन्त्य गर्ने प्रतिबद्धता, हर्मुज जलघाँटी पुनः सुचारु गर्ने प्रतिवद्धतालगायत उल्लेख थियो । तेहरानले यसलाई अस्विकार गर्दै आफ्नो १० बुँदे माग अघि सार्यो । जसमा शत्रुता अन्त्य गर्ने, प्रतिबन्धहरू हटाउने, क्षतिपूर्ति दिने, जलघाँटमिाथि आफ्नो सम्प्रभूता रहनेलगायत विषय समावेश थियो ।
मार्च २९ मा, पाकिस्तान, साउदी अरेबिया, टर्की र इजिप्टका विदेशमन्त्रीहरू इस्लामाबादमा भेला भए। बैठक अघि, शरीफले पेजेश्कियानसँग लामो कुराकानी गरे । यस वार्ताका लागि चीनले पनि अप्रत्यक्ष रुपमा सहयोग गरेको थियो । यसबीच विदेशमन्त्री दारले बेइजिंग भ्रमण पनि गरेका थिए ।
